एटीएम प्रयोग गर्दै सहकारी

एटीएम प्रयोग गर्दै सहकारी

काठमाडौं : नेपालका अधिकांश क्षेत्र सूचना प्रविधिमा जोडिन थालेका छन्। यसै क्रममा पछिल्लो समय सहकारीले पनि नयाँ प्रविधि भित्र्याएका छन्। सहकारीले नयाँ प्रविधि आत्मसात गर्दै गुणस्तरीय सेवा दिन थालेका हुन्। २०१३ सालमा स्थापना भएको सहकारीको संख्यात्मक विकास सहकारी ऐन २०४८ पछि हो।

अर्थतन्त्रको प्रमुख हिस्साको रूपमा रहेको सहकारीले झन्डै एक वर्षयता एटीएम प्रयोग गर्न थालेका छन्। सहकारी स्थापनाको ६१औं वर्षमा आइपुग्दासम्म सहकारी कागजी खातापातामै सीमित थिए। एटीएमसँगै स्मार्ट मोबाइल, ट्याबलेट बैंकिङ, एकाउन्ट नोटिफिकेसन, ब्रान्चलेस बैंकिङ, युटिलिटी पेमेन्ट, क्यूआर कोडलगायत प्रविधि प्रयोगमा सहकारीको ध्यान जान थालेको हो।

सहकारी विभागका अनुसार देशभर ३४ हजार पाँच सय १२ सहकारी छन्। म्यानुअलमै सञ्चालन हुँदै आएका सहकारीले पछिल्लो समय सफ्टवेयर प्रयोगमा जोड दिन थालेका छन्। इन्फो डेपलोपर प्रालिका बजार व्यवस्थापक सुरेश कंसाकारका अनुसार १५ सहकारीले एटीएम सञ्चालन गरिसकेका छन्। एटीएमका लागि २५ वटा सहकारी प्रक्रियामा छन्। ‘सहमति जनाएका ३५ मध्ये बाँकी सहकारीले पनि छिट्टै एटीएम चलाउनेछन्’, उनले भने, ‘प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

विभागका उपरजिस्ट्रार नारायणप्रसाद अर्यालले पछिल्लो केही वर्षयता सहकारीमा प्रविधिको प्रयोग बढ्दै गएको बताए। ‘सहकारीले प्रविधि आत्मसात गर्नैपर्छ’, उनले भने, ‘परिवर्तित समयलाई पछ्याउन सहकारीले सक्नुपर्छ।’ विभागले गरिबी निवारण तथा सहकारी सूचना प्रणाली (कोपोमिस) कार्यान्वयनमा ल्याएको छ। हालै मात्र पारित भएको सहकारी नियमावलीले बचत सहकारीलाई एक वर्षभित्र र अन्य सहकारीलाई तीन वर्षभित्रै प्रणालीमा सामेल गर्न बाध्यकारी व्यवस्था लागू गरेको छ।

इन्फो डेपलोफरले १६ वर्षदेखि सहकारीका लागि सफ्टवेयर बिक्री गर्दै आएको छ। कंसाकारका अनुसार पहिला डेक्सटप सफ्टवेयर चलाउने सहकारीले अहिले सेन्ट्रलाइजेसन कोर बैंकिङ सिस्टम प्रयोग गर्न थालेका छन्। एसटी नेटवर्क र हिमालय बैंकको सहकार्यमा इन्फो डेपलोपरले सहकारीका लागि एटीएम बनाउन थालेको हो। प्रालिले सहकारीका लागि बैंकिङ सिस्टम बनाइदिने काम गर्छ। प्रालिबाट मोबाइल बैंकिङ कारोबार गर्ने एक सय ५० र ट्याबलेट बैंकिङ कारोबार गर्ने आठ सय सहकारी छन्।

एटीएमसँगै स्मार्ट मोबाइल, ट्याबलेट बैंकिङ, एकाउन्ट नोटिफिकेसन, ब्रान्चलेस बैंकिङ, युटिलिटी पेमेन्ट, क्यूआर कोडलगायत प्रविधि प्रयोगमा सहकारीको ध्यान जान थालेको छ।

नेचुरल बचत तथा ऋण सहकारी संस्थाले मंगलबारदेखि एटीएम सेवा सुरु गरेको छ। आधुनिक तथा थप प्रविधिमैत्री बनाउने उद्देश्यले एटीएम सेवा सञ्चालनमा ल्याइएको संस्थाका कार्यकारी सञ्चालक विकल्प पाठकले बताए। प्रविधिको प्रयोगबाट गरिएका कारोबार पारदर्शी, सहज, छिटो र छरितो हुने भएकाले संस्थाले प्रविधिको प्रयोगमा जोड दिँदै आएको उनको भनाइ छ।

नेचुरल सहकारीका सदस्यले एससीटी नेटर्वकको एटीएम बुथमा गएर चाहेको समयमा तुरन्तै पैसा निकाल्न सक्नेछन्। यति मात्र नभई किनमेल गर्दा पनि कार्डको प्रयोग गर्न सकिने पाठकको भनाइ छ। नेचुरलले यसअघि नै ‘नेचुरल स्मार्ट बैंकिङ’ सुरु गरिसकेको छ।

नवलपरासीको गैंडाकोटस्थित विकू बचत तथा ऋण सहकारी संस्थाले हालैमात्र क्यूआर कोड पेमेन्ट सिस्टम सुरु गरेको छ। सहकारी क्षेत्रमा यो प्रविधि नयाँ हो। संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले नयाँ प्रविधिको प्रयोगपछि विकूमा सदस्य रहेका व्यावसायिक तथा प्रतिष्ठानबाट वस्तु तथा सेवा खरिद गर्दा सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा हुन्छ। नयाँ प्रविधि प्रयोगसँगै विकूका सदस्यलाई अब पैसा बोकेर किनमेल गर्न जानुनपर्ने भएको छ।

२०४८ सालमा २६ सदस्यले १३ रुपैयाँबाट सुरु गरेको विकूमा हाल चार अर्ब रुपैयाँ संकलन छ। सहकारीका ५५ हजार सदस्य छन्। चारपटकसम्म एक्सेस ब्रान्ड पाएको विकूले जिल्लामा १२ सेवा केन्द्रमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गर्दै वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ। सहकारीमा एटीएम सुरु गर्ने विकू नै पहिलो हो। पोखरा रोयल सहकारीले दुई महिनादेखि एटीएम सुरु गरेको छ। रोयलका सचिव एवं कार्यकारी प्रमुख भीम गुरुङले सहकारी क्षेत्रमा धेरै संघर्षपछि एटीएम आएको बताए। ‘सबै कुरा सहकारीमै पाउँछ भन्ने सोच विकास भएको छ’, उनले भने, ‘यसले काउन्टरको भीडभाड पनि कम भएको छ।’ दुई महिनाको अवधिमा पाँच सयले प्रयोग गरेका छन्। सदस्यले एसटी नेटवर्कका जुनसुकै बैंकका एटीएमबाट पनि पैसा झिक्न पाउँछन्।

सहकारी बैंकको रूपमा कारोबार गर्दै आएको राष्ट्रिय सहकारी बैंकले पछिल्लो समय प्रविधि प्रयोगमा जोड दिन थालेको छ। सहकारी बैंकले कृषि विकास बैंकसँगको सहकर्यमा एटीएम सेवा सुरु गर्ने तयारी गरेको छ। कृषि बैंकका सबै एटीएमबाट निःशुल्क रकम झिक्न सकिनेछ। ‘अब कुनै पनि सहकारीका सदस्यले नेपालका जुनसुकै स्थानबाट रकम झिक्न सकिनेछ’, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले भने। यो सञ्जाल प्रयोग गर्दा दर्ता शुल्कलगायत कुनै पनि शुल्क नलाग्ने र कृषि विकास बैंकका ६० भन्दा बढी एटीएमबाट निःशुल्क रकम झिक्न सकिन्छ। बैंकले एप बेस एटीएम सञ्चालन गर्ने तयारी गरेको छ। ‘मेसिनमा एपबाट सेक्युरिटी फिगर हालेर कारोबार हुन्छ’, उनले भने। एप्लिकेसन टेक्नोलोजी सहकारीमार्फत बैंकले छुट्टै सुरु गर्ने उनले जानकारी दिए। बैंकले पेपरलेस बैंकिङ कारोबारमा जोड दिएको छ। यसबाट कर्जा, एचआर, अपरेसन, एकाउन्टिङ सर्भिस, भुक्तानी, सीडीएस सबै विषयमा पेपरलेस हटाउने तयारीमा बैंक छ।

गुरागाईले पछिल्लो समयमा प्रविधि प्रयोगमा सहकारी आकर्षित भएको बताए। ‘धेरै सहकारी म्यानुअलबाट अटोमेटिकमा जाँदै छन्’, उनले भने। खासगरी सहरकेन्द्रित सहकारी अटोमेटिक सिस्टममा सञ्चालन हुन थालेका छन्।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी भरपर्दो प्रविधिको पर्खाइमा रहेको बताए। ‘सहकारी प्रविधिमा नगई सुखै छैन’, उनले भने, ‘युवालाई आकर्षित गर्न प्रविधि प्रयोग आवश्यक छ।’ उनले सहकारीमार्फत क्लियरिङको काम गर्ने तयारी रहेको बताए। नेफ्स्कुनले उत्पादन गरेको सफ्टवेयर चार सय सहकारीले प्रयोग गर्दै आएका छन्। सापकोटाका अनुसार पाँच हजारभन्दा बढी संस्थाले अझै एक्सलमै कारोबार गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.