अश्विनीको अनवरत फेसन यात्रा

अश्विनीको अनवरत फेसन यात्रा

काठमाडौं : स्लिम शरीर, गोरो अनुहारमा हल्का पालिएको दाह्री। प्रायजसो औपचारिक पहिरनमा देखिने अग्लो कदको आकृति। अश्विनी झाको बाहिरी आवरण यही हो। तर उनको परिचय यतिमै सीमित छैन। उनी हुन् मोडल तथा चलेका कोरियोग्राफर। उनी ब्युटी प्याजेन्ट तथा मोडलिङ क्षेत्रका गतिला टे«नर पनि हुन्।

सर्लाहीमा जन्मेका झा सानैदेखि अभिनयप्रेमी थिए। सुपरस्टार बन्ने सपना लिएर काठमाडौं पसेको उनी बुवाको दबाबमा साइन्स पढ्न थाले। डाक्टर बन्ने योजनामा रहेका झा एमबीबीएसको पूर्वपरीक्षामै पास हुन सकेनन्। घरबाट पढाइमा नै ध्यान दिन जोड दिए पनि उनको मन भने अभिनय, मोडलिङ र फेसनतिर अड्किएको थियो। जसोतसो माइक्रोबायोलोजीमा ब्याचलर सकेर दिल्ली हानिए। त्यहाँ गएर उनले अनौपचारिक रूपमा कोरियोग्राफी सिक्न थाले। उनले भारतीय फेसन डिजाइनर कौशिक घोषसँग तालिम लिए। घोषसँगको भेटले उनलाई सपनाको नजिक पुर्‍यायो। दिल्ली जानुअघि पनि नेपालमै मोडलिङ सिकिसकेका थिए उनले। घोष नेपालमै आएर पनि तालिम दिने गर्थे। घोषका हरेक कक्षामा उनी सहभागी हुन्थे।

नेपालमा २००५ मा सुपर मोडल कम्पिटेसन भएको थियो। त्यो बेला मिस्टर ट्यालेन्टको उपाधि उनकै पोल्टामा पर्‍यो। नेपालमा मोडलिङबाट पैसा कमाउने अवस्था बनिसकेको थिएन। अलिअलि पैसा त कमाउँथे तर त्यसले बाँच्न सक्ने अवस्था बनिसकेको थिएन। उनले कोरियोग्राफी पनि गर्न थाले। केही विज्ञापनमा काम गरेका थिए। भारतीय गुरु कौेशिक घोषको आग्रहमा करिब तीन वर्ष दिल्लीमै काम गरे।

नेपालमा अहिले अनगिन्ती ब्युटी प्याजेन्ट र मोडलिङका कार्यक्रम आयोजना हुन्छन्। उनी वर्षमा ६० भन्दा बढी कार्यक्रमको कोरियोग्राफी गरिरहेका हुन्छन्। कुनै पनि वस्तुलाई आकर्षक शैलीमा बिक्रीयोग्य बनाउनु, मोडलिङमा उत्रिएका मोडललाई र्‍याम्पमा हिँड्न सिकाउनु र स्टेजमा प्रस्तुति दिन सक्ने बनाउनु नै अश्विनीको अहिलेको दैनिकी हो।

फेसन र मोडलिङका कार्यक्रमले व्यक्तित्व विकास गर्न सहयोग गर्ने बताउँदै अश्विनी भन्छन्, ‘आफ्नो कुरा भन्न नसक्नेलाई बोल्न सक्ने र प्रस्तुति दिन सक्ने बनाउन यस्ता कार्यक्रमले सहयोग गर्छ।’

पहिलो अभिनयको कामबाट तीन हजार कमाएका अश्विनी अहिले एउटै कार्यक्रमको ५० हजारदेखि लाखौंको पारि श्रमिक लिन्छन्। यही पेसामा राम्रो सम्भावना देखेका झा नेपालमा गुणस्तरीय ब्युटी प्याजेन्ट भने निकै कम मात्रै हुने स्विकार्छन्।

कुनै ब्युटी प्याजेन्टमा विजेता बन्नासाथ आफूलाई पूर्ण मान्न नहुने उनको बुझाइ छ। ‘एउटा कार्यक्रमको नियमअनुसार विजेता हुँदैमा सबै विषयको जानकारी हुन्छ भन्ने सोच्नु गलत हो’, उनी भन्छन्।

उनले मिस टिन, लिटल मिस नेपाल, मिसेस नेपाल टुरिजम, नेपाल सुपर मोडल कन्टेस्ट, मिस टिन युनिभर्सललगायत अनगिन्ती कार्यक्रममा आफ्नो सीप देखाइसकेका छन्। उनले कोरियोग्राफीसँग दर्जनौं फेसन सो तथा डिजाइनर कन्टेस्ट तथा सौन्दर्य प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन्। झाले हालै हन्ड्रेड हिरोज अफ मधेस कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबाट अवार्ड पाएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.