ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
विराटनगर : प्रहरीले मोरङको धनपालथान गाउँपालिका-३ बतौनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सिद्ध न्यौपानेका अनुसार बिहीबार राति ११:४५ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको डी एल ७ सी एम ०१७६ नम्बरको स्कोरपिओ गाडीबाट १ सय २५ ग्राम ब्राउन सुगर बरामद भएको थियो। पछिल्लो समय प्रहरीले मोरङबाट सबैभन्दा ठूलो परिणाममा ब्राउन सुगर बरामद गरेको हो।
गाडीबाट ब्राउन सुगर बरामद भएपछि चालक भारत कुसाकट्टा-१५ पाडरियाका २८ वर्षीय सन्तोश मण्डल र गाडीमा सवार २४ वर्षीय कमरुल खानलाई पक्राउ गरिएको डीएसपी न्यौपानेले बताए।
पक्राउ परेकाहरु लामो समयदेखि ब्राउन सुगरको कारोवारमा संलग्न व्यक्ति भएको प्रहरीको दाबी छ। उनीहरु विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले सुनसरीको धरान उपमहानगरपालिका-७ का २९ वर्षीय प्रेम विकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ परेका विकको साथबाट ३५ एम्पुल एभिल, ३५ एम्पुल लुपिजेसिक, ३५ एम्पुल डाईजेल्याब बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।
उनका अनुसार भारतको जोगवनीबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा विकलाई लागुऔषधसहित पक्राउ गरिएको हो। उनी विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।