दुर्गमका महिला घरमै सुत्केरी

दुर्गमका महिला घरमै सुत्केरी

गुल्मी : मदाने गाउँपालिका–५ मलागिरीका महिलाले बर्थिङ सेन्टर नहुँदा घरमै बच्चा जन्माउने गरेका छन्। सोही गाउँपालिकाकी बिजुला सामतले सबै बच्चा घरमै जन्माएको बताइन्। उनी ५१ वर्षकी भइन्। उनका पाँच छोरा र पाँच छोरी छन्। ४१ वर्षको हुँदा कान्छो छोरा जन्मिए।

सुत्केरी व्यथा लाग्दा अस्पताल पुग्नुपर्छ भन्ने उनको मनमा लागे पनि पुग्न सकिनन्। जोखिम मोलेरै उनले सबै सन्तान घरमै जन्माइन्। उनले बर्थिङ सेन्टर कस्तो हुन्छ देखेकी छैनन्। ‘बर्थिङ सेन्टर भन्ने सुनेकी छु’, उनले भनिन्, ‘अहिलेसम्म देखेको छैन।’

उनीजस्तै मदाने गाउँपालिकाका दुर्गम क्षेत्रका सयौं महिला जोखिम मोलेर घरमै सन्तान जन्माउँछन्। मलागिरी स्वास्थ्यचौकी स्थापना भएको २२ वर्ष पुगिसक्यो। तर, यहाँ अझै बर्थिङ सेन्टरको सेवा सञ्चालन हुन सकेको छैन। ९० प्रतिशत महिला घरमै सुत्केरी हुने गर्छन्। नयाँ पुस्ताका महिलालाई बर्थिङ सेन्टरमा सुत्केरी हुँदा प्रोत्साहनबापत दुई हजार र नियमित गर्भजाँच गराउँदा आठ सय रुपैयाँ पाइने जानकारी छ। तर, उनीहरू गाउँमै सेवा नहुँदा वञ्चित छन्।

बर्थिङ सेन्टर अभावले घरमै बच्चा जन्माउनुपर्ने बाध्यता छ।

आर्थिक अवस्था कमजोर भएका महिला घर छाडेर जिल्लाबाहिर सुत्केरी हुन पुग्दैनन्। उनीहरू छिमेकी जिल्ला प्युठान अस्पताल विजुवार, अर्घाखाँचीको सन्धिखर्कसहित बादीकोट र पुर्कोटदह बजार पुग्नुपर्ने बाध्यता छ। एम्बुलेन्स रिजर्भ गरेर सहर पुग्न अधिकांशको आर्थिक अवस्थाले थेग्दैन।

सोही ठाउँकी ३२ वर्षीया वसन्ता सामतले पनि दुई छोरी र एक छोरा घरमै जन्माइन्। उनकी कान्छी छोरी डेढ वर्षकी भइन्। ‘एम्बुलेन्स रिजर्भ गरेर अस्पताल जान सकिएन’, उनले दुखेसो सुनाउँदै भनिन्, ‘सबै छोराछोरी घरमै जन्मिए।’

गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मदाने जिल्लाकै दुर्गम गाउँपालिकामा पर्छ। मदानेभित्रको दुर्गम वडा मलागिरी हो। यस गाउँका महिला दुर्गम भएकै कारण सुत्केरी सेवाबाट वञ्चित हुनुपरेको छ। तालिम लिएको अनुभवका आधारमा मलागिरी स्वास्थ्यचौकीका अहेव हरिकृष्णसेन वलीले महिलाको घरमा पुगेर सुत्केरी गराउने गरेको अनुभव सुनाए। ‘व्यथा लाग्दा महिलाले घरमै बोलाउँछन्’, उनले भने, ‘स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरसहितको सेवा छैन।’

मलागिरीसहित भनभने र म्यालपोखरी स्वास्थ्यचौकी बर्थिङ सेन्टरविहीन छन्। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले म्यालपोखरी र मलागिरीमा आगामी वर्षभित्र सेवा सुरु गर्ने योजना बनाएको जानकारी दिए। ‘मलागिरीमा भवन निर्माणाधीन छ, सकिनेबित्तिकै सेवा सुरु हुन्छ।’ बर्थिङ सेन्टर नभए पनि गर्भ जाँच गराउने महिला आउने गरेको मलागिरी स्वास्थ्यचौकी इन्चार्ज पञ्चदेवकुमार शाहले बताए। ‘नियमित गर्भजाँच गराउने ८१ प्रतिशत छन्’, उनले भने, ‘गर्भ जाँच गराउनेहरू पुर्जा लिएर अस्पतालमा सुत्केरी हुनुभयो भने सबै सुविधा पाउनुहुन्छ।’ गर्भ जाँच गराए पनि सुत्केरी गराउने सेवा नहुँदा सेवाग्राहीको गुनासो बढ्दै गएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.