घरेलु मदिरा नष्ट
स्याङ्जा : प्रहरीले घरेलु मदिरा उत्पादनमा कडाई गर्दै आएको छ। नियन्त्रणका क्रममा घरेलु उत्पादित मदिरा र कच्चा पदार्थगरी ६ सय ६५ लीटर मदिरा प्रहरीले नष्ट गरेको छ। चापाकोट नगरपालिकाका केही स्थानबाट नियन्त्रण लिइ मदिरा र मदिरा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्थानीयबासी, जनप्रतिनिधिको सहयोगमा नष्ट गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले इलाका प्रहरी कार्यालय रत्नपुर, प्रहरी चौकी चापाकोट, प्रहरी चौकी साँखर, प्रहरी चौकी मल्याङकोट तथा अतिरिक्त प्रहरी पोष्ट दामाचौरबाट ५ सय ६५ लीटर घरेलु उत्पादित मदिरा र एक सय लीटर कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए।
'समुदाय प्रहरी साझेदारी' कार्यक्रमको अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत चापाकोटमा घरेलु मदिरा उत्पादन अबैध रहेको भन्दै यस्ता कार्यलाई बन्द गर्ने उद्देश्यले सो अभियान संचालन गरिएको प्रहरीले जनाएको छ।