व्यापार र उद्योगमा महिला

व्यापार र उद्योगमा महिला

महिलालाई उद्योग र व्यापारतर्फ आकर्षित गराउने हो भने व्यापक रोजगार सृजना हुन सक्छ।


महिला परम्परागत समाजमा पिता, पति र परिवारसँग आर्थिकरूपमा आश्रित हुँदै आएका थिए। पढेलेखेका महिलाको संख्यामा दिनप्रतिदिन वृद्धि हुँदै छ। उनीहरू रोजगारतर्फ आकिर्षत हुँदै छन्। कतिपय महिला स्वरोजगारको रूपमा व्यापार–व्यवसायतर्फ काम गरी आत्मनिर्भर हुन थालेका छन्। व्यापार, व्यवसाय र उद्योग भनेको निजी पेसा हुँदा यसमा स्वतन्त्रता मात्र हुँदैन, इच्छाअनुसार सञ्चालन गर्न सकिन्छ। अमेरिकामा दोस्रो विश्वयुद्धपछि त्यहाँको सरकारले महिलालाई व्यापारमा लगाउने जमर्को गरेको थियो।

अमेरिकास्थित महिला व्यापारीहरूको संगठन एबीडब्लूएको प्रतिवेदनअनुसार सन् २०१८ सम्म त्यहाँ महिला व्यापारीको संख्या (कूल संख्यामध्ये) आठ प्रतिशत अर्थात् एक करोड २३ लाख पुगिसकेको छ। महिलाद्वारा सञ्चालित व्यापारिक उद्योग र फर्महरूले झन्डै अर्को एक करोडको संख्यालाई रोजगार प्रदान गरेको भनाइ छ। भारतमा हालै गरिएको राष्ट्रिय सर्वेक्षणअनुसार भारतमा महिला व्यापारीको संख्या १४ प्रतिशत रहेको र आठ प्रतिशत कम्पनीको बोर्ड महिलाद्वारा सञ्चालित छन्। यसरी कम्पनीहरूको सञ्चालन गर्ने बोर्डमा नौ प्रतिशत महिलाको संख्या रहेको पाइन्छ। यसरी भारतमा महिला श्रमिकको संख्या नै सन् २०१८ सम्म २७ प्रतिशत हुन गई महिला व्यापारीको संख्या ८० लाख पुगेको अनुमान छ।

भारतमा महिला व्यापारीका सन्दर्भमा एउटा रोचक प्रसंग छ। त्यहाँको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फालामा महिलाद्वारा सञ्चालित एउटा बजार रहेछ। यो बजारको इतिहास पाँच सय वर्षदेखिको हो। बीबीसीद्वारा प्रसारित समाचारबाट के अध्ययन हुन्छ भने पहिले त्यहाँका युवा कि त राजाको दरबारमा काम गर्थे कि छेउछाउमा युद्ध गर्न जाने गर्थे। पुरुषको अभावमा महिलाले बजार सञ्चालन गर्दा रहेछन्। अब यो बजारमा हजारौं महिलाका पसल छन् भने लाखौंको संख्यामा महिलाले व्यापार गर्दै आएका छन्। भारतमा धेरै स्थानमा महिलाले सञ्चालन गरेका बजारमध्येमा दक्षिण भारतस्थित बेङलोर बजार पनि अनौठो छ। यो माथि उल्लिखित मणिपुरको मदर मार्केटजत्तिकै प्रसिद्ध छ। यो पनि पुरानो बजार हो। यहाँ तरकारी, फलफूल र विशेष महिलाले लगाउने गरेको कपालमा प्रयोग गरिने फूलमालाको व्यापार हुन्छ।

विशुद्ध रूपमा महिलाले सञ्चालन गरेका संसारका धेरै व्यापारिक बजारमध्ये दक्षिण कोरियाको ग्वानगन्ज बजार र चीनमा भएको सेनझेनको हुवानक्विङवेई बजार विशुद्ध रूपमा महिलाद्वारा सञ्चालित छन्। यसमा बंगलादेशले पनि फट्को मारेको छ। त्यहाँ विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संगठनको सहयोगमा महिला बजारको विकास भएको पाइन्छ। ती बजारमा महिलाका आवश्यक सामग्री, विशेषतः चुरा, फलफूल र तरकारी व्यवसाय हुने गरेको पाइन्छ। टर्कीमा ४० प्रतिशत हिंसाका सिकार भए पनि त्यहाँका महिलाले यस्तै बजार व्यापारबाट लाभ लिने गरेको पाइन्छ।

विधवा, एकल महिला र गरिबीको मारमा परेका धेरैजसोले व्यापार–व्यवसाय तथा सानोतिनो व्यवसाय गरी गुजारा गरेका छन्। कजाकिस्तानले पनि आधुनिक युगमा ठूलो फट्को मारेको पाइन्छ। आस्ताना टाइम्सका अनुसार त्यहाँको सरकारले पाँच करोड पाउन्ड बजेट महिलालाई व्यापारमा स्थापित गर्ने हेतुले छुट्ट्याएको देखिएको छ। ४४ प्रतिशत महिलाको संख्या व्यापार र उद्योगमा क्रियाशील छ। त्यस्तै कुल व्यापारमा ३० प्रतिशत हिस्सा महिलाले सञ्चालन गरेको देखिन्छ।

संसारभर महिलाले ससाना व्यापार, खुद्रे व्यापार, स्वास्थ्य सेवा, शिक्षा, कला, यातायात, खाद्य सेवा, होटेल, रेस्टुराँ, बजार व्यवस्थापन, शृंगार प्रसाधनलगायतमा लगानी गरेको पाइन्छ। तथापि पुरुषले गर्ने कारोबार निर्माण सेवामा भने महिलाको उपस्थिति न्यून रहेको छ। त्यस्तै विज्ञान प्रविधि, इन्जिनियरिङ जोखिमपूर्ण ठूला अन्य उद्योगमा महिलाको उपस्थिति अति न्यून रहेको पाइन्छ। समष्टिगत रूपमा संसारभर महिला व्यापारीको ९० प्रतिशतको संख्या खुद्रे व्यापार, सानातिना र मझौला उद्योगमा सामेल छ।

व्यापारिक क्षेत्रमा महिलालाई उत्थान गर्ने विशुद्ध भावनाले सरकार र यसका निकायले सहयोग गरिदिने हो भने उनीहरूले वैदेशिक रोजगारमा गई शारीरिक तथा मानसिक पीडा भोग्नुपर्ने थिएन।

दक्षिण एसियामा महिलाको व्यापार भनेको तरकारी, फलफूल, कृषिजन्य पदार्थको प्रशोधन र उत्पादन अनि शृंगार आदि नै हो। व्यापार तथा उद्योगमा लगानी गर्नु भनेको जोखिमपूर्ण काम हुन्। उद्यमी बन्नु भनेको एक प्रकारले नयाँ आविष्कार नै हो। अर्थात् नयाँ कुराको सुरु गर्नु हो। यस्तो कार्यको थालनी गर्दा कहिलेकाहीं लगानी नउठ्ने गरी व्यापार धराशायी हुन सक्छ। योजनाले सफलता हासिल गरे मालामाल हुन पनि सकिन्छ अथवा असफल पनि। महिला व्यापार उद्योगमा प्रवेश गर्नलाई संकोच मान्ने कारण छन्। संसारभर यी समस्या बराबर देख्न सकिन्छ।

पहिलो कारण हो– प्रचुर मात्रामा अर्थको अभाव। झन् गरिब राष्ट्रमा महिलाले व्यापार गर्न पैसा पाउन कठिन छ। व्यापार केही लगानी गरी त्यसैबाट मुनाफा कमाउने व्यवसाय हो। हाम्रोजस्तो मुलुकमा विनाधितो बैंकले लगानी गर्न कठिन छ। परिवारले पनि महिलालाई जोखिमपूर्ण काममा लगानी गर्न स्वीकृति प्रदान गर्दैन।

दोस्रो– परिवारको स्याहार–सम्भार र चुलोचौकाको जिम्मेवारी महिलाको काँधमा हुँदा दोहोरो दायित्व वहन गर्न कठिन हुन्छ।

तेस्रो– व्यापार र व्यवसायमा लगानी गर्दा घाटा हुने डर र चिन्ता।

चौथो– परिवारबाट सहयोग नहुनु। झन् परम्परागत परिवारले ‘बाठी भई, ठूलो काम गर्ने भई’ भनी आलोचना पनि गर्छन्। पुरुषले गर्ने काम गरेको भनी ईष्र्याभावसमेत देखाउँछन्। तराईमा विधुवा, एकल महिला वा कुमारीले गरेमा सामाजिक बहिष्कार हुने वा सामाजिक दण्ड दिनसमेत बेर छैन। घुम्टो ओढी घरभित्र बस्नेले बजार–बजार घुमेको भनी समाजकै विरोधमा उत्रन सक्ने अवस्था आउँछ।

पाँचौं– हाम्रो समाजमा व्यापक लैंगिक विभेद छ। महिलाले यस्तो काम गरी एक कदम अघि बढी परिवारको गर्जो धानेकोमा पोथी बासेको भनी आरोप लगाउँछन्। बाहिर–बाहिर व्यापार गरी पुरुष वर्गसँग काँधमा काँध मिलाएर हिँडेको नरुचाउने हाम्रो समाजले एक प्रकारले महिलाविरुद्ध चारित्रिक दोष लगाउनसमेत पछि पर्दैन।

छैटौं– महिलामा व्यापारिक हिसाब–किताबको ज्ञानको अभाव हुन्छ। हिसाब नै नआएपछि लेनदेन गर्नसमेत कठिन हुन्छ। एकपटक एउटी महिलाले हाट बजारमा खसी बेच्छिन्। टाउको दुख्दा खाने औषधी आनन्द सागरको धुलो बेरेको नोटजस्तो देखिने कागजलाई हजारको नोट भनी दिएर ठगहरूले खसी लिएर गएछन्।

सातौं– महिलाले पर्दा पछाडि बसेर छोरा, पति, पिता र ससुरालाई अघि सारी गर्नुपर्ने व्यापार सामाजिक वातावरणको कारण हुने देखिन्छ।

आठौं– महिलाको लजालु स्वभाव, आत्मविश्वासको अभाव, डर चिन्ता, धक मान्नु र जोखिम लिने साहसको अभाव। यिनै कारणले केही अपवादमा रहेका महिलाबाहेक सबैले उद्योग र व्यापारमा हात हाल्न सक्दैनन्।

उपरोक्त कारण र अवस्था हुँदाहुँदै पनि नेपालमा दुःख र अभावका कारण महिलाले सानोतिनो व्यापारमा हात हालेको पाइन्छ। ठूला उद्योग सञ्चालन गर्ने महिलाको पृष्ठभूमि प्रायः पारिवारिक छ। पिता वा पतिले सञ्चालन गरेको व्यवसायमा सहयोग गरी उद्यमी बन्न सकेको देखिन्छ। आफ्ना बुद्धि र वर्कतबाट उद्यमी बन्ने महिलाको संख्या नेपालमा औंलामा गन्न सकिन्छ। नेपालमा सन् १९९८ मा व्यापारी महिलाको संगठन महिला उद्यमी संघ गठन भएको पाइन्छ। अहिल ७७ जिल्लामा यसका एकाइ छन्। यो संगठनमा पाँच हजार महिला उद्यमी आबद्ध छन्। गत वर्ष भएको सार्क उद्यमी सम्मेलनले जानकारी गराएअनुसार सार्क राष्ट्रमा नौ प्रतिशत महिला उद्यमीको संख्या छ भने नेपालमा महिला उद्यमी दुई प्रतिशत छन्।

त्यस्तै गरिबी निवारणका निम्ति साना तथा मध्यम उद्यमी र विकास नामक नेपाल सरकारद्वारा स्थापित एक संस्था (मेदापा) ले दाबी गरेअनुसार अहिले नेपालमा सानातिना व्यापार गर्ने महिलाको संख्या करिब ७० हजारको हाराहारीमा छ। नेपालमा महिला वर्गलाई व्यापार र व्यवसायमा सामेल गर्न विश्व बैंकले केही समयदेखि योजना सञ्चालन गरेको देखिन्छ। त्यस्तै अन्य गैरसरकारी संगठनले पनि तालिमहरू प्रदान गरेको पाइन्छ। तर महिला उद्यमीको गुनासो के छ भने यी तालिम एकदिने, दुईदिने हुने र तालिममा भत्ता वितरण गरिने हुँदा ‘भत्तामुखी’ भएको पाइन्छ। अर्थात् तालिम लिन आउनेको आकर्षण रोजगारको सृष्टिको ज्ञानभन्दा भत्तामुखी भएको पाइन्छ। यसले महिला उद्यमीको संख्यामा वृद्धि गर्न भने सहयोग पुर्‍याएको छैन। महिला उद्यमी बनाउने हो भने दिगो कार्यक्रम हुनुपर्छ।

निश्चय हो, महिलालाई उद्योग र व्यापारतर्फ आकर्षित गराउने हो भने व्यापक रोजगार सृजना हुन सक्छ। हामीकहाँ केही जातिका महिलामा परापूर्वदेखि व्यापार गर्ने गरेको उदाहरण छ। तराईका थारू महिला कोठेबारीका फलफूल, अन्न, परेवा, कुखुरा तिनका अन्डा, हाँस घरमा जे छ उत्पदन भएको बोकेर हाटबजारमा जाने गर्छन्। अनि त्यसको बिक्रीबाट आएको आम्दानीले आफूलाई चाहिने सौदा खरिद गरी गर्जो टार्ने गर्छन्। पहाडका राई, लिम्बू र अन्य जनजातिले राडी, पाखी, बाख्रा, कुखुरा, फलफूल, बेसार, अदुवा आदि स्थानीय उत्पादन बोकी हाटबजारमा ल्याउँछन्। त्यस्तै, काठमाडौंका नेवारी महिला विशेष ज्यापु जातिमा कृषिमा त्यत्तिकै पारखी छन् भने व्यापार र पसलसमेत चलाउने गर्छन्।

पशुपति क्षेत्रमा फूल र पूजाका सामान बिक्री गर्ने महिला रोजगारको अभावमा नांग्ले पसल खोल्ने महिलाको संख्या काठमाडौंमा कम छैन। यस्ता व्यापार दुःखका कारण सञ्चालित छन्। अबका वाणिज्यशास्त्र पढ्ने युवायुवतीले धुले हाटबजारमा डोको र डालो राखी अवश्य व्यापार गर्दैनन्। त्यसैले परम्परागत व्यापारलाई आधुनिकीकरणतर्फ ढाल्न जरुरी छ। सबै जिल्लामा बजारनिम्ति स्थान निश्चित गर्ने, पसल बनाइदिने, व्यापारमा लाग्ने रकम निब्र्याजी रूपमा ऋण दिने वा नरम दरको ब्याज दिने माल ल्याउन–लैजान ढुवानी र जोखिम हुनबाट जोगाउन सहयोग गर्ने, ठगीबाट जोगाउने र व्यापारको हिसाब–किताब गर्ने आदि तालिम दिन जरुरी छ।

हाम्रो मुलुकमा राजनीतिक प्रवृत्त भावनाको सहयोगमा यो मेरो दलको मान्छे, यो तेरो दलको मान्छे भनी भेदभाव गर्ने प्रचलन छ। त्यसको अन्त्य जरुरी छ। व्यापारिक क्षेत्रमा महिलालाई उत्थान गर्ने विशुद्ध भावनाले सरकार र यसका निकायले सहयोग गरिदिने हो भने उनीहरूले वैदेशिक रोजगारमा गई शारीरिक तथा मानसिक पीडा भोग्नुपर्ने थिएन। आजभोलि गाउँ, सहर वा टोलहरूमा व्यापक रक्सी व्यापार गर्ने महिला संख्या बढेको देखिन्छ।

समाज र राष्ट्रनिम्ति यो पनि उपयुक्त छैन। यसले बिक्रेता महिला तथा उपभोग गर्ने पुरुषको न त्यसले इज्जत प्रतिष्ठा कायम गर्छ न त त्यति ठूलो आय नै हुन्छ। यसबाट बदनामी मात्र भएकाले यस्तो व्यापार अन्त्य गर्न महिलालाई निरुत्साही बनाई अन्य व्यापारतर्फ आकर्षित गराउन जरुरी छ। महिलालाई माथि उल्लिखित सबै सुविधा दिएर उनीहरूले गर्ने व्यापारको निरीक्षणसहित संरक्षण गर्ने वाचा गरेर पाँचदेखि १० वर्षको समयसीमा तोकेर प्रोत्साहित गर्ने हो भने महिलाको ठूलो संख्या आत्मनिर्भर हुनेछ। त्यसको फाइदा राष्ट्रले नै पाउनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.