झापामा कालाजारका बिरामी भेटिए
बिर्तामोड : झापाको भद्रपुर–१० स्थित फुचु टोलको सन्थाल बस्तीमा कालाजारका बिरामी भेटिएका छन्। तीन जनामा कालाजार संक्रमण भेटिएको भद्रपुरको नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाको भनाइ छ।
उनका अनुसार ४५ वर्षीय बोगल हेमराम, ३० वर्षीया जुली हेमराम र २७ वर्षीय आइतबार टुडुमा कालाजार भेटिएको हो। बोगल र जुलीलाई स्वास्थ्य शाखाको पहलमा मेची अञ्चल अस्पताल भद्रपुरमा भर्ना गरिएको छ। त्यसपछि अन्य व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा टुडुमा पनि कालाजार भेटिएको निरौलाले बताए। टुडु पनि अस्पतालमा उपचाररत छन्।
भद्रपुरमै दुई वर्षअघि पनि कालाजारका बिरामी भेटिएका थिए। भद्रपुर–३ र १० वडाको सन्थाल बस्ती उच्च जोखिममा छन्। ‘त्यहाँको सन्थाल समुदायको घर फुस र माटोले बनाएको हुनाले कालाजारको कीटाणु त्यही बस्छ र मानिसमा सर्छ’, उनले भने, ‘जसले गर्दा जोखिम बढेको हो।’
फुचु टोलमा सन्थाल समुदायको बसोबास छ। खोला र चिया बगानले घेरिएको बस्तीमा १८ देखि २० घर छन्। कालाजार नियन्त्रणका लागि भुसुना मार्न घर वरिपरि भद्रपुर नगर स्वास्थ्य शाखाले औषधि छर्किन थालेको छ।
फुचु टोलको सन्थाल बस्तीमा स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी।