बज्रबाराहीमा जिपलाइन
काठमाडौं : फागुन दोस्रो सातादेखि धुलिखेलमा सञ्चालनमा आएको जिपलाइनको नयाँ प्रडक्ट ललितपुरको बज्रबाराहीमा सुरू हुने भएको छ। वल्र्डवाइड एड्भेन्चर प्रालिले जिपलाइनको नयाँ प्रडक्टका रूपमा रूखबाट रुखमै खेलिने साहसिक खेल सञ्चालन गर्ने भएको छ।
साहसिक खेलमा अन्तर्राष्ट्रियस्तरमा परिचित यो नेपालका लागि नयाँ पर्यटन प्रडक्न हुने वल्र्ड वाइड एड्भेन्चरका अध्यक्ष केदार थापाले बताए। उनले भने, ‘काभ्रेको खावामा सुरु गरेको जिपलाइनकै लगानीकर्ताको समूहले बज्रबाराहीमा पनि सुरु गर्न लागेको हो।’ वल्र्डवाइडमा थापासहित व्यवसायी भूपेश श्रेष्ठ र विवस भण्डारीको लगानी छ। करिब तीन करोड खर्चिएर बज्रबाराहीमा जिपलाइनको नयाँ प्रडक्ट सुरु गर्ने भएको छ।
बज्रबाराहीमा जिपलाइन सेवा विस्तार गर्न आवश्यक सामग्री ल्याइसकिएको छ भने स्थानीय निकायको सहमति आइसकेको जानकारी थापाले दिए। उनले नयाँ प्रडक्टको रूपमा सुरु गर्न लागेको जिपलाइन थाइल्यान्डको फुकेटमा देखेर आएका हुन्। ‘त्यहाँ एउटा रूखबाट अर्को रूखमा खेलिने हनुमान जिपलाइन निकै परिचित छ। हामीले पनि सोही प्रकृतिको रूखबाट रूखमै खेलिने खेल ल्याउन खोजेका हौं।’
काठमाडौंको नजिक भएको र धेरैको आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ। हाल पिकनिक स्पटको रूपमा परिचित यो क्षेत्रमा बालबच्चा र तीनका अभिभावकलाई केन्द्रित गरेर नयाँ खेल ल्याउन सकियो भने राम्रो हुन्छ भन्ने लागेका उनले बताए। त्यसैले करिब ७० देखि एक सय मिटरको दूरीमा खेल्न सकिने, वातावरणमैत्री साहसिक खेल गञ्चालन गर्न खोजिएको थापाको भनाइ छ।
यसका लागि नगरपालिकाबाट अनुमति पाइसकेका छ। अब आवश्यक पूर्वाधार बनाएर सञ्चालन गर्ने काम सुरु हुन्छ। यसलाई सन् २०२० को पर्यटन वर्षका लागि नयाँ प्रडक्टको रूपमा उद्घाटन गर्न सकिनेछ।
रुखबाट रुखमा खेलिने जिपलाइनमा एउटा रुखदेखि अर्कोसम्म पुग्ने, दुई रुखको बीचमा पुल जस्तो बनाएर आउने जाने, डोरीमा झुन्डिएर वारपार गर्न सकिने सुविधा हुनेछ। यो सुविधालाई आकर्षित गर्न नजिकै खानेबस्ने सुविधा पनि हुनेछ। यो प्याकेजलाई प्रवद्र्धन गर्न आफूहरूको पहल रहने थापाले बताए।
धुलिखेलमा सञ्चालित जिपलाइनमा क्लासिक (एक जना मात्र), डेन्डेम (दुई जना) र सुपरम्यान (सुतेर डोरीमा उड्ने) गरी तीन प्रकारको खेल हुन्छ। यहाँ पनि लप्सीको रूखलाई भ्यू टावर बनाइएको छ। यो पनि यस क्षेत्रको आकर्षक प्रडक्ट हो। धुलिखेलमा दैनिक ७० जना क्षमतामा मात्रै जिपलाइन खेलाउन सकिन्छ। हाल सिंगल वायरमा रहेकाले यसलाई आवश्यकता अनुसार क्षमता बढाउन डबल वायरको बनाउन सकिने बुझाइ थापाको छ।
काभ्रेमा सुरु भएको यो पर्यटकीय गन्तव्यप्रति आकर्षण बढेकाले अन्य क्षेत्रबाट पनि माग आइरहेको छ। यसका लागि हामी आफैंले आवश्यक सल्लाह सुझाव दिएर जिपलाइनलाई विभिन्न गन्तव्यमा पुर्याउन सहयोग गर्दै छौं। नेपालमा यो साहसिक पर्यटनको आकर्षक प्रडक्ट भएकाले हरेक डाँडामा सुरु गर्न सकिन्छ। काभ्रेमा सुरु भएको यो प्रडक्टलाई दृष्टिगत गरेर अब नेपालका अन्य डाँडामा पनि यसको विस्तार हुनेछ। अर्को नयाँ स्थानमा रोलर कोस्टर र बन्जिसहित सुविधा राखेर जिपलाइन सुरु गर्ने विषयमा पनि आवश्यक गृहकार्य भइरहेको उनको बुझाइ छ।
सरकारले यस्तो साहसिक पर्यटन प्रडक्लाई प्रोत्साहन गर्ने र सहजीकरण गर्दै जाने हो भने नेपालका धेरै ठाउमा जिपलाइन हुन सक्छ। जति विविधीकरण गर्यो नयाँ प्रविधि र प्रतिस्पर्धा उति नै बढ्ने भएकाले नयाँ सञ्चालन गर्न चाहनेका लागि सहजीकरण गर्न आफूहरू तयार रहेको बुझाइ थापाको छ।