बलिउड र राजनीतिको अन्तर सम्बन्ध

बलिउड र राजनीतिको अन्तर सम्बन्ध

रसीद किदवई

भारतको सन्दर्भमा राजनीति र सिनेमाबीच अन्तरंग सम्बन्ध रहँदै आएको छ। सन् १९२७ मा भारतीय छायांकन समिति (इन्डियन सिनेमाटोग्राफ कमिटी)ले महात्मा गान्धीलाई एउटा प्रश्नावली पठाएको थियो। तत्कालीन बम्बईको एउटा दैनिकले भारतीय सिनेमाको २५ वर्ष पुगेको अवसरमा गान्धीको सन्देश मागेको थियो। गान्धीका सचिव महादेव देसाईले सिनेमामा गान्धीको रुचि खासै नरहेको भन्दै प्रशंसाको आशा गर्नु उचित नहुने जवाफ पठाएका थिए।

तैपनि भारतीय सिने जगतमा त्यसबेलाका दादासाहेब फाल्केदेखि अहिलेका आमिर खानसम्मका काममा गान्धीवादको प्रभाव भने टड्कारो रहिरहेको छ। दिग्गज निर्माता निर्देशक बी शान्ताराम, महबुब खान, राज कपुरदेखि पछिल्ला पुस्ताका विधुविनोद चोपडाहरूका सिनेमामा गान्धीवादी विचारधारा मुख्य विषयवस्तु बन्दै आएको छ। अहिंसा, प्रेम र बलिदान, हिन्दू–मुस्लिम एकता, ग्रामीण–सहरी विभाजन, अपराध, व्यापारीकरणको अस्वीकृति, महिला मुक्ति र नैतिक पतनको भय उनीहरूका सिनेकाका कथावस्तु बनेका छन्।

वास्तवमा गान्धीलाई एक विशाल नैतिक ऊर्जाका रूपमा समाजमा उभ्याउन यी निर्माताका सिनेमा सशक्त माध्यम बनेका थिए। हुनसक्छ उनीहरूले आफ्नो विचारलाई त्यति महत्व दिएका छैनन् होला तर उनीहरूका सिनेमाले गान्धीको प्रभाव दर्शाएका थिए र दर्शाइ रहनेछन्।

६० को दशक र पृथ्वीराज कपुर

पृथ्वीराज कपुर भारतीय संसद्मा मनोनीत हुने बलिउडका पहिलो स्टार थिए। उनलाई कट्टर कांग्रेसी मानिन्थ्यो। जवाहरलाल नेहरुको विश्वासपात्र नै थिए। उनले नै मुम्बईमा स्थापना गरेको पृथ्वी थिएटरको माध्यमबाट समाजवाद र धर्मनिरपेक्षताको नेहरुवादी आदर्श उजागर गर्न सघाएका थिए। नेहरुले पनि कपुरको ख्यातीलाई ‘सांस्कृतिक कूटनीति’ का रूपमा सक्दो उपयोग गरेका थिए।

नेहरुले उनलाई प्रायःजसो विदेश भ्रमणमा जाने प्रतिनिधिमण्डलको नेतृत्व गर्न लगाउँथे। नेहरुले एकपटक जोसेफ स्टालिन (सोभियत क्रान्तिकारी तथा राजनीतिज्ञ, जसले सन् १९२० को मध्यदेखि १९५३ सम्म सोभियत संघको नेतृत्व गरे र कम्युनिस्ट पार्टी महासचिव रहे) सँग भेटघाटमा स्टालिनले उनीसँग राज कपुर (पृथ्वीराज कपुरका छोरा) र उनको फिल्म ‘आवारा’ बारे बारम्बार जिज्ञासा राखेका थिए। पछि नेहरुले पृथ्वीराजसँग सोधेका थिए, ‘यो आवारा भनेको के हो, जुन तिम्रा छोराले बनाएका छन्। स्टालिनले पूरा समय यसकै बारेमा कुरा गरिरहेका थिए।’ राज कपुरकी छोरी रितु कपुर (रितु नन्दा)ले नेहरुको भनाइ उद्धृत गर्दै यो प्रसंग उल्लेख गरेकी थिइन्।

सांसद हुँदा दिल्लीको इन्डिया गेट नजिकको प्रिन्सेज पार्कमा कपुरको घर थियो। संसद्को दैनिक बिहानी सत्र चलिरहँदा उनी कौसीमा बस्थे र आगन्तुकहरूसँग भेट गर्थे। उनले ४ वर्ष केन्द्रीय रेल्वे कामदार युनियनको अध्यक्ष भएर पनि काम गरे। रंगमञ्च तथा अन्य कलाकारका लागि रेल्वे भाडामा ७५ प्रतिशत छुट उनकै पहलमा लागू भएको थियो।

हिन्दू राष्ट्रवादी संगठन आरएसएस (राष्ट्रिय स्वयं सेवक संघ) २७ सेप्टेम्बर, १९२५ मा नागपुरमा स्थापनाको केही समयपछि यसका दोस्रो नेता एमएस गोलवाकरसँग एउटा यात्राका बेला पृथ्वीराजको विवाद भएको थियो। बम्बे ( हालको मुम्बई) र पुणेबीच खन्डाला रेल्वे स्टेसनमा दुवैको भेट भएको थियो। आरएसएसका केही समर्थक भडकाउ नारा लगाउँदै थिए। डिब्बामा प्रवेश गरेका पृथ्वीराजले गोलवाकरसँग उनका समर्थक अनुशासित बनाउन भन्दै लेक्चर नै दिए। ‘कुर्सी एउटा छ, यति धेरै मानिस बस्न चाहन्छन्। त्यसका लागि यति कुस्ताकुस्ती भइरहेको छ कि कतिपयको हड्डी नै भाँचिन सक्छ भने कुर्सी नै पनि धरासयी हुनसक्छ’, उनले भने, ‘राजनीतिमा अनुशासन अत्यावश्यक छ र तपाईंका समर्थकमा यसको कमी छ।’

अभिनेत्री जोहरा सहगल (उनकी बहिनी उज्मा मुमताज कपुरसँग अफेयरमा थिइन्) ले पृथ्वी थिएटरमा एउटा भीडले पठान नाटकको प्रदर्शन रोक्न धम्की दिएको स्मरण गरेकी छिन्। सन् १९९७ मा प्रकाशित एउटा पुस्तकमा यो घटनाबारे लेख्दै सहगलले कपुर कसरी त्यसबेला शान्त र संयमित रहेका थिए उल्लेख गरेकी छन्। मुस्लिमविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई कपुरले ‘लौ मुसलमान कलाकारलाई बाहिर निकाल’ नै भनेका थिए। बडो संयमित ढंगबाट उनले भनेका थिए, ‘मेरा लागि यी सबै कलाकार मात्र हुन्, तपाईंहरू मुसलमानलाई बाहिर निकाल्नुस्।’ तर प्रदर्शनकारीले त्यहाँ कोही मुसलमान भेटेनन्, सबै हिन्दू जस्ता देखिन्थे, सहगलले लेखेकी छन्।

हुन त कपुर नेहरुका कट्टर समर्थक थिए तर त्यसले उनलाई स्वतन्त्रता सेनानी सुभाषचन्द्र बोसको प्रशंसा गर्न कहिले रोकेन। उनले नेताजीको भारतीय राष्ट्रिय सेनाका सहयोगार्थ रकमसमेत जुटाएर सघाएका थिए। नेहरु–कपुर सम्बन्ध यति सहज थियो कि कपुरले नेहरुको आग्रह कहिलेकाहीं अस्वीकार पनि गरिदिन्थे। एउटा घटनाले उनीहरूबीचको सहजता प्रष्ट पार्छ। प्रधानमन्त्री नेहरुले एकपटक कपुरसँग भेट्न खोजे। उनले एक सरकारी अधिकारी कपुरको घर पठाए, डिनरमा निम्त्याउन। म थिएटरका कलाकार साथीसँग छु भन्दै कपुरले नेहरुको निम्तो अस्वीकार गरेका थिए। नेहरु पनि कला र सिनेमाका प्रेमी थिए। उनले यसलाई सहज रूपमा लिए र कपुरलाई फेरि अर्को दिन डिनरमा डाके।

एकपल्ट कलाकार, संगीतकार र चित्रकार सम्मिलित ६० जनाको समूह नेहरुको नयाँ दिल्लीस्थित तीनमूर्ति भवनस्थित निवासमा आए। उनीहरू सोझै नेहरुको निजी भोजनगृहमा पुगे। नेहरुले पनि उनीहरूको आतिथ्यमा कुनै कमी गरेनन्, उनीहरूलाई आफ्नो संग्रहालय घुमाए, अनि विदेश पाहुनाबाट पाएका उपहारसमेत अवलोकन गराएका थिए। कपुरका काकाका छोरा धरमचन्द सेठका अनुसार, नेहरु–कपुरबीच अटुट विशेष सम्बन्ध थियो। ‘मैले एकपल्ट पंडितजीले पापाजी (कपुर)सँग तपाईं मसँगै हिँड्दा म ऊर्जा पाउँछु भनेको सुनेको थिएँ’, उनले भनेका छन्।

सहगलको पुस्तकमा नेहरुले कसरी कपुरलाई विदेश भ्रमण गर्ने भारतीय प्रमण्डलको नेतृत्व गर्न लगाउँथे भन्ने उल्लेख छ। ‘पृथ्वीराजजीले कहिलेकाहीं थिएटर व्यस्तताका कारण भ्रमणमा जान अस्वीकार पनि गर्नुहुन्थ्यो। तर पंडितजीले कपुरको थिएटरप्रति लगाव र भूमिका बुझ्दैनथे। उनले कपुरलाई धोका दिएका थिए’, सहगलले पुस्तकमा उल्लेख गरेकी छन्। स्वतन्त्रतापछिको करिब १७ वर्षको शासनकालमा (सन् १९४७–१९६४) नेहरु राजनीतिक झुकाव राख्ने सिनेमा निर्मातासँग नजिक थिए। उनको सोहराव मोदी, पृथ्वीराज कपुर तथा उनका छोरा राज कपुर, महबुब खान, दीलिपकुमार, नर्गिस दत्तलगायत धेरै कलाकारसँग निकटता थियो।

युद्ध तथा सांस्कृतिक कूटनीतिअन्तर्गत यी कलाकार भारतीय सशस्त्र बललाई आर्थिक सहायता जुटाउनेलगायत सामाजिक काममा संलग्न हुन्थे। सन् १९६२ को भारत–चीन युद्धपछि भारतीय सशस्त्र बलको आर्थिक सहायताका लागि आयोजित कार्यक्रममा लता मंगेशकरले ‘ए मेरे वतनके लोगों’ गीत गाउँदा नेहरु कसरी रोएका थिए, यसबारे हामी सबै जानकार नै छौं। सोही समयमा उनका निकट सहयोगी वीके कृष्णा मेनन्उत्तरी बम्बेबाट चुनाव लडिरहेका थिए, नेहरुले कपुरसँग सहयोग मागेका थिए। मेनन्का कैयौं चुनावी सभामा कपुरले सम्बोधन गरे र मेनन्ले सहजै चुनाव जिते।

अहिलेको सन्दर्भ

आज परेश रावल, अनुपम खेर, रविना टंडन, हेमामालिनी तथा रजनीकान्तलगायत सिनेमा निर्माता मधुर भण्डारकर, विवेक अग्निहोत्री जस्ता ख्यातिप्राप्त कलाकार र निर्माता प्रधानमन्त्री नरेन्द्र मोदीको आवाज तथा उनको जुझारु समर्थक बनेका छन्। अभिनेताबाट राजनेता बनेका विगतका कलाकार र अहिलेका कलाकारको शैलीमा भने वास्तवमै विरोधाभास देखिएको छ। कद, विचारधारा र शैलीमा मोदी नेहरुभन्दा करिब सबै दृष्टिकोणाट निकै फरक छन् तर उनी राजनीति र सामाजिक अभियानमा कलाकारको ठूलो जमातलाई साथ लिएर राजनीतिक उपयोग गर्ने मामिलामा भने नेहरु जस्तै सफल देखिएका छन्।

मोदीले पनि उनको राजनीतिक सन्देश जनतासम्म पु¥याउन अहिलेको युगमा एक्लैले सम्भव नहुने राम्ररी बुझेका छन्। २०१४ मा सत्ता सम्हालेलगत्तै मोदीले आफ्नो ड्रिम प्रोजेक्ट ‘स्वच्छ भारत अभियान’ लाई कैयौं सिनेमा हस्तीले मूलमन्त्र नै बनाएर अघि बढाएको पनि देखिएको छ। मोदीले सिनेमाका ९ जना हस्तीलाई स्वच्छता अभियानमा सहभागी हुन डाकेका थिए। जसमा प्रियंका चोपडा, सलमान खान, कमल हासन र आमिर खानलगायत थिए। मोदीले सबैसँग थप ९ पहल गर्न आग्रहसमेत गरेका थिए। मोदीसमर्थक कैयौं फिल्मी हस्तीले उनको राष्ट्रवाद र धार्मिक असहिष्णुताबारे चलिरहेको वैचारिक बहसलाई समर्थन गरेका थिए।

 (भारतीय सिनेमा क्रिटिक्स तथा लेखक रसीद किदवईद्वारा क्वार्ज इन्डियाका लागि लेखिएको लेखको भावानुवाद। अनुवादकः आशा थपलिया

किदवई ‘नेता अभिनेता–भारतीय राजनीतिमा बलिउड स्टार’ पुस्तकका लेखक हुन्। उनी अब्जर्भर रिसर्च फाउन्डेसन तथा न्युज १८ का भिजिटिङ फेलो पनि हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.