आगोले दैनिक जल्छन् बस्ती, उच्च जोखिममा दाङ

आगोले दैनिक जल्छन् बस्ती, उच्च जोखिममा दाङ

दाङ : गर्मी सुरु भएसँगै दाङमा दैनिक आगलागीका घटना भएका छन्। दुर्गम पहाडी क्षेत्र, पानीको अभाव र वनक्षेत्र नजिकै रहेको बस्तीमा दैनिकजसो आगलागीका घटना भइरहेका छन्।

वनमा लागेको डढेलो गाउँमा पस्दा पछिल्ला चार दिनमा दाङमा ३० घरमा आगलागी भएको छ। घोराही, शान्तिनगर र तुलसीपुरका बस्तीमा आगलागीका दैनिक घटना भइरहेका छन्। बुधबार घोराही उपमहानगरपालिका १ तल्लो माले र सिरुखर्कको बस्तीमा आगलागीबाट दर्जनौ घर गोठ जलेर नष्ट भए। मंगलबार तुलसीपुरको एक फर्निचर उद्योगमा र पवननगर क्षेत्रमा आगलागी भयो। सोमबार शान्तिनगर गाउँपालिकाको चिराघाटमा आगलागी भयो। वैशाख लागेपछि अधिकांश दिन आगलागीले घर र बस्ती सखाप भइरहेका छन्।

घोराहीको तल्लो माले र सिरुखर्क गाउँमा वन क्षेत्रबाट आएको आगोले २० घरगोठ जलेर नष्ट भएका छन्। शरीरको एकसरो कपडासँग रहेका अग्निपीडितलाई चर्काे घाम, पानीको अभावसँगै बासको सास्ती भएको छ।

केही वर्षदेखिको तथ्यांक हेर्दा जिल्ला आगलागीको उच्च जोखिममा देखिएको छ। बितेको ६ वर्षको तथ्यांकमा आगलागीका घटना बढेका छन्। प्रतिवर्ष औसतमा सवा सय घर आगलागीबाट जलेर नष्ट हुने गरेको देखिएको छ। जिल्लामा गत वर्ष मात्रै दुई हजार ३ सय ३४ वटा विपद्का घटना भएका थिए। चालु वर्ष ९० घरमा आगलागीबाट क्षति भएको छ। जिल्लामा विभिन्न विपद्मा गरेर २ हजार घर प्रत्यक्ष प्रभावित भएका छन्। आगलागीका घटना बढेपछि उच्च सतर्कतासमेत अपनाउन थालिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले बताए।

जिल्ला वन कार्यालयले मातहतका निकायलाई सचेतना दिन थालेको छ भने रेडक्रसले पनि विपद् उद्धारकर्तालाई परिचालन र पुनर्ताजगी दिँदै आएको छ। सधैं आगलागी र बाढीले प्रभावित हुने दाङमा गर्मी सुरु भएसँगै आगलागीको सजगता पनि बढाउँदै लगिएको छ। जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकृत खिमबहादुर केसीले जिल्लामा वनमा लाग्ने डढेलो पनि बढिरहेको बताए।

दाङका विभिन्न क्षेत्र आगलागीको उच्च जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। बढी जोखिम देउखुरी क्षेत्रमा रहेको दाहालले बताए। आगलागीको उच्च जोखिममा जिल्लामा बंगलाचुली, शान्तिनगर, गढवा र राजपुर राप्ती गाउँपालिका, लमही नगरपालिका घोराही र तुलसीपुर उपमहानगर छन्। ‘गर्मी सुरु भएसँगै सचेतना अपनाउनुपर्ने हुन्छ,’ सूचना व्यवस्थापन अधिकृत दाहालले भने, ‘यो अवस्थामा हामी सबै सजग भएर गतिविधि गरौं, विपदलाई आउन नदिऔँ।’ हरेक वर्ष देउखुरीमा बढी आगलागी हुने भएपछि अहिले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउन सुरु गरिएको उनले बताए।

पर्याप्त छैनन् दमकल

आगलागीको घटना न्यूनीकरण गर्न र क्षति हुनबाट जोगाउने गरी जिल्लामा आवश्यक उपकरण र सामग्री नभएको पाइएको छ। जिल्लाका १० स्थानीय तहमध्ये तीन स्थानीय तहमा मात्रै अत्यावश्यक दमकल छन्। सात स्थानीय तहमा एउटा पनि दमकल छैन। स्थानीय तहमा दमकलको व्यवस्था नहुँदा आपत्कालीन स्थितिमा बाहिरबाट दमकल ल्याउनुपर्ने भइरहेको छ। तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिकाका मात्रै दमकल छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.