दुवै मिर्गौला फेल भएकी छोरीको उपचारका लागि वृद्ध आमाको याचना
विराटनगर : उमेरले नेटो काट्दै गर्दा चाउरी परेको अनुहार, सेतै फुलेका कपाल र गलेको शरीरले विराटनगर महानगरपालिका-१३ मा बस्दै आएकी ६० वर्षीय धनमाया तामाङ निक्कै पीडामा छिन् भन्ने प्रष्ट हुन्छ।
सुकुम्बासी जीवन बिताउँदै आएकी उनीमाथि ६ महिनादेखि अर्को पीडा पनि थपिएको छ। बिहान बेलुकाको छाक टार्न मुस्किल परिरहेका बेला कान्छी छोरी २५ वर्षीया पार्वती तामाङको दुवै मिर्गौला फेल भएपछि उनी थप तनाव बेहोर्दैछिन्। मिर्गौला बिग्रिएर २०७५ मंसिरबाट पार्वती थला परेकी हुन्।
छोरीको उपचारका लागि सबैसँग उनले सहयोगको अपिल गरेकी छन्।उपचारमा अहिलेसम्म डेढ लाख रुपैयाँ खर्च भइसकेको धनमायाले बताइन्। तर खर्च अभावमा बाँकी उपचार प्रभावकारी बन्न नसक्दा पार्वतीको स्वास्थ्य अवस्था दिनप्रतिदिन थप खराब बन्दै गएको छ।
छोरीको उपचारका लागि खर्च जुटाउन आमा धनमाया भने अर्काको घरमा जुठा भाँडा माझ्ने र घर सफा गर्ने काम गरिरहेकी छन्। सकिनसकी जुठा भाँडा माझेर र विभिन्न मजदुरी गरेर कमाएको पैसा छोरीको उपचारमा खर्च गर्दै आएकी छन्।
'मसँग छोरीको उपचार गर्न अहिले एक रुपैयाँ पैसा छैन।भएको पैसा पनि यसअघि नै सकिसके,' उनले भनिन्, 'विभिन्न व्यक्तिले गरेको ४० हजार सहयोगले थोरै राहत त मिल्यो। तर अहिले पैसा नहुँदा छोरीको नियमित उपचार गराउन सकिरहेकी छैन,' धनमायाले थपिन्, 'छोरी लामो समयदेखि ओछ्यान परेकी छ। उठ्नै सक्दिन। उसलाई बचाउन सक्छु 'कि भनेर अर्काको घरमा जुठा भाँडा माझ्ने र भेटेका सबै काम गर्ने गरिरहेकी छु।'
उनले चारवटा घरमा नियमित बिहान बेलुकाको जुठा भाँडा माझ्ने गरेको सुनाइन्।उनले भनिन्, 'एउटा घरबाट १५ सय जति दिन्छन्। त्यही रकम पनि छोरीको उपचारमा खर्च गर्न पुग्दैन।' विभिन्न ज्याला मजदुरी गरेर कमाएको रकम पनि छोरीकै उपचारान खर्च गर्दै आएको धनमायाले सुनाइन्।
उनका अनुसार छोरीको सातामा दुई पटक मिर्गौलाको डाइलासिस गराउनुपर्छ।पार्वतीको विराटनगरकै कोसी अस्पतालमा उपचार भइरहेको छ।दिनप्रतिदिन उनको स्वास्थ्यमा समस्या थपिदै गएको छ।धनमायाका श्रीमान् रामबहादुरको १२ वर्षअघि निधन भइसकेको छ।तीन छोरीमध्ये माइली लक्ष्मीको बिहे भइसकेको छ भने जेठी पूजा आमा धनमाया र बहिनी पार्वतीसँगै छिन्। उनी पनि बहिनीको उपचारका लागि आवश्यक खर्च जुटाउन आमालाई अर्काकै घरमा काम गरेर सहयोग गर्छिन्।
धनमायाले छोरीको उपचारमा सहयोग गरेर छोरीलाई बचाईदिन सबैलाई आग्रह गरिन्। 'म गर्न सकुन्जेल गरेर खान्छु,' उनले भनिन्, 'जसरी भए पनि छोरी बचाउन पाए हुन्थ्यो।' उनका अनुसार छोरीलाई औषधि वापतको खर्च, अस्पताल आउजाउ गर्न गाडी भाडा, रगतको व्यवस्थालगायतका लागि आर्थिक अभाव छ।
कोसीका वरिष्ठ फिजिसियन लक्ष्मीनारायण यादवले मिर्गौला पीडितको उपचार कोसी अस्पतालमा निशुल्क हुने भएपनि अन्य खर्च धेरै लाग्ने बताए। उनका अनुसार मिर्गौलाको समस्या भएकालाई बचाउनका लागि सातामा दुई पटक नियमित डाइलासिस गराउनुपर्छ।
रगतमा भएका फोहोर र शरीरमा अनआवश्यक कुराहरु यसमार्फत सफा गरेर बाहिर निकाल्नु पर्ने डा. यादवको भनाइ छ। 'डाइलासिस गर्न नसामा पाइप हाल्न एभी फिस्टुला बनाउनुपर्छ। यो कोसीमा बन्दैन,' उनले भने, 'एभी फिस्टुला बनाउन कम्तीमा १० हजार रुपैयाँ लाग्छ।कसैसँग त्यो पैसा पनि हुँदैन।' मिर्गौला पूरै फेल हुँदा चिकित्सकीय परामर्शमा नियमित डाइलासिस वा प्रत्यरोपणको विकल्प नहुने डा. यादवको भनाइ छ।