वन अधिकृतसहित २० विरुद्ध मुद्दा
काठमाडौं : सामुदायिक वनमा सालको रूख कटानीमा भ्रष्टाचार गरेको अभियोगसहित डिभिजन वन कार्यालय, हेटौंडा, मकवानपुरका तत्कालीन डिभिजनल वन अधिकृत प्रह्लादप्रसाद धितालसहित २० जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
सालका हरिया रूख काटी गोलिया हिनामिना गरेको गरेको आरोपमा उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो। सामुदायिक वनको काठ अवैधानिक रुपमा कटानी गरी २० लाखभन्दा बढी रकम बाँडेर खाएको अभियोग उनीहरुमाथि छ।
डिभिजनल वन अधिकृत धितालविरुद्ध १ करोड ६० लाख बिगोसहित ११ वर्षको कैद सजाय माग दाबी गरिएको छ। उनले १ करोड ५९ लाख हिनामिना गर्नुसाथै एक लाख घुस रिसवत लिएको आरोपपत्रमा उल्लेख छ। सहायक वन अधिकृत विशाल भट्टराई, सहायक वन अधिकृत टंकनारायण श्रेष्ठ, सहायक वन अधिकृत नारायणबहादुर कार्की, अवकाश प्राप्त सहायक वन अधिकृत मोहनबहादुर खड्का, सहायक वन अधिकृत राजेन्द्रमान राजभण्डारी, सहायक वन अधिकृत दशराम चौधरी, रेन्जर राजु लामा, फरेस्टर ब्रह्मदेव यादव र वन रक्षक देवीप्रसाद गौतमलाई प्रतिवादी बनाइएको छ। उनीहरुविरुद्ध १ करोड ५९ लाख बिगो र ८ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ।
होटल सामना प्रालिका सञ्चालक सानुकाजी आचार्य, सामना काष्ठ उद्योग गाईघाट, उदयपुरका सञ्चालक सुरज आचार्यविरुद्ध २ वर्ष कैद र १ करोड ५९ बिगो माग दाबी गरिएको छ। काठ ठेकेदार केशव भनिने इन्द्रमणि तिमल्सिनालाई १ करोड ७३ लाख बिगोसहित ६ वर्ष कैद सजाय माग दाबी गरिएको छ।
ब्रह्म सामुदायिक वन उपभोक्ता एवं सल्लाहकार जीवन भनिने भीमबहादुर थिङ, ब्रह्म आधारभूत विद्यालय, बकैया २ मकवानपुरका तत्कालीन प्रधानध्यापक राजन भनिने रामबहादुर घोरसाइनी, काठदाउरा संकलन गर्ने प्रयोजनका लागि गठित समितिका संयोजक बुद्धबहादुर लोप्चन, सदस्यहरू सोमबहादुर तिमल्सिना, सुर्जबहादुर जिम्बा भनिने सूर्यबहादुर जिम्बा, ब्रह्म सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मर्दनसिंह थिङ, कोषाध्यक्ष शुक्रबहादुर भ्लोनको योजना, मिलेमतो र संलग्नतामा हिनामिना भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनीहरुविरुद्ध १ करोड ५९ लाख बिगोसहित भ्रष्टाचार निवारण ऐनबमोजिम कैद सजाय माग दाबी गरिएको छ।
मकवानपुरको साबिक धियाल–२ हालको बकैया गाउँपालिका–२ स्थित ब्रह्म सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मर्दनसिंह थिङसहित ठेकेदार, वन समिति र वन कार्यालयसमेतको मिलेमतोमा अवैधानिक रूपमा ११ हजार १५४.४९ हजार क्यु फिट काठ कटानी आदेश दिएका थिए।
अख्तियारको अनुसन्धानका क्रममा ब्रह्म सामुदायिक वनमा ५३ प्रतिशत साल र ४७ प्रतिशत अन्य जातका रूख रहेकोमा साल जातका रूख मात्र हावाहुरीका कारण ढलापडा भनी छपान गरेको पाइएको छ। उक्त ब्रह्म सामुदायिक वनका रूखको औसत भोलुम १२ क्युबिक फिट रहेको तर २६२ वटा रूखको भोलुम ११ हजार २५१.४९ क्यु फिट देखिएबाट सालका रूख मूल्यवान हुने भएकाले साल जातको मात्र छपान तथा कटान गरिएको पाइएको छ।
अख्तियारको अनुसन्धानमा साल मात्रै ध्यान दिएर वनको व्यवस्थापनका लागि ढलापडा अन्य जातका रूखमा छपान नगरेको पाइएको छ। उक्त वनमा भएको अनियमितताको अनुसन्धान गर्ने क्रममा ३५ थान साँच्चिकै ढलापडा रुखको नाप लिँदा ७०० क्युफिट देखिएको आधारमा २६२ वटा रूखको जम्मा ५ हजार ३२० क्युफिटको हाराहारीमा हुनुपर्ने भए पनि छपान गर्दा ११ हजार २५१.४९ क्यु फिट गरिएको छ।
वन नियमावलीले निर्देशन गरेको समयअनुसार नगरेको, छपान निरीक्षण तहगत रूपमा तल्लो तहबाट गल्ती भए माथिल्लो तहबाट सुधार गुर्नपर्नेमा त्यस्तो नभएको पाइएको छ। क्षेत्रीय वन निर्देशनालय, हेटौंडा र डिभिजन वन कार्यालय, हेटौंडाबाट संयुक्त निरीक्षण गरेको भए तापनि खटिएका कर्मचारीले न्यूनतम प्रक्रिया पूरा गरेनन्।
कसविरुद्ध कति बिगो ?