वाणिज्य बैंकहरूको नाफा बढ्यो

वाणिज्य बैंकहरूको नाफा बढ्यो

काठमाडौं : लगानीयोग्य पुँजी अभावले मागअनुसार कर्जा प्रवाह गर्न नसकेको बताउँदै आएका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउन–चैत्र) मा ४५ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेका छन्। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २० प्रतिशत बढी हो। गत आवको चैत्र मसान्तसम्म वाणिज्य बैंकहरूको नाफा ३८ अर्ब ६ करोड थियो। नेपालमा २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन्।

 २८ बैंकमध्ये २६ वटाको तीन त्रैमासको नाफा अर्ब रुपैयाँभन्दा माथि छ। सबैभन्दा बढी नाफा आर्जन गर्ने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको छ। यस्तै नबिल बैंकले तीन अर्ब १९ करोड र नेपाल इन्भेस्टमेन्ट बैंकले दुई अर्ब ५७ करोड नाफा गरेका छन्। यसैगरी एनआईसी एसिया बैंकले दुई अर्ब २८ करोड र नेपाल बैंकले दुई अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। बढी नाफा गर्ने पहिलो पाँच स्थानमा रहेका बैंकमध्ये नेपाल इन्भेस्टमेन्ट र नेपाल बैंकको नाफा घटेको हो।

यस्तै सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकमा सिभिल बैंक ४९ करोड ३९ लाख रुपैयाँँ, सेञ्चुरी बैंक ६१ करोड रुपैयाँँ, कुमारी बैंक एक अर्ब रुपैयाँ, जनता बैंक एक अर्ब २ करोड ३७ लाख रुपैयाँँ र लक्ष्मी बैंक एक अर्ब २ करोड ९६ लाख रुपैयाँ छ।

बैंकरले भने बैंकको नाफा स्वाभाविक रहेको बताएका छन्। ‘बैंकले पारदर्शीरूपले ब्याजदर निर्धारण गरेका छन्। पछिल्लो समय निक्षेपकै ब्याजदर उच्च रहेकाले कर्जाको ब्याजदर घटाउने अवस्था नरहेको हो’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले भने, ‘पछिल्ला वर्ष बैंकको स्वपुँजीको प्रतिफल (रिटर्न अन इक्विटी) घटिरहेको छ।’ खुद आयलाई सेयरधनीले लगानी गरेको पुँजीले भाग गर्दा आउने भागफलले स्वपुँजीको प्रतिफल जनाउँछ।

बैंकले निक्षेप आकर्षित गर्न ब्याजदर बढाउनुपरेको भन्दै कर्जाको ब्याजदर उच्च राख्दै आएका छन्। राष्ट्र बैंकले चालु आवकोे मौद्रिक नीतिको समीक्षाका क्रममा कर्जा र निक्षेपको ब्याजदरअन्तर (स्प्रेडदर) भारित औसत ब्याजदरका आधारमा गणना गर्ने व्यवस्था गरेको भए पनि यो व्यवस्था कार्यान्वयनमा आएको छैन। भारित औसत ब्याजदर भन्नाले बैंकको सबै कर्जा स्किमका ब्याजदर र सबै निक्षेप स्किमका ब्याजदरको औसत निकालेर त्यसमा कर्जाको ब्याजदरबाट निक्षेपको अन्तरगणना गर्ने हो। मौद्रिक नीतिको व्यवस्थाअनुसार चालु आवको अन्त्यमा स्प्रेडदर अर्थात् कर्जा र निक्षेपको भारित औसत ब्याजदरअन्तर ४.५ प्रतिशत वा सोभन्दा कम हुनुपर्छ।

कर्जाको ब्याजदर महँगो भएकाले व्यवसाय गर्न कठिन भएको भन्दै उद्योगी तथा व्यवसायीले विरोध गर्दै आएका छन्। पूर्वी नेपालका उद्योगी भने आन्दोलनमा नै उत्रेका छन्। तेस्रो त्रैमाससम्म १४ बैंकको स्प्रेडदर ४.५ प्रतिशतभन्दा माथि छ। त्यस्तै, चैत मसान्तमा आइपुग्दा पनि बैंकको आधार ब्याजदरमा कुनै कमी आएको छैन। आधार ब्याजदरमा प्रिमियम जोडेर बैंकले कर्जाको ब्याजदर तय गर्छन्। सबैभन्दा कम आधार ब्याजदर हुनेमा राष्ट्रिय वाणिज्य बैंकको ५ दशमलव ३८ प्रतिशत छ भने जनता बैंकको सबैभन्दा उच्च ११ दशमलव ६६ छ।

चालु आवको पहिलो नौ महिनामा वाणिज्य बैंकको निक्षेप संकलन एक खर्ब ६१ अर्ब वृद्धि भइ २६ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ। ऋण लगानी दुई खर्ब ५९ अर्ब वृद्धि भई २३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.