विप्लवका दुई नेता बाँकेमा पक्राउ
नेपालगन्ज : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उच्च तहका दुई नेता बाँकेबाट पक्राउ परेका छन्। जानकी गाउँपालिकाको गनापुरबाट बुधबार दिउँसो करिब २ बजे पोलिट्ब्यूरो सदस्य भरत बम र कालिकोट जिल्लाका जनसरकार प्रमुख सत्यबहादुर शाहीलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै कालिकोट निवासी हुन्।
उनीहरुको साथबाट विष्फोटका लागि तयारी अवस्थामा रहेको प्रेसर कुकर बम र रणनीतिक दस्तावेज फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।
अन्नपूर्णसँग कुरा गर्दै प्रहरी नायव उपरीक्षक सिंहले भने, ‘उनीहरुको साथबाट बरामद ल्यापटपमा महत्वपूर्ण रणनीतिक दस्तावेज फेला परेको छ। गनापुरस्थित एक व्यवसायिक फर्ममा विष्फोट गराउने तयारीका साथ हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।’