प्रविधिमैत्री बनाउन शिक्षकलाई कम्प्युटर तालिम
भोजपुर : किताबी ज्ञानका साथै प्राविधिक सीपले पनि शिक्षकलाई योग्य बनाउन पहिलोपटक स्थानीय सरकारले नयाँ नीति सारेको छ। भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले पहिलोपटक गाउँपालिका क्षेत्रका शिक्षकलाई प्रविधिमैत्री बनाउन आधारभुत कम्प्युटर तालिम प्रदान सुरु गरेको हो।
गाउँपालिकाले यसरी शिक्षकको आवश्यकता पहिचान गरी कितावी ज्ञानबाट बाहिर ल्याउँदै प्रविधिमैत्री बनाउन तालिम प्रदान गर्नु स्थानीय सरकारको शिक्षा क्षेत्रमा पहिलो सकरात्मक कदम बढेको शिक्षिक निता रुङमाङले सुनाइन्। 'किताबमा मात्र सैद्धान्तिक ज्ञान सिकाउँदा हामी नै अलमल हुन्छौं। प्रयोगात्मक रुपमा कसरी कम्प्युटर सिकाउने ज्ञान नहुँदा विद्यार्थी सिकाउनै मुस्किल हुने गरेको थियो,' उनले भनिन्, 'कम्प्युटरको ज्ञान नहुँदा कक्षामा पठनपाठन गर्न समस्या खेप्दै आएका छौँ । गाउँपालिकाले त्यसको समाधान पहिल्याइ दिएको छ।'
गाउँपालिकाका १, २, ३, ४ र ५ वडाका माध्यमिक तथा आधारभूत विद्यालयमा कार्यरत १६ शिक्षक शिक्षिकालाई गाउँपालिकाले कम्प्युटर तालिम दिएको हो। यसका साथै गाउँपालिकाले शिक्षकलाई कम्प्युटरसँगै सूचना प्रविधि सचेतना तालिम समेत दिएको छ। आधुनिक सूचना प्रविधिको युगमा शिक्षकलाई कितावी ज्ञानमात्र नभई नयाँ प्रविधिका क्षेत्रमा पनि पोख्त बनाउनुपर्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत दीपक खड्काले बताए। भन्छन्, 'किताबी सुगा रटाईले मात्र शिक्षाको गुणस्तर माथि उक्सिदैन। कम्प्युटरको युगमा प्रयोगात्मक प्रविधिको ज्ञानसीप अभाव शिक्षा लंडो बन्छ। यसैले केही प्रविधिका ज्ञानसिपका लागि शिक्षकलाई तालिम प्रदान गरेका हौँ।'
शिक्षकमा विषयवस्तु र शिक्षण कलाले मात्र नभएर प्राविधिक ज्ञान पनि अत्यावश्यक रहने गाउँपालिका प्रमुख ध्रुवराज राईले बताए। उनले यसरी प्रविधिमैत्री भएपछि शिक्षण सिकाइ क्रियाकलापलाई सूचना र प्रविधिसँग जोड्न सहयोग पुग्ने बताए। 'अबको युगमा प्रविधिको ज्ञान हुनु अतिआवश्यक छ। गाउँपालिकाको शैक्षिक सुधारका लागि पनि यो तालिम आयोजना गरिएको हो, 'उनले भने।
गाउँपालिकाको दोश्रो गाउँसभाले शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यले यसअघि कर्मचारी, जनप्रतिनिधीले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन नदिने निर्णय गरेको छ। उक्त निर्णय कार्यान्वयनको चरणमा रहेको गाउँपालिका प्रमुख राईले बताए।९ स्थानीय तहमध्ये टेम्केमैयुङ गाउँपालिकाले सुरु गरेको उक्त अभियानलाई अन्य गाउँपालिका र नगरपालिकाले पनि पछ्याउनुपर्ने शिक्षक बताउँछन्।
यता पौवादुम्मा गाउँपालिकाले पनि गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयहरूमा इ-हाजिरी व्यवस्थापन गरेको छ। गाउँपालिकाकाले २८ विद्यालयलाई कम्प्युटर, इन्भर्टरसहितको सोलार सेट र ई-हाजिरी वितरण गरेको हो।
गाउँपालिकाले बिजुली नपुगेका ११ विद्यालयलाई इन्भर्टरसहित १ सय वाटको सोलारका साथै एकथानको दरले कम्प्युटर र इ-हाजिरी दिइसकेको छ। यस्तै भोजपुर नगरपालिका र उत्तरी साल्पासिलिछो गाउँपालिकाले पनि आफ्ना क्षेत्रका सबै सामुदायिक विद्यालयमा इ-हाजिरी उपकरण जडान गर्न सुरु गरेको छ।