शुभकामना दिएर करोड संकलन
चितवन : बिहान ५ बजे उठेपछि जन्मदिन भएकाहरूको नाम डायरीमा हेर्छन् । उनीहरूलाई फोन गरेर शुभकामना दिन्छन् । फूलको माला बोकेर घरमै पुग्छन् । खैरहनीका मुरलीप्रसाद गजुरेलको दैनिकी हो यो । जन्मदिन मनाउनेहरू फजुल खर्च कटाएर सहयोग गर्छन् । त्यो रकम छात्रवृत्ति कोषमा जम्मा गर्छन्, गजुरेल । त्यसकै ब्याजबाट गरिब विद्यार्थीलाई पढाउँछन् । ५७ वर्षीय गजुरेलले पछिल्ला नौ वर्ष यसरी बिताएका छन् ।
शुभकामना दिएपछि उनले आफ्नो अभियानबारे जानकारी गराउँछन् । जन्मदिनमा गरिने खर्च कटाएर धेरैले सहयोग गर्छन् । जन्मदिन थाहा पाएपछि उनले डायरीमा टिपोट गर्छन् । अर्को वर्ष फोन गरेर शुभकामना दिन्छन् । उनको साथमा सियो, धागो, फूल र माला कहिल्यै टुट्दैन । जन्मदिन परेको थाहा हुनेबित्तिकै उनले माला तयार गरेर तत्कालै शुभकामना दिन्छन् । ‘गरिबीका कारण मैले पढ्न पाइनँ । पढाइ नहुँदा धेरै अवसरबाट वञ्चित भएँ’, उनले भने, ‘मेरो नियति अरूले नभोगून् भनेर अभियान थालेको हुँ ।’ खाडी मुलुकमा ५ वर्ष ६ महिना २४ सै घण्टा श्रम गर्दा १८ लाख कमाएको उनले सुनाए ।
कोषमा १ करोड रुपैयाँ पु¥याउने लक्ष्य उनले पूरा गरेका छन् । शनिबार २ लाख ३७ हजार ७ सय २२ रुपैयाँ संकलन भएको छ । १ करोड १ लाख १२ हजार ७३ रुपैयाँ ८२ पैसा जम्मा भएको उनले सुनाए । उनले ६ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरेका छन् । कोषमा जम्मा भएको रकमको ब्याजबाट १९ लाख १८ हजार ८ सय रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरिएको उनको भनाइ । ‘सबै सहयोगीको सहयोगले अभियान सफल भएको छ’, उनले भने, ‘गरिब अभिभावकका सन्तानको भविष्य उज्वल पार्ने अभियानमा करोड जम्मा हुनु सबैभन्दा ठूलो खुसी हो ।’
कम पढेकाहरूले अरबमा बढी जोखिमपूर्ण काम गर्नुपरे पनि पारि श्रमिक कम पाएको देखेपछि अभियानमा लाग्ने सोच बनाएको उनले बताए । पढाइको महत्व बुझेपछि घर फर्किएर उनले अभियान सुरु गरेका हुन् । खर्च अभावमा पढाइबाट वञ्चित हुन नपरोस् भनी उनले २०६७ पुसमा छात्रवृत्ति कोष स्थापना गरेका थिए । ‘मेरो परिवारका ६ सदस्यबाट ६ हजार ५ सय सहित ६९ हजार ५ सय रुपैयाँ जम्मा पारेर अभियान सुरु गरें’, उनले भने, ‘जन्मदिन, विवाह, व्रतबन्धलगायत अवसरमा दिएको रकम कोषमा जम्मा गरेको हुँ ।’
उनले खैरहनी मावि जन्मोत्सव तथा स्मृति छात्रवृत्ति कोष स्थापना गरेका छन् । देशकै ठूलो छात्रवृत्ति कोष भएको उनको दाबी छ । खैरहनीका कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिन्छ । ‘१ करोडको लक्ष्य असम्भव भन्दै हाँस्नेहरूले काम ग¥यो भने हुँदो रहेछ भन्ने देखेका छन्’, प्रधानाध्यापक शम्भुशंकर बर्तौलाले भने, ‘अरूलाई पढाउनका लागि जीवन समर्पित गरेर हिँड्ने विरलै होलान् ।’