पशुपतिनाथको जग्गा खै ?

पशुपतिनाथको जग्गा खै ?

पशुपतिनाथ मन्दिरको जग्गा अथाह छ। तर सबै जग्गाको अभिलेखीकरण चुस्त र दुरुस्त छैन। भनिन्छ– पशुपतिनाथले सबैको रक्षा गर्छन्। तर, नेपालका नेतादेखि भूमाफियाका कारण पशुपतिनाथले आफ्नै जग्गाको रक्षा गर्न सकेको देखिँदैन। प्रतीकात्मक भनाइलाई आधार मान्ने हो भने यसको सुरक्षा, रेखदेख र संरक्षण नेपाल सरकारले गर्नुपर्छ।

पशुपतिनाथ मन्दिरको संरक्षण र व्यवस्थापन गर्ने जिम्मा पाएको पशुपति क्षेत्र विकास कोष आफैंमा स्वायत्त संस्था हो। कोषको अध्यक्ष संस्कृतिमन्त्री र संरक्षक प्रधानमन्त्री रहने व्यवस्था छ। कोषले संरक्षण गर्न नसके संस्कृति मन्त्रालय र मन्त्रालयले पनि नसके प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिम्मा लिनुपर्ने हुन्छ। तर विश्वका तीन करोडभन्दा बढी हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथको हजारौं रोपनी जग्गा हराउँदासमेत कसैलाई पत्तो छैन।

पछिल्लो समय पशुपतिनाथ मन्दिरका नाममा राखिएका उपत्यकामा रहेको दुई सय ३१ रोपनी १० आना जग्गा हराएको छ। कोष सञ्चालक परिषद्का कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा एक वर्षअघि गठित पशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले तयार पारेको प्रतिवेदनले अर्बौं रुपैयाँ पर्ने उपत्यकाको जग्गा हराएको फेला पारेको हो। यसअघि तराईका रौतहट, पर्सा, बारालगायतका जिल्लामा रहेको पशुपतिनाथकै करिब ११ सय बिघा जग्गा पनि गायब भएको समाचार सार्वजनिक भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गाबारे छानबिन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको थियो। महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको प्रतिवेदनमा पनि पशुपतिनाथका नाममा रहेका जग्गाको खोजी गर्नुपर्ने उल्लेख छ। यसअघि पशुपतिनाथ गुठीको नाममा दर्ता भएका जग्गामध्ये साबिकका लगतबाट करिब ३५० रोपनी जग्गा पनि हराएको थियो। संसद्को सार्वजनिक लेखा समितिले १३ वर्षअघि नै साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिएको थियो। त्यो कामसमेत अझै हुन सकेको छैन।

थापा संयोजकत्वको छानबिन समितिको प्रतिवेदनमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको देखिएको छ। पशुपतिको जग्गा बागमतीदेखि मनोहरा नदीको बगरसम्म छरिएको देखिन्छ। श्रीपशुपतिनाथ अमालकोट कचहरी, श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको असुली लगतको अभिलेखका आधारमा पशुपतिनाथको नाममा भएकामध्ये दुई सय ३१ रोपनी १० आना जग्गा गायब भएको पाइएको हो। पशुपतिनाथकै नाममा रहेका अझै धेरै जग्गा गायब भए पनि त्यसको आधार फेला पार्न समितिले सकेको छैन। भण्डार तहबिलको दुई सय १३ रोपनी ७ आना, जयवागेश्वरी भण्डार तहबिलको ११ रोपनी ७ आना र अमालकोट कचहरीको ६ रोपनी १२ आना जग्गा हराएको छ। प्राप्त तथ्यांकअनुसार लगत नम्बर २४९ को पूर्वप्रधानमन्त्री चन्द्रशमशेर मोही भएको ६ रोपनी ४ आना जग्गा हराएको देखिन्छ। काठमाडौं बौद्धमा चन्द्रशमशेर मोही रहेको यो जग्गा उनका सन्तानले हडपेर खाएको पाइएको छ। पशुपतिनाथका नाममा रहेका हजारौं रोपनी जग्गा भए पनि भूबहाल र कूतबाट आम्दानी भने एकदमै न्यून छ।

आम्दानीबाट परम्पराअनुसार कार्यालयबाट गर्नुपर्ने पशुपतिनाथ मन्दिरसँग सम्बन्धित पुजारी र रैरकमीको पारि श्रमिक, पूजा खर्च र जात्रा–पर्वको खर्च पनि धान्न गाह्रो भइरहेको छ। रैरकमीको पारि श्रमिकमा समयसापेक्ष वृद्धि भएको र जात्रा पर्वसँग सम्बन्धित खर्च पनि बढ्दै गए पनि कूत र भूबहाल नबढ्दा यी खर्च धान्न आम्दानी अपर्याप्त देखिन्छ। कोषले एकातिर हराएका जग्गाको खोजी कार्य तीव्र बनाउनुपर्ने देखिन्छ भने अर्कोतिर दशकौंअघि गरिएका आम्दानीको पुनरावलोकन गरी पुनः सम्झौता गर्न ढिला भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.