साइबर आक्रमणको जोखिममा अमेरिका, ट्रम्पद्वारा संकटकाल घोषणा
एजेन्सी : अमेरिकामा ठुलो साइबर आक्रमण हुने आशंका गरिएको छ। आक्रमणलाई रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबर संकटकालको घोषणा गरेका छन्।
ह्वाइट हाउसले जारी गरेको वक्तव्यलाई आधार बनाएर बीबीसीले अमेरिकाका कम्युटरलाई ह्याकरबाट बचाउन ट्रम्पले उक्त संकटकालको घोषणा गरेका बताएको छ। अब अमेरिकी कम्पनीहरूले विदेशी टेलिकम कम्पनीद्वारा उत्पादित उपकरण खरिद गर्न पाउने छैनन्।
ट्रम्पको उक्त वक्तव्यमा भनिएको छ,'सक्रिय र बढ्दो रूपमा सूचना प्रविधि पूर्वाधार र सेवाको क्षेत्रमा रहेका कमीकमजोरीहरूको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वीहरूको प्रभावबाट अमेरिकालाई बचाउने छ।'
अमेरिकाले आफ्ना सङ्घीय निकायहरूलाई ह्वावे उत्पादन प्रयोग गर्नबाट बर्जित गरिसकेको छ। उसले आफ्ना मित्र शक्तिहरूलाई पनि ह्वावेका उत्पादन प्रयोग नगर्न भनेपछि अस्ट्रेलिया र न्युजिल्याण्डले आफ्ना फाइभ जी सञ्जालहरूमा ह्वावेका उत्पादनहरूको प्रयोग रोकिसकेका छन्।
ह्वावेले चाहिँ अमेरिकाको आरोपहरूको कडा प्रतिवाद गर्दै आएको बीबीसीले जनाएको छ। यसैबीच ह्वावेका अध्यक्ष लियाङ ह्वाले मङ्गलवार लण्डनमा भएको एक बैठकमा आफ्नो कम्पनी विभिन्न सरकारहरूसँग गुप्तचरी वा जासुसी नगर्ने सम्झौताहरू गर्न तयार रहेको बीबीसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।