किन सुनिन्छन् कन्हैया कुमार ?

किन सुनिन्छन् कन्हैया कुमार ?

३ मार्च २०१६, को साँझपख, दिल्लीस्थित जवहारलाल नेहरू युनिभर्सिटी (जेएनयू) मा आजादीको नारा जबर्जस्त घन्कियो। भीडहरूलाई सम्बोधन गर्दै एउटा युवक भन्दै थियो, ‘हामीलाई भारतसँग होइन भारतमा आजादी’ चाहियो। करिब पचास मिनेट लामो आजादीको भाषणले बिहारको दुर्गम जिल्ला वेगुसराईको गरिब परिवारको एक युवकलाई एक्का एक ‘मेडिया स्टार’ बनायो। मोदी सत्तालाई चुनौती दिने उसको दमदार भाषण हर टेलिभिजन च्यानलको प्राइम टाइमको हेडलाइन बन्यो। उसलाई कसैले नायकका रूपमा त कसैले खलनायकका रूपमा प्रस्तुत गरे। त्यो युवक थियो कन्हैया कुमार।

को हुन कन्हैया कुमार ? कन्हैया, बिहार राज्यको वेगुसराई जिल्ला, विहात गाउँमा जन्मिएका गरिब परिवारका ३२ वर्षीय युवा हुन्। उनका पिताको निधन भइसकेको छ, आमा गाउँकै शिशु स्याहार केन्द्रमा काम गर्छिन् भने उनका दाइ आसामको एक कम्पनीमा कार्यरत छन्। गाउँको विद्यालयमा, छैटौं कक्षा, रामरतन कलेजबाट विज्ञानमा बाह्रौं कक्षा र पटनास्थित नालान्दा खुला विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तरको शिक्षा सकेपछि उनी नयाँदिल्ली गए। सन् २०११ मा जवाहरलाल विश्वविद्यालयद्वारा विद्यावारिधिका लागि लिइएको प्रवेश परीक्षामा एक नम्बरमा नाम निकाले। ‘द प्रोसेस अफ डिकोलोनाइजेसन एन्ड सोसल ट्रान्सफरमेसन इन साउथ अफ्रिका’ सम्बन्धमा अध्ययन सुरु गरी गत फेब्रुवरी महिनामा पीएचडीको उपाधि हाँसिल गरे।

बिहारको लेनिनग्राड मानिने वेगुसराई र मिनी मस्को भनेर चिनिने विहातमा जन्मिएका कन्हैया कुमारमा स्कुले जीवनदेखि नै वामपन्थी विचारधाराको प्रभाव थियो। स्कुले जीवनमा उनी प्रगतिशील सांस्कृतिक समूह इन्डियन पिपल्स थियटर एसोसिएसनसँग आबद्ध भएर नाटक खेल्थे र विभिन्न सांस्कृतिक गतिविधिमा भाग लिन्थे। पटनामा स्नातक अध्ययन गर्दा विद्यार्थी राजनीतिमा सक्रिय रहे र जेएनयूजस्तो प्रसिद्ध विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा विजयी भए। राजनीतिक पृष्ठभूमिमा हुर्किएका र जेएनयूजस्तो विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्ष भइसकेका कन्हैयाले राजनीति नै करियर बन्ला भन्ने सोचेका थिएनन्। उनलाई लाग्थ्यो प्रोफेसर हुनेछन् र स्कलरका रूपमा परिचय बनाउनेछन्। तर मोदी सत्ता र मेडियाले उनलाई राजनीतिबाट पर भाग्न दिएन।

१२ फेब्रुवरी २०१६, कन्हैयाको जीवनको टर्निङ पोइन्ट बन्न पुग्यो, जब प्रहरीले उनीलगायत अन्य तीनजना साथीहरूलाई देशद्रोहको आरोपमा गिरफ्तार गर्‍यो। फेब्रुवरी ९ मा, विश्वविद्यालय प्रशासनको अनुमतिविना नै डेमोक्र्याटिक स्टुडेन्ट युनियनका पूर्व विद्यार्थीले अफजल गुरुको फाँसीको विरोधस्वरूप एक कार्यक्रम गरेका थिए। २००१ मा संसद् भवनअगाडि भएको बम हमलाको दोषी मानिएका अफजल गुरुलाई सन् २०१३ मा गोप्य तवरले फाँसी दिइएको थियो। फेब्रुवरी ९ मा भएको घटनामा कन्हैयाको सहभागितामा विद्यार्थीहरूले देशविरोधी नारा लगाएको आरोप लगाउँदै उनका साथीहरू अनिरवान भट्टाचार्य र ओमर खालिदलाई पक्राउ गरिएको थियो।

विश्वविद्यालय प्रशासन र दिल्ली सरकारले गठन गरेको जाँचबुझ समितिले कन्हैयालाई दोषी भेट्टाएन। देशविरोधी भनिएको नारा, मास्क लगाएका विश्वविद्यालयबाहिरका सहभागीहरूले लगाएको र भिडियोलाई डक्टर्ड गरी तयार गरिएको निष्कर्ष निकाल्यो। कन्हैया मार्च २ मा जमानतमा रिहा भए र तीन वर्षसम्म दिल्ली पुलिसले उनीविरुद्ध चार्टसिट दायर गर्न सकेको छैन। फेब्रुवरी ९ को कार्यक्रममा आफू सहभागी नभएको र उक्त घटनामा लगाइएको भनिएको नारासँग आफ्नो सहमति नरहेको कन्हैयाले बताउँदै आएका छन्। आफूहरूले हैदराबाद विश्वविद्यालयमा भएको रोहिथ बेमुलाको विवशतापूर्ण आत्महत्या, विश्वविद्यालयले प्रदान गर्दै आएको फेलोसिपलाई सरकारले गरेको कटौतीलगायत विभिन्न शैक्षिक र सामाजिक मुद्दामा आवाज उठायौं त्यसैले आफूलाई मात्र नभएर सरकारले जेएनयूलाई नै सफ्ट टार्गेट गरेको बताउँदै आएका छन्।

कन्हैया एक साहसी युवा हुन्। उनलाई अदालत बाहिर उद्दण्ड भीडले र अदालतभित्र वकिलहरूले नै हमला गरे। उग्र दक्षिणपन्थी समूह नवनिर्माण सेनाको उत्तरप्रदेशका अध्यक्ष अमित जैनले जेएनयूभित्र घुसेर कन्हैयाको हत्या गर्ने स्टाटस फेसबुकमार्फत जारी गरे। २०१६, अप्रिल महिनामा मुम्बईबाट पुणे यात्रा गर्दा जहाजभित्रै सँगैको सिटको यात्रीले हातपात गरे। आफूलाई मार्ने धम्कीका विरुद्धमा बोल्दै कन्हैया भन्छन्, मलाई मार्न सक्छौ तर तर्साउन सक्तैनौ। मलाई मार्न अघि रोहिथ बेमुलालाई सम्झ, एउटा रोहिथ बेमुला मरेपछि हजारौं रोहिथ जन्मे झैं एक कन्हैया मर्‍यो भने पनि धेरै कन्हैया जन्मिने छन्।

३ मार्च २०१६ को आजादी भाषणपछि कन्हैया, सामाजिक सञ्जालमा धेरै खोजिए। टीभी च्यानलहरूले आयोजना गर्ने कन्क्लेभ, विश्वविद्यालयले आयोजना गर्ने डिबेट, लिटरेचर फेस्टिभल र संघसंस्थाले आयोजना गर्ने फोरममा वक्ताका रूपमा बोलाइए। जसले उनलाई सुने वाह कन्हैवा वाह भन्न थाले। तथ्यगत विश्लेषण, तर्कशील विचार र सरल प्रस्तुतिले उनी भारतभित्र मात्र नभई बाहिर पनि लोकप्रिय भएका छन्।

किन सुनिन्छन् कन्हैया ? कन्हैया एक आवाज हुन्। जुन आवाजले सामाजिक, आर्थिक र राजनीतिक हैसियतले पछाडि पारिएका आमनागरिकको प्रतिनिधित्व गर्छ। अन्याय, असमनता, अशिक्षा, बेरोजगार र अत्याचारविरुद्ध आवाज उठाउन अभिप्ररित गर्छ। जुन आवाजले सत्ता र संस्थापनले अल्पसंख्यकविरुद्ध गरेको दमनप्रति प्रश्न गर्न हौसला दिन्छ। जसले संस्थापनविरुद्ध उल्टो धारमा बग्न सिकाउँछ।

कन्हैया राजनीतिको विकल्प होइन, वैकल्पिक राजनीतिको वकालत गर्छन्। उनी भारतीय कम्युनिस्ट पार्टीका सदस्य हुन्। पुँजीवाद अँगालेको चिनियाँ कम्युनिस्ट पार्टी होस् या तानाशाही व्यवस्थाअन्तर्गतको उत्तर कोरियाली कम्युनिस्ट सत्ता होस्, उनीहरूलाई कम्युनिस्ट मान्दैनन्। कम्युनिस्टहरूले भन्ने गरेको रिभोलुसनलाई, विचारको इभोलुसन भन्छन्, जुन परिवर्तन, परिमार्जन र परिष्कृत भइरहन्छ। उनी साम्यवादलाई मानवतावादको सर्वोत्कृष्ट रूप मान्छन्। साम्यवादमा प्रजातन्त्रको अपरिहार्यता स्विकार्छन्। कन्हैया लेनिन र भगत सिंहलाई क्रान्तिका नायक, महात्मा गान्धी र बाबा साहव भीम राव अम्बेडकरलाई आदर्श व्यक्तित्व र रोहिथ बेमुलालाई प्रेरणाको स्रोत मान्छन्। उनी विद्यामान समाज परिवर्तनका लागि गान्धी, भगत सिंह, अम्बेडकर र लेनिन सबैको आइडोलोजीको आवश्यकता रहेको जिकिर गर्छन्। उनी धर्मका कारण समाजमा हिंसा र असमानता फैलिने नभई शासक वर्गले हिंसा र असमानता फैलाउन धर्मको सहारा लिने गरेको बताउँछन्। राष्ट्रवाद झन्डा र प्रतीकले नभई नागरिकको भावनाले प्रतिनिधित्व गर्ने बताउँछन्। जुन बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक तथा बहुजातीय पहिचानले सम्बोधन गर्ने बताउँछन्।

दलितका सम्बन्धमा कन्हैया भन्छन्, दलित जात नभई पहिचान हो। समाजमा जो पीडित छन् अत्याचार भोगिरहेका छन्, ती सबै दलित हुन्। समाजमा रहेका साना किसान, मजदुर, सीमान्तकृत, अति सीमान्तकृत, जो वर्गीय र जातीय हिसाबले दमित छन् भने ती दलित हुन्। एकले अर्कोप्रति गर्ने दमन शासकीय सोचबाट प्रेरित हुन्छ ताकि समाजलाई विभाजन गरेर शासन गर्न सकियोस्। दलित शब्द पहिचान बनिसकेको अवस्थामा जातीय मात्रै नभई आर्थिक सवाललाई पनि समाहित गरेर नीलो झन्डा र रातो झन्डासँगै बोक्नुपर्ने मत राख्छन्। त्यसैले आफूले जय भीम र लालसलाम सँगै भन्ने गरेको बताउँछन्।

लोकतन्त्रका सम्बन्धमा कन्हैया भन्छन्, फगत निर्वाचनमा भाग लिनु, मतदान गर्नु र नेता चुन्नु मात्रै लोकतन्त्र होइन। लोकतन्त्रको पहिलो एकाइ व्यक्ति स्वयं, दोस्रो एकाइ, परिवार र तेस्रो एकाइ समाज हो। समाजमा राजनीतिको अभ्यास हुन्छ। जब व्यक्ति स्वयं लोकतान्त्रिक हुँदैन भने समाज लोकतान्त्रिक हुँदैन र उक्त समाजमा स्थापित राजनीतिक पद्धतिले लोकतान्त्रिक बाटो लिन सक्तैन। लोकतन्त्रले असहमतिलाई निषेध गर्दैन।

भाषण र विचारले धेरैको मन जितेका कन्हैया अब जिम्मेवारी बहन गर्न चाहन्छन्। सडकबाट मोदी सत्ताको झूटको पुलिन्दालाई चुनौती दिएका कन्हैया संसद्मा गएर मोदीसँग आँखामा आँखा जुधाएर प्रश्न गर्न चाहन्छन्, मोदीजी तपाईंले लेनिन र स्टालिनको कुरा गर्नुभयो तर हिटलरको कुरा किन गर्नुभएन ? त्योभन्दा बढी शोषितपीडित जनताको आवाजलाई लिएर संसद् छिर्न चाहन्छन्। त्यसैले उनी आफ्नै गृहजिल्ला बेगुसराईबाट भारतीय कम्युनिस्ट पार्टीको (भाकपा)उ म्मेदवार भएर निर्वाचन लडेका छन्। मतदान भइसकेको छ र जनताको निर्णय मतपेटिकामा बन्द छ।

जब व्यक्ति स्वयं लोकतान्त्रिक हुँदैन भने समाज लोकतान्त्रिक हुँदैन र उक्त समाजमा स्थापित राजनीतिक पद्धतिले लोकतान्त्रिक बाटो लिन सक्तैन।

निर्वाचनअघि धेरैलाई लागेको थियो– कन्हैया कांग्रेस नेतृत्वको महागठबन्धनका साझा उम्मेदवार हुनेछन्। तर महागठबन्धनको क्षेत्रीय साझेदारी दल लालु यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी) ले असहमति जनायो। कन्हैयाको उम्मेदवारीले लालु यादवका छोरा तेजस्वी यादव (जो उम्दा नेताको रूपमा उदाउँदै छन्) छायाँमा पर्ने डरले महागठबन्धनले पुराना नेता तन्विर हसनलाई उम्मेदवार बनायो। कन्हैयाले भाकपाको तर्फबाट उम्मेदवारी दिए।

मतदाताका बीचमा कन्हैया नेता भएर होइन, बेटा भएर प्रस्तुत भए। भोटभन्दा पनि आशीर्वाद मागे। जात र धर्मका आधारमा होइन, विकासका मुद्दा र संविधानका पक्षमा आफूलाई सहयोग गर्न आह्वान गरे। क्राउड फन्डिङबाट निर्वाचन खर्च उठाए। निर्वाचन प्रचारका लागि जेएनयूबाट उनका साथीहरू आफ्नै खर्चले आएर निर्वाचन अवधिभर सहयोग गरे। गुजरात विधानसभाका सांसद तथा चर्चित युवा नेता दलित मुक्तिका अभियन्ता जिगनेस मेवानी निर्वाचन अवधिभर प्रचारप्रसारमा खटे। बलिउडका मसहुर गीतकार जाभेद अख्तर, प्रसिद्ध नायिका सवना अज्मी, दक्षिण भारतीय अभिनेता प्रकाश राज, बलिउडकै अर्की नायिका स्वरा भास्कार, विश्लेषक तथा आम आदमी पार्टीका नेता योगेन्द्र यादव तथा भाकपाका महासचिव सीताराम यचुरीले समेत कन्हैयाका चुनावी सभालाई सम्बोधन गरे।

कन्हैयाको आवाजले के अर्थ राख्छ ? भाजपा उग्र दक्षिणपन्थी विचारधारालाई प्रतिनिधित्व गर्छ, जो सधैं हिन्दु राष्ट्रवाद, हिन्दुत्व र हिन्दु राष्ट्रको कुरा गर्छ। त्यसमाथि अम्बानी र टाटाजस्ता ठूला कर्पोरेट घरनाको समर्थन छ। उग्र दक्षिणपन्थी धारको सत्तासीन राजनीतिक शक्ति र कर्पोरेट घरनाको निकटताले तीव्र रूपमा सामाजिक र आर्थिक ध्रुवीकरण निम्त्याउँछ। भाजपाको तथाकथित सांस्कृतिक राष्ट्रवादले साम्प्रदायिकतालाई बढावा दिएको र सरकारको कर्पोरेटमैत्री व्यवहारले गरिब किसानलाई भन्दा धनी वर्गलाई फाइदा पुगेको आम विश्लेषण छ। भाजपाको सरकार पुन आएको खण्डमा सरकारको अनुदार चरित्र र भाजपाको अलोकतान्त्रिक गतिविधिविरुद्ध संसद् भवनभित्र कन्हैयाले उठाउने आवाजले महत्त्वपूर्ण भूमिका खेल्नेछ। कांग्रेसक नेतृत्वकै सरकार आएमा पनि उनले जनताका पक्षमा रचनात्मक भूमिका खेल्न सक्नेछन्। त्यसैले लिबरल खेमाका बौद्धिक वर्ग, सञ्चारकर्मी, कलाकार तथा राजनीतिकर्मी कन्हैयाको लोकसभा प्रवेश चाहन्छन्।

निर्वाचनपछिको सर्वेक्षणमा कन्हैया भाजपाका उम्मेदवार गिरिराज सिंहभन्दा अघि रहेका बताइएको छ। चुनावको अंकगणितले हार वा जितको जस्तो फैसला गरे पनि कन्हैयाले गरिब, किसान, मजदुर, अल्पसंख्यक र युवापिँढीको मन जितिसकेका छन्। उनी राष्ट्रिय स्तरको राजनीतिक पात्रका रूपमा स्थापित भइसकेका छन्। भोलिका दिनमा उनको राजनीतिक धार र धरातलले कुन दिशा लिन्छ भोलिले नै बताउला, आजको अवस्थालाई हेर्ने हो भने उनी राजनीतिका मिनी पाठशाला भइसकेका छन्। कर्पोरेटको पैसाले चुनाव जितेर उनीहरूकै दलाली गर्ने नेता र तिनका अन्धभक्त कार्यकर्ता, क्रान्तिका नाममा विचारलाई पाखा लगाएर हिंसा रोप्ने तथाकथित क्रान्तिकारीहरू, धर्म र जातका नाममा राजनीति गरेर साम्प्रदायिकता फैलाउन खोज्ने समूह, कथित राष्ट्रवादका पथिकहरू तथा राजनीतिमा इच्छा राख्ने युवा जमातले कन्हैयाबाट केही न केही सिक्न सक्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.