लोप हुँदै लोकबाजा
भोजपुर : भोजपुर नगरपालिका–५, बोखिमका ६६ वर्षीय पर्शुराम मोते अहिले पनि सहनाई बजाएर घरघर चाहार्छन्। उनले यसरी गाउँमा सहनाई फुक्दै हिँडेको ३४ वर्ष हुन लाग्यो। उनका पितापुर्खा पनि यही बाजा बजाउँथे। यसरी घरघरमा सहनाई बजाउँदा घरको रोग, बाधा, भूतप्रेत टाढा रहने धार्मिक विश्वास छ। तर, पितापुर्खाको यो धार्मिक मान्यता बोक्ने मौलिक लोकबाजालाई पछिल्लो पुस्ताले भने बेवास्ता गर्न थालेको छ।
‘बाबुबाजेले गर्दै आएको यो परम्परा, यो मान्यतालाई अहिलेको पुस्ता बुझ्न चासो दिँदैन’, उनले भने, ‘हाम्रो सेखपछि कसले बाजा बजाउला ? भएको बाजा पनि लोप हुन लागिसक्यो।’ विशेषगरी सहनाई विवाहबाहेक दसैंतिहार, विभिन्न परम्परागत सांस्कृतिक पर्वका बेला बजाइन्छ। नेपाली लोकसंस्कृति जोडिएको पञ्चैबाजामध्ये एक सहनाईको महत्त्व पछिल्लो पुस्तामा आएर पूरै परिस्कृत हुन थालेको उनी सुनाउँछन्।
आधुनिक गीतसंगीत र नयाँ प्रविधिका वाद्यवादनको लोकप्रियताले नेपाली पहिचान बोक्ने पञ्चैबाजा (दमाहा, झ्याली, ट्याम्को, नरसिंगा र सहनाई)लगायत नेपाली संस्कृतिको मौलिकपनमा चासो घट्दै गएको छ। बढ्दो आधुनिक परिवेश र विदेशी कलाप्रतिको बढ्दो रुचिले हिजोआज गाउँघरका लोकबाजा हराउने क्रममा रहेको पौवादुङ्मा गाउँपालिका–५, सानोदुम्मा सुप्लाका ४६ वर्षीय तसमान परियार बताउँछन्। उनका अनुसार पछिल्लो पुस्ताले लोकबाजा संरक्षणमा वास्ता नगर्दा गाउँघरका पञ्चैबाजाको मौलिकता हराउने क्रममा छ।
चाडबाडका बेला घरघरमा लोकबाजा बजाउँदै हिँड्ने लोकबाजाका शिल्पकार अहिले कतै कतै मात्र भेटिन्छन्।
वर्षौंदेखि चल्दै आएको लोपोन्मुख मौलिक लोक पञ्चैबाजा जगेर्नाको सट्टा युवा पुस्तामा नयाँ जमानाको प्रविधिमा चासो बढ्न थालेकाले लोकबाजाको मौलिकपन धराशायी बन्दै गएको भोजपुर नगरपालिका–४, सिद्धेश्वर कोटडाँडाका ३७ वर्षीय रामकुमार सिवाले सुनाए। उनले भने, ‘युवापुस्ताले आफ्नो रीतिरिवाज नै बिर्सन थालिसक्यो। रीतिरिवाजभन्दा विदेशी संस्कारमा उनीहरूको बढी रुचि छ। आधुनिक प्रविधितिर उनीहरूको ध्यान गएकाले लोकबाजा प्रयोगविहीन बन्दै गएका छन्।’
एकातिर चासो कमी हुनु र अर्कातिर गाउँघरमा पञ्चैबाजा बजाउन जान्ने मान्छेको कमीले पनि लोकबाजाको रौनक हराउँदै गएको भोजपुर नगरपालिका–३, गुप्तेश्वर आहालेका ७० वर्षीय टेकबहादुर मोतेले प्रस्ट्याए। चाडबाडका बेला घरघरमा लोकबाजा बजाउँदै हिँड्ने लोकबाजाका शिल्पकार अहिले कतै कतै मात्र भेटिन्छन्। बिहे, कर्मकाण्ड, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, विभिन्न पूजालगायत धार्मिक एवं सामाजिक सांस्कृतिक मूल्यमान्यतामा नयाँ प्रविधिले गर्दा मौलिक लोकबाजा ओझेलमा पर्दै गएको बाजा संरक्षकको गुनासो छ।