‘अप्पन’ ले जित्यो दुई लाख

‘अप्पन’ ले जित्यो दुई लाख

काठमाडौं : नेपाली सेनाद्वारा आयोजित लघुचलचित्र प्रतियोगितामा कृष्णकुमार महतोको चलचित्र ‘अप्पन’ ले पहिलो स्थान हासिल गरेको छ। गगनकुमार श्रेष्ठको ‘चाहना’ दोस्रो र प्रद्युम्न मि श्रको ‘हातेमालो’ तेस्रो भयो। यस्तैगरी महेश्वर सम्बाहाम्फे र गणेशजंग रावलले निर्माण गरेको ‘त्याग’ र शम्भु थापाको ‘साहस’ ले सान्त्वना स्थान हासिल गरेका छन्।

विजयी प्रतियोगीलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नगद पुरस्कार र प्रशंसापत्रले प्रदान गरेका थिए। नगद पुरस्कार स्वरूप पहिलो, दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः दुई लाख, एक लाख ५० हजार, एक लाख रुपैयाँ प्रदान गरिएको थियो। यस्तै सान्त्वना पुरस्कारस्वरूप २५ हजार रुपैयाँ प्रदान गरिएको थियो। कार्यक्रममा सेनासम्बन्धी विभिन्न जानकारी लिन सकिने मोबाइल एप्सको शुभारम्भ पनि गरिएको थियो। यसका साथै नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही’ र शिवपुरी जर्नलमा प्रकाशित भएका उत्कृष्ट रचनालाई पनि पुरस्कृत गरिएको थियो।

लेख रचनामा प्रथम स्थान हासिल गरी महासेनानी रञ्जित थापाले ५० हजार रुपैयाँ, प्रमुख सेनानी शिवराज पन्त दोस्रो भई ३५ हजार रुपैयाँ र चिरञ्जीवी भण्डारीले तृतीय स्थान हासिल गरी २५ हजार रुपैयाँ प्राप्त गरेका छन्। सात जना लेखकले सान्त्वना स्थानसहित जनही १० हजार रुपैयाँ प्राप्त गरे।

प्रथम स्थान हासिल गरेको लघुचलचित्र अप्पनले तराईको परिवेश उठान गरेको छ। नेपाल पितृ सत्तात्मक मुलुक हो। केही वर्षअघिसम्म नेपाली सेनामा महिला प्रवेश गर्न पाउँदैनथे। अहिले हरेक ठाउँमा महिलाको उपस्थितिलाई वैधानिकता दिइएको छ। तराईमा बसोबास गर्ने अधिकांश समुदायमा महिलाले घरभित्रको काम सम्हालेको देखिन्छ। मधेसको कुनै गाउँमा जन्मेकी एक युवतीले सेनामा जागिर खान गरेको सामाजिक संघर्ष र उनले पाएको सफलतालाई अप्पनले देखाउन खोजेको छ। छोरीलाई दुई, चार कक्षा पढाउने र छिटो बिहे गरेर पठाइदिने चलन आज पनि समाजमा व्याप्त छ।

गाउँमा हुर्केकी अञ्जु सानैदेखि नेपाली सेना बनेर देशको सेवा गर्न चाहन्थिन् तर उनका बुवा भने बिहे गरिदिएर जिम्मेवारीबाट मुक्त हुन चाहन्थे। ऊ बुवाको कुरा नसुनेरै नेपाली सेनामा आवेदन दिन्छे। शारीरिक करसतका लागि दौडिँदा होस् कि रूख चढेर उफ्रिँदा होस् समाजका गन्यमान्यले कुरा काट्छन्।

छोरीलाई बिगारेको भनेर उसको परिवारलाई नराम्रो व्यवहार गर्छन्। तर उसले नाम निकालेरै छाड्छे। उसको साहस र हिम्मतलाई गाउँका अरू युवतीले पनि तारिफ गर्छन्। नेपाली सेनामा पनि उसले राम्रो प्रस्तुति दिन्छे। चलचित्रमा मधेसी समुदायको दैनिकी, जीवनशैली र संस्कार सुन्दर तरिकाले प्रस्तुत गरिएको छ।

दोस्रो स्थान पाउने ‘चाहना’ लघुचलचित्रमा नेपाली सेनाको पारिवारिक घटनालाई देखाउन खोजिएको छ। राष्ट्रको सेवा गर्ने क्रममा ज्यान गुमाएका सैनिकका छोरामा पनि सेनाप्रति गहिरो विश्वास छ। जेठी छोरी सैनिक अधिकृत बनेर शान्ति मिसनमा जान्छे। लडाइँको दौडानमा वीरगति प्राप्त गर्छ। छोराको पीरले आमाले होस् गुमाउँछिन्। कान्छो छोरामा पनि सैनिक बन्ने ठूलो चाहना छ। उसले निकै मेहनतका साथ आफ्नो चाहना मूर्तरूप दिन्छ।

तेस्रो स्थान पाउने हातेमालो चलचित्रले नेपाली सेना र गाउँले बीचको सम्बन्ध उठान गरेको छ। युद्धकालमा सेनाप्रति सकारात्मक नभएका गाउँलेलाई पुनः समन्वय गरी सेनासँग सहकार्य गर्न आग्रह गरिएको थियो। गाउँलेको मुखियाले जंगली जनावरको सिकार गर्ने, जडीबुटी आफूखुसी बेचेर सरकारी सम्पत्ति गलत प्रयोग गर्देै आएको छ। गाउँमा सेनाको ब्यारेक स्थापना हुने भएपछि उसलाई छटपटी भएको छ। सेनालाई गाउँमा आउन दिनु हुन्न भन्दै गाउँले भड्काउँदै हिँड्छ। सेनाका अफिसरले गाउँलेको भेला राखेर सेनाले स्थापनाकालदेखि नै जनताको पक्षमा काम गर्दै आइरहेको बताउँछन्। उनी भन्छन्, ‘जनताको स्कुल बनाउने, बाटो निर्माण गर्ने, प्राकृतिक विपत्तिमा जनताको जिउ, धनको सुरक्षा गर्नेलगायतको काम गर्दै आइरहेकाले गाउँले हामीसँग हातेमालो गर्नुपर्छ।

सान्त्वना स्थान हासिल गर्ने त्याग र साहस लघुचलचित्रले पनि नेपाली सेनाको काम, इज्जत र जोखिमका विषयमा सन्देश प्रवाह गरेको छ। सेनाको जागिर भनेको व्यक्तिगतभन्दा पनि राष्ट्रप्रति बढी जिम्मेवार काम भएकाले घरपरिवारले पनि बुझिदिनुपर्ने आग्रह प्रदर्शित चलचित्रमा गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.