टेम्पो र सफारीले सास्ती
धरान : धरान उपमहानगरपालिकाका सडकमा जताततै खाल्डाखुल्डी छन्। कोसी राजमार्गसमेत जीर्ण छ। यसले गर्दा सवारी साधन सञ्चालनमा समस्या छ। झनै जथाभावी गुड्ने टेम्पो र सिटी सफारीका कारण यात्रुलाई ज्यान जोगाउनै मुस्किल छ।
यस्ता सवारी साधन चालकसँग अनुमतिपत्रसमेत पाइँदैन। न उनीहरू तालिमप्राप्त छन्। ट्राफिक प्रहरीले कारबाही गरे सवारी साधन सडकमा तेस्र्याएर आन्दोलन गर्छन्। ४ हजारभन्दा बढी टेम्पो र सिटी सफारीको अस्वस्थ प्रतिस्पर्धाका कारण सडकमा असुरक्षा बढेको सुनसरीका जिल्ला ट्राफिक प्रहरी प्रमुख होमराज दाहालले बताए। अधिकांश चालकसँग अनुमतिपत्र नभएको र तालिमप्राप्त नभएका कारण दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ। ‘स्थानीय सरकारले टेम्पो र सिटी सफारीको चाप तत्काल व्यवस्थापन नगरे दुर्घटनाको अवस्था भयावह हुनेछ’, उनले भने।
सवारी साधनको चापले धरान अस्तव्यस्त भएको भन्दै स्थानीयले तत्काल यसको व्यवस्थापन गर्न माग गरेका छन्। टेम्पो र सफारीका कारण जताततै जाम हुने गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अशोक ऐरले बताए। ट्राफिक नियमको ज्ञान नभएका चालकका कारण अन्य चालकलाई पनि असर पुगेको उनको ठम्याइ छ।
सफारी र टेम्पोले जथाभावी बाटो काट्ने, तीव्र गतिमा ओभरटेक गर्ने र जथाभावी पार्किङ गर्ने र रोक्ने गरेको स्थानीयको गुनासो छ। टेम्पो चालक विकेश श्रेष्ठले धरान उपमहानगरपालिकामा यसको नियन्त्रण गर्न अनुरोध गरे पनि वास्ता नगरिएको बताए। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका सचिवसमेत रहेका उनले धरानमा क्षमताभन्दा बढी सवारी साधन भित्रिएको सुनाए।
धरानका कार्यवाहक मेयर नरेश इवारमले टेम्पो र सफारी नियन्त्रणको प्रयास भइरहेको बताए। सबैलाई कानुनी दायरामा ल्याएर मात्र सडकको क्षमताअनुसारका सवारी साधन सञ्चालन गर्न अनुमति दिने तयारी भइरहेको उनको भनाइ छ।