क्युरियोका सामान बिक्री गर्दै २५ देशको यात्रा
पोखरा : सानैदेखि डुल्न, घुम्न मनपराउने ब्राजिलका फुबा आफैले बनाएका क्युरियोका समान बिक्री गर्दै पोखरा आइपुगेका छन्। युरोप, अमेरिकालगायत २५ देश घुमेका उनी भारत हुँदै एक हप्ताअघि पोखरा आइपुगेका हुन्।
१५ वर्षको उमेरमा पहिलोपटक आफ्नै देश ब्राजिलका विभिन्न सहर घुमेर यात्रा सुरु गरेको उनले सुनाए। त्यसपछि ल्याटिन अमेरिकाका विभिन्न देश, युरोप, अमेरिकालगायत २५ देशको भ्रमण आफैले बनाएका क्युरियोका सामान बिक्री गरेको भनाइ छ। यात्रामै क्युरियोका सामान बनाउने कच्चा पदार्थ लिएर हिड्ने गरेको उनले सुनाए। हातमा र घाँटीमा लगाउने गहना, औठी, लकेट लिएरै उनी यात्रामा हिँड्ने गरेका र त्यसलाई ठाउँअनुसार विभिन्न डिजाइन गर्ने गरेको उनले बताए।
जुन देशमा यात्रा गर्दै पुगिन्छ त्यसै देशमा भ्रमणका लागि आवश्यक खर्च जुटाउन व्यस्त बजारका सडक छेउमा क्युरियोका सामग्री बनाउने र बिक्री गर्ने गरेको उनले सुनाए। यसरी क्युरियोका सामग्री बिक्री गरेर घर भाडा, खाना र घुम्न पुग्ने खर्च निकाल्ने उनले बताए। पोखराको फेवाताल किनारमा शनिबार साँझ भेटिएका ३७ वर्षीय ब्राजिलका नागरिक फुबा पोखरा निकै रमाइलो लागेको बताउँछन्। यहाँका नागरिक निकै सहयोगी र हँसिला रहेको उनले सुनाए। साँझ क्युरियोका सामान बिक्री गर्ने र दिउँसो त्यस सहरको भ्रमण गर्ने उनको दैनिकी छ। क्युरियोका सामग्री किन्ने ग्राहक भने नेपाली नभएर विदेशी छन्। उनी दोस्रोपटक नेपाल आएका हुन्।
इटालीबाट पोखरा घुम्न आएकी मार्टिना पनि क्युरियोका सामग्री नै बिक्री गरेर विभिन्न देशको भ्रमण गरेको सुनाइन्। ब्राजिलको फुबासँगै क्युरियोका सामग्री बिक्री गर्दै गरेकी मार्टिनाले आफैले क्युरियोका सामान बनाएर बिक्री गर्दै भ्रमण गर्नु आफ्नो बानी नै परिसकेको सुनाइन्। अहिलेसम्म दर्जन बढी देश घुमिसकेकी उनको पहिलो नेपाल भ्रमण हो। नेपालको कानुनले भने टुरिस्ट भिसामा आएर व्यापार गर्न बन्देज लगाएको छ।