प्रदेश २ मा २५ हजार चर्पी बनाउने लक्ष्य, मुख्यमन्त्री भन्छन्- 'सुन्दा लाज लाग्छ'

प्रदेश २ मा २५ हजार चर्पी बनाउने लक्ष्य,  मुख्यमन्त्री भन्छन्- 'सुन्दा लाज लाग्छ'

वीरगन्ज : प्रदेश नम्बर २ लाई आउँदो असार मसान्तभित्र खुला दिसामुक्त प्रदेश घोषणा गर्ने तयारी छ। तर पाँच जिल्लामा अझै २५ हजार घर परिवारसँग चर्पी छैन।

प्रदेश २ का ८ जिल्ला मध्ये सिराहा, सप्तरी र रौतहट खुला दिसामुक्त घोषणा भइसकेका छन्। अब ५ जिल्ला (पर्सा, बारा, धनुषा, महोत्तरी र सर्लाही) मा पनि सबै घरधुरीमा चर्पी बनाएर असार मसान्तभित्र प्रदेशलाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने तयारीमा प्रदेश सरकार लागेको हो।

प्रदेश स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका अनुसार यी पाँच जिल्लामा कूल पाँच लाख ८६ हजार ९३५ घरधुरी छन्। यी मध्ये पाँच लाख ६१ हजार ३२८ घरधुरीमा चर्पी निर्माण भइसकेको छ। २५ हजार ६०७ घरधुरीमा भने अहिलेसम्म चर्पी छैन। चर्पी नभएका घरधुरीका सदस्यहरू खेतबारी, खोलाको बगर, सडक छेउ जस्ता खुला स्थानमा शौच गर्दै आएका छन्।

अब चर्पी बनाउन बाँकी रहेका २५ हजार ६०७ घरधुरीमा असार मसान्त भित्रै चर्पी निर्माण गरी प्रदेश २ लाई खुला दिसामुक्त घोषणा गरिने खानेपानी तथा सरसफाइ मन्त्रालयका उपसचिव एवं राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति नेपालका सदस्य सचिव इन्जिनियर देवेन्द्र झाले जानकारी दिए।

झाका अनुसार, पर्सामा चार हजार ३१६, बारामा सात हजार ४२, सर्लाहीमा ६१७, महोत्तरीमा पाँच हजार ५३  र धनुषामा सात हजार ११ वटा घरधुरीमा चर्पी छैन।

वीरगन्जमा प्रदेश स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले गरेको अन्तर्क्रियामा प्रदेश स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले चर्पी नभएका घरधुरीमा चर्पी निर्माणको विषयलाइ पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ।

समितिको आग्रहपछि कार्यक्रममा सहभागी पर्सा र बाराका स्थानीय तहका जनप्रतिनिधिले प्रदेश २ मा सञ्चालित खुला दिसामुक्त क्षेत्र घोषणा अभियानलाई सफल पार्ने प्रतिबद्धता पनि जनाए।

सुन्दा लाज लाग्छ : मुख्यमन्त्री राउत

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई खुला दिसामुक्त बनाउने अभियानमा प्रदेश सरकार लाग्ने बताए।

प्रदेश २ का कुन कुन वडाका घरमा चर्पी छैन, त्यसको विवरण प्रदेश सरकारलाई दिनुस्, चर्पी निर्माणका लागि के के सामग्री चाहिन्छ, त्यसका लागि बजेट प्रदेश सरकारले दिन्छ', उनले भने, ‘ खेत, बगर, सडकमा दिसा गर्नेलाई धपाउन र सम्झाउन म पनि सँगै जान तयार छु। यो अभियानमा प्रदेश सरकार र मेरो भूमिका जहाँ आवश्यक पर्छ, तयार छौँ।'

खुला दिसामुक्त घोषणामा प्रदेश २ सबैभन्दा पछाडि रहेको कुराले आफूलाई पनि लाज लाग्ने गरेको मुख्यमन्त्री राउतले सुनाए।

अझै खुला दिसामुक्त हुन नसकेका जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुखलाई सम्बोधन गर्दै  मुख्यमन्त्री राउतले भने, ‘ तपाईंहरूलाई लाज लाग्नु पर्ने हो, किनकि आफनो वडा वा पालिकाका घरहरूमा चर्पी निर्माण गरी खुला दिसामुक्त क्षेत्र घोषणा गराउने पहिलो जिम्मेवारी तपाईंहरूकै हो।'

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेश २ का ८ जिल्लामा रहेका १०० सामुदायिक विद्यालयमा छात्राका लागि छुटटै चर्पी निर्माणको काम भइरहेको जानकारी मुख्यमन्त्री राउतले दिए। यसका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.