‘स्कुलस्कुलमा’ बाल साहित्यकार
काठमाडौं : सिर्जना मञ्च नेपालको बालसाहित्यिक कार्यक्रम ‘स्कुलस्कुलमा’ को पाँचौं श्रृंखला न्यूरोडस्थित गणबहालमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालय सञ्चालन गरिएको छ ।
कार्यक्रममा बालसाहित्यकारहरू हरि खनाल, हरि पौडेल आत्रेय, उद्धव प्याकुरेल, छायादत्त न्यौपाने, सीता सुवेदी, दुर्गा रिमाल, बिनुबाबा घिमिरे, खेमलाल पोख्रेल र सोही विद्यालयकी शिक्षिका सुन्तली पौडेलले बालसाहित्यका विभिन्न विधाका सिर्जना वाचन गरेका थिए ।
कक्षा ६ देखि ८ मा अध्ययन गर्ने २२ बालबालिकाले पनि सिर्जना वाचन गरे । मञ्चका तर्फबाट खनालले स्कुलस्कुलमा कार्यक्रममा बालबालिकालाई सिर्जना सुनाउने र उनीहरूका पनि सिर्जना सुन्ने गरिएको जानकारी दिए ।
विनुबाबा घिमिरेले शुभ जन्मदिन शीर्षकको कविता वाचन गर्दै सो दिन जन्मदिन परेकी छात्रालाई उपहार प्रदान गरिन् । विद्यालयका प्रधानाध्यापक वरुण वैद्यको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा छिमेकी विद्यालयहरू क्रमशः बालसेवा माध्यमिक विद्यालय र नवयुवक माध्यमिक विद्यालयका प्रधानाध्यापक अंकुर दाहाल र चुडामणि शर्मासमेतको सहभागिता थियो ।