ओली सरकार अवसरबाट चुक्यो : नेता पौडेल
उदयपुर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अवसरबाट चुकेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन उदयपुरले शुक्रबार सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडे्लले कम्युनिस्ट सरकारले आफ्नो सत्तालाई टिकाई राख्ने राम्रो अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न नसकेको प्रष्ट पारे।
'कम्युनिस्ट शासन व्यवस्थामा विकास कस्तो हुन्छ भन्ने जनताको चाहान थियो, पौडेलले भने, 'त्यही चाहना परिपूर्तिका लागि दुई तिहाई बहुमत दिए, तर जनताको भावनामा तुषारापात भयो।
उनले एकल नेतृत्वको सरकारबाट समृद्ध नेपाल हुन्छ भन्ने जनताको चाहाना अहिलेको सरकारबाट कही कतै नदेखेपछि विकल्प खोजी रहेको बताए।उनले सरकार सुशासनभन्दा पनि कुशासनतर्फ उद्धत देखिएकाले नेपाली कांगेस जनताको भावनामा आत्मसाथ गर्न जागरण अभियान लिएर गाउँ पसेको बताए। सरकारको कामकारबाही चित्त बुझ्दो नभएको अवस्थामा पार्टीलाई 'खरो' र 'दरो' बनाउन जनताको घरदैलोमा देशभरका नेता कार्यकर्ता हिंडेको उनको भनाई छ।
नेता पौडेलले मुलुक समृद्ध बनाउने हो भने कृषि क्रान्ति, पर्यटन र उर्जाशक्तिको विकास आवश्यक भएको जिकिर गरे। 'जनताले पीउनलाई समेत पानी पाएका छैनन्, उनले भने, 'सरकार पानी जहाज कुदाएर देश समृद्ध बनाउँछु भनेर सपना बाँडदै हिंडेको छ।'
पार्टीभित्रको आन्तरिक विवाद र गुटसम्बन्धी नेता पौडेलले कुनै त्यस्तो गुटउपगुट र विवाद नरहेको स्पष्ट पारे। भावी पार्टी नेतृत्वको सवालमा उनले पार्टीभित्र त्यागी र क्षमता भएका एकसे एक नेता रहेकाले जो पनि नेतृत्वमा आउन सक्ने सम्भावना रहेकाले समयको माग र कार्यकर्ताको भावनाअनुसार मात्र आफू अघि बढ्ने बताए।
कांग्रेस महाधिवेशन समयमा हुनसक्छ भन्ने जिज्ञासामा उनले पार्टी सभापति प्रष्ट बहुमतमा भएकाले यसै हो भन्न सक्ने अवस्था नरहेको तर समयमा महाधिवेशन नभए देशले ठूलै नोक्सानी व्यहोर्नु पर्ने बताए।
उनले कांग्रेसको महाधिवेशन भनेको लोकतन्त्रको आधारपनि भएकाले यहीं प्रक्रिया रोकिए लोकतन्त्र खतरामा पर्ने र देशलाई नै अहित हुने संकेत दिए।