१३ औँ सागको लोगो र मस्कट सार्वजनिक
काठमाडौं : नेपालमा आगामी डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) गेम्स को लोगो मस्कट सार्वजनिक गरिएको छ। सोमबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रमबीच सागको लोगो र मस्कट सार्वजनिक गरिएको हो। सागको लोगोमा शान्तिको प्रतीक उडिरहेको परेवा राखिएको छ।
जसले सार्क राष्ट्रबीच आपसी एकता, भाइचारा र स्वतन्त्र रूपमा उच्च लक्ष्यको प्राप्तिको चाहनालाई दर्शाउने उल्लेख छ। यसैगरी मस्कटमा कृष्णसार राखिएको छ। कृष्णसारको संरक्षणका लागि सागको मस्कट बनाइएको हो। लोगो र मस्कट खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो।
भोलानाथ पौडेलले डिजाइन गरेको उक्त लोगो र मस्कट छनोटमा परेको थियो। पौडेलले अन्य चारजना प्रतिस्पर्धीलाई पछि पारेका थिए। लोगो र मस्कट छनोटसँगै पौडेलले एक लाख रुपैयाँ पुरस्कार पाए।
लोगो र मस्कटको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सभासद् जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले सार्वजनिक गरे। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अब निर्धारित समयमै साग भएर छाड्ने बताए।
उनले साग देशको प्रतिष्ठासँग जोडिएको विषय भएकोले सबै सरोकारवाला निकाय जुटेर लाग्नुपर्ने बताए। सदस्यसचिव विष्टले भौतिक संरचनाका कारण साग नरोकिने र असार अन्तिमसम्म दशरथ रंगशालाको निर्माणकार्य सम्पन्न भइसक्ने पनि बताए।
नेपालले सागका लागि बन्द प्रशिक्षण जेठ पहिलो साताबाट सुरु गर्ने तयारी गरेको छ। सागका लागि आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिनेछ। त्यसपछि असोजमा हुने राखोप च्याम्पियनसिपबाट अन्तिम खेलाडीको टुंगो लगाइनेछ।
काठमाडौं र पोखरामा आयोजना गरिने १३औं सागमा ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, स्विमिङ, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, प्याराग्लाइडिङ, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल, कराँते र गल्फ गरी २७ खेल राख्ने निर्णय यसअघि नै भइसकेको छ। आयोजकको हिसाबले नेपालले कराँते र गल्फ खेल थप्ने निर्णय गरेको थियो।