सुनसरीका सबै खोलामा उत्खनन बन्द
धरान : जनप्रतिनिधिहरूले मनोमानी ढंगले खोला उत्खननको ठेक्का लगाएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका सबै खोलामा उत्खनन गर्न प्रतिबन्ध लगाएको छ। सुनसरीका दर्जन बढी खोलामा लगाइएको ठेक्का सम्झौता भन्दा बढी मात्रामा खोला उत्खनन गरी प्राकृतिक श्रोत साधनको विनास हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि खोला उत्खनन बन्द गरेको हो।
जिल्ला प्रशासनले धरान उपमहानगरपालिकाको अधेरी, सेउती, सर्दु शेहरा खोलामा लगाइएको ठेक्का सम्झौता भन्दा बढी खोला उत्खनन गरी नदीजन्य पदार्थ ढुङ्गा, गिटी र बालुवा तस्करी गरिएको पाइएपछि खोला उत्खनन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले बताएका छन्। उनले सम्झौता भन्दा बढी खोला उत्खनन गरी दोहन गर्नु तस्करी भएको र ग्रैह कानुनी काम गरेको भन्दै खोला उत्खनन बन्द गरी छानविन थालिएको बताए।
त्यस्तै बराहा नगरपालिकाको बाघ, खोला, पटनाली खोला, इटहरीको बुढी खोला लगायतका स्थानमा खोला उत्खननमा व्यापक अनियमितता गरेको भेटिएपछि जिल्ला समन्वय समितिका सभापति गोपालराज भण्डारीको संयोजकत्वमा छानविन समिति गठन गरी खोला उतखननबारे छानबिन थालिएको छ।
भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन जनपथ प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अधिकृत सदस्य रहेको छानविन समितिले जिल्लाका सबै खोलामा भएको दोहन र तस्करीका विषयमा छानविन थालेको प्रजिअ उप्रेतीले बताए। उनले छानविन सकिए पश्चात सम्झौता भन्दा बढी खोला उत्खनन गर्ने ठेकेदार र ठेक्का लगाउने कार्यलयमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
जिल्ला समन्वय समितिका सभापति भण्डारीले जिल्लाका सबै खोलाको अनुगमन गर्दा सम्झौता भन्दा बढी खोला उत्खनन गरेको पाइएको बताए। उनले नियम विपरीत खोला उत्खनन गर्ने र गराउनेहरूलाई कानुनी दायरामा ल्याएर दण्डित गरिने बताए।
खोला उत्खननमा ठेक्का लिएका ठेकेदारहरूले गुण्डागर्दीमा संलग्न र विभिन्न फौजदारी अभियोगमा लागेका व्यक्तिहरूलाई प्रयोग गरी खोलामा स्काभेटर प्रयोग गरी खोला उत्खनन गरी नदीजन्य पदार्थको उत्खनन गरेका छन्। सुनसरीका विभिन्न स्थानीय निकायका जनप्रतिनिधिले हाल सम्म कहिल्यै ठेकका नलागेका खोला समेत ठेक्का लगाएका छन्। धरानका खोलामा प्रवत राई र तिलविक्रम नेम्बाङलाई प्रयोग गरेर ठेकेदार कम्पनी अपूश्रीले ३ फिट खोला उत्खनन गर्न पाएको अनुमतिलाई लत्याउदै ११ फिट गहिरोसम्म खोला उत्खनन गरेका छन्।
धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीले सम्झौता भन्दा बढी खोला उत्खनन गर्ने ठेकेदार विरुद्ध कडा कारबाही गर्ने बताएकी छन्।