सिभिल होम्सको घरजग्गा रोक्का
काठमाडौं : उच्च अदालत पाटनले सिभिल होम्स प्रालिका जग्गा रोक्का गर्न आदेश दिएको छ। अदालतको वैशाख १९ गतेको आदेशले कित्ता नम्बर २४२५को घरजग्गा रोक्का राख्न आदेश दिएको हो।
अदालतले मालपोत कार्यालय डिल्लीबजारलाई पत्राचार गर्दै उक्त घरजग्गा निवेदनमा अर्को आदेश नभएसम्म हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न आदेश दिएको हो। न्यायाधिश केशवराज जोशी र हरिप्रताप केसीको संयुक्त इजलासले जग्गा रोक्का गर्न आदेश दिएको हो।
अदालतले सिभिल होम्सलाई ऋण दिदाँ के कुन सम्पत्ति सुरक्षणकोरुपमा लिएको भन्दै सिभिल सहकारीलाई प्रश्न उठाएको छ। साथै पत्र पाएको तीन दिनभित्र जवाफ पठाउन आदेश गरिएको छ। तर सिभिल सहकारीले अझै पत्रको जवाफ पठाएको छैन। अदालतले १९ गतेको आदेशअनुसार वैशाख २२ गते मालपोत कार्यालयमा पत्राचार गर्दैै अन्तिम आदेश नभएसम्म कुनै व्यहोराले हकहस्तान्तरण गर्न नपाउने नगरी हाल रोक्का राखी रोक्का रहेको जानकारी पठाउन अनुरोध गरिएको छ।
सहकारीका सदस्य शिवलाल भण्डारीले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीले सुरक्षण बिना सिभिल होम्सलाई ऋण दिएको भन्दै उजुरी दिएका थिए। सिभिल सहकारीले झण्डै ९१ प्रतिशत सिभिल होम्सलाई ऋण प्रवाह गरेको छ। २४२५ कित्तानम्बरको ६ रोपानी जग्गामा अपार्टमेनट निर्माणीधन क्रममा रहेको छ।
आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षण प्रतिवेदनअनुसार आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङको रियल स्टेट व्यवसायमा झण्डै ९१ प्रतिशत लगानी गरिएको छ। यसरी आफैं सञ्चालक भएको सहकारीको ऋण निजी कम्पनीमा लगाउनु गैरकानुनी हो।
सिभिल सहकारीका निश्चित सञ्चालकहरुले आफूखुसी गर्न थालेपछि सदस्यहरुमा चरम असष्तुष्टी देखिन थालेको छ। केही सञ्चालकले मनोमानी ढंगले सहकारी सञ्चालन गरेको भन्दै असन्तुष्ट सदस्यहरु नियामक निकायदेखि अदालतसम्म धाउन थालेका छन्।
सदस्यहरुले निश्चित व्यक्तिहरुले संस्थाबाट अनुचित लाभ लिने र संस्थालाई आर्थिक दायित्व बहन गर्ने गरेको आरोप लगाएका छन्। सहकारीको मूल्य, मान्यता विपरित वाणिज्य बैंकको जस्तो कारोबार गरी सहकारीको सिद्वान्तभन्दा बाहिर रहेको कारोबार गरेको भन्दै नियामक निकायमा उजुरी दिएका हुन्।
संस्थाले आफ्नै स्वामित्वका तीनवटा व्यवसायलाई अन्धाधुन्ध कर्जा प्रवाह गर्दा सहकारीको सात अर्ब रुपैयाँभन्दा बढी डुब्ने खतरा बढेको सेयर सदस्य बताउँछन्। सहकारीका दुई हजार ६ सय ९० सदस्य बचतकर्ता छन्। सिभिलले निक्षेपकर्ताबाट सात अर्ब ५१ करोड निक्षेप संकलन गरेको छ। उसले आठ अर्ब १३ करोड ६७ लाख कर्जा प्रवाह गरेको छ। निक्षेपभन्दा कर्जा बढी हुनु सहकारीमा अति जोखिम मानिन्छ। त्यही कारण पनि अरू सदस्यले ऋण पाउन सकेका छैनन्।