प्यारो साइकल बेच्नु पर्यो
नेपाली टीभी सिरियल हेर्नेहरू मलाई ‘मुखमा हान्नु जस्तो’ भनेर चिन्छन् । मेरो जन्म बारा, अमलेखगन्जको १ नम्बर पुल भन्ने गाउँमा भएको हो । मैले ७ कक्षासम्म यही ठाउँमा पढेँ । २०३२ सालमा म परिवारको साथमा हेटौंडा आएँ । एसएलसी परीक्षा हेटौंडाबाटै दिएँ । पछि उच्च शिक्षाका लागि काठमाडौं आइयो ।
बाल्यकालमा म निकै सोझो थिएँ । अहिले पनि सोझै छु । साथीभाइसँग खेल्न, रमाइलो गर्न, ख्यालठट्टा गर्न असाध्यै मन पथ्र्याे । अलिअलि बदमासी पनि गर्थें । मलाई निराश हुन पटक्कै मन पर्दैन । सुख र दुःख भनेको सबै स्वाभाविक प्रक्रियाजस्तो लाग्छ । म सानैदेखि जस्तोसुकै अवस्थामा पनि आत्तिन्नथेँ ।
म सानैदेखि अरूको दुःख देख्न सक्दिनथेँ । अरूलाई सताउँदा दुःख हुन्छ भन्ने थाहा थियो । तर गाउँमा हुँदा कहिलेकाहीँ रमाइलो गर्न अरूको बारीमा पसेर फलफूल चोरेर खाइयो । कतिपटक अम्बाको रूखमा चढेर बोट नै रित्तिने गरी अम्बा सक्काइयो ।
मलाई गाउँघरमा बस्दा साथीहरूलाई तर्साउन खुब मन पथ्र्याे । नक्कली डोरीलाई सर्प बनाएर अरूलाई तर्साउँथेँ । सानोमा गट्टा, लंगडी खुट्टी केटा मान्छेले खेल्न हुँदैन भन्थे तर म खेलिदिन्थेँ ।
भाइबहिनी हो, मलाई पढाइमा निकै रुचि थियो । धेरै पढ्थेँ । आमाबुवालाई सम्मान पनि गर्थें । साथीभाइ कतै लड्दा औषधिउपचार गर्न जान्थेँ ।
मेरो घरमा १२ जना सदस्य थिए । घरमा प्रायः डिँढो र सागको तरकारी पाक्थ्यो । आर्थिक अवस्था कमजोर भएका कारण मन लागेको चीज किनेर खान सक्ने अवस्था थिएन । तर मेरा साथीहरू सम्पन्न परिवारका थिए । उनीहरूसँग साइकल पनि थियो । त्यो साइकल चढ्न म उसको पछिपछि दगुर्थें । उनले तीन पटक चढेपछि बल्ल मेरो पालो आउँथ्यो ।
आफ्नै साइकल नहुँदा नरमाइलो लाग्थ्यो । यो सबै देखेर मैले साइकल किनिछाड्ने निधो गरेँ । ठूलो भएर राम्रो जागिर खाने र धेरै पैसा कमाएर साइकल किन्ने मेरो सोच थियो ।
पछि नेपाल आयल निगममा जाँच दिएर पास भएपछि जागिर पाइयो । मैले दुई महिनाको पैसा जम्मा गरेर साइकल किनँे । त्यति बेला नेपालगन्ज गएर चार सय दस रुपैयाँमा हिरो साइकल किनेँ । रातको समयमा वीरगन्जदेखि ३० किलोमिटर साइकल चढेरै घर बारासम्म आएँ ।
साइकलको धेरै माया लाग्थ्यो । बिहान उठ्नेबित्तिकै मुखै नधोई साइकल सफा गर्न थाल्थेँ । साइकल मेरो साथीजस्तै थियो । त्यो साइकल लिएर पछि म काठमाडौंसम्म आएँ । काठमाडौंमा बस्दा पैसाको अभाव हुन थालेपछि साइकल बेच्नु पर्यो । त्यति बेला मलाई साह्रै नराम्रो लाग्यो ।
सानोमा खाजा खान पैसा हुँदैनथ्यो । चाडबाडको समयमा मानिसले मन्दिरमा पूजा गर्दा चढाएको पैसा टिपेर म खाजा खर्च जुटाउथेँ । यी सबै दुःख देखेर मलाई धेरै पढेर ठूलो मान्छे बन्न मन लाग्थ्यो । मैले धेरै मेहनत गर्नुपर्छ भन्ने लाग्थ्यो । जतिजति ठूले हुँदै गएँ, त्यति नै संघर्ष गर्न थालेँ ।
सानोमा मलाई अभिनय गर्ने कुनै सोख थिएन । अभिनय गर्न लाज लाग्थ्यो । मैले कमेडी गर्छु भनेर पनि कहिल्यै सोचेको थिइनँ । तर मलाई गीत गाउन निकै मन पथ्र्यो । विद्यालयमा प्रत्येक शुक्रबार म गीत गाएर शिक्षक शिक्षिका र साथीहरूलाई सुनाउँथेँ ।
विद्यालयका प्राध्यापक नन्दकिशोर रौनियारले मलाई निकै माया गर्थे । बिदा भएपछि सबै विद्यार्थीलाई हलमा बोलाएर मलाई गीत सुनाउन लगाउँथे । त्यति बेला ठूलो भएपछि पनि गायक बन्नुपर्छ भनेर सबैले हौस्याउँथे । त्यसैले काठमाडौं आएपछि म रेडियो नेपालमा धेरै पटक धाएँ । मलाई आधुनिक गीत गाउने इच्छा थियो तर दोहोरी गीत गाउने मौका मिल्यो ।
भाइबहिनी हो, काठमाडौंमा मैले धेरै दुःख खेपेको छु । त्यति बेला खर्च जुटाउन पत्रिका बेच्ने हकरसम्म भएँ । पढ्न, कोठा भाडा तिर्न, खान लाउन निकै समस्या थियो । मैले कमाएको पैसाले आधा महिनासम्म मात्र खान पुग्थ्यो । पेटभरि खान नपाएर दुब्लाएको थिएँ ।
कत्ति साथीहरूसँग सरसापट पनि मागेँ । तर मैले पैसा माग्ने थाहा पाएपछि उनीहरू बोल्न खोज्दैनथे । बाटोमा अरूको हातमा पैसा देख्दा मैले कहिले यसरी धेरै पैसा कमाउन सक्छु होलाजस्तो लाग्थ्यो ।
काठमाडौं बस्दा मैले सुब्बा र खरिदारको गाइड रातभरि पढेर सबै कण्ठ पारेको थिएँ । मेहनतको फल, मैले जाँच दिएर ६ ठाउँबाट नाम निकालेँ । त्यसपछि नेपाल राष्ट्र बैंकमा काम पाएँ । त्यहाँ ३० वर्षसम्म काम गरेँ ।
त्यति बेला अभिनयको तालिम लिन पनि गएँ । काठमाडौंमा संघर्ष गर्दै जाने क्रममा मैले सात÷आठवटा टेलिफिल्म खेलिसकेपछि ‘देवी’ नामक टेलिसिरियलमा काम गर्ने मौका पाइयो । भाइबहिनी हो, त्यसमा पूर्णे नाम गरेको पात्र म नै हुँ । यसमा म असामान्य व्यक्तिको भूमिकामा थिएँ । त्यो सिरियस खालको रोल थियो ।
‘देवी’मा मेरो अभिनयले सबैलाई रुवाउँथ्यो । तर, म रमाइलो स्वभावको पात्र थिएँ । मलाई देखेर मानिसहरू हाँस्न थाले । पछि सबैले भन्न थाले, ‘तपाईं कस्तो हँसाउनु हुन्छ’ । यसो भन्दाभन्दै मलाई हास्यव्यंग्यतिर ताने । म हास्यव्यंग्य कलाकारका रूपमा चिनिन थालेँ ।
त्यसपछि त मलाई टेलिसिरियलहरूमा प्रायः हास्य रोल दिन थाले । यसले मलाई पनि हौसला मिल्यो । नाटक र फिल्म दुवैमा मैले हँसाउन थालेँ । आज म भगवान्लाई धन्यवाद दिन चाहन्छु— मेरो कामलाई दर्शकले मन पराइदिए । मैले दर्शकको धेरै माया पाएँ।
टेलिशृंखला ‘तीतो सत्य’, ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’ले मलाई धेरै चिनायो । पछि अफिसको कामले गर्दा धेरै वर्षसम्म फिल्म खेलिएन । धेरैपछि ‘छ एकान छ’ फिल्म खेलियो ।
दीपकराज गिरीले ठूलो फिल्म बनाउने प्रस्ताव ल्याए । उनले फिल्मको विषयमा हामी सबैसँग सल्लाह गर्नु नै हामी सबैको भविष्य बन्नुजस्तै भयो । त्यसपछि सबै एकजुट भएर काम गर्दै गयौं र ‘छक्कापञ्जा ३’सम्म सँगै काम गर्यौं ।
मलाई बालापन निकै मन पर्छ । आज पनि भगवान्सँग त्यही बालापनको समय फर्काइदिन प्रार्थना गर्छु ।
(कलाकार पौडेलसँग सपना महर्जनले गरेको कुराकानीमा आधारित)