जापानको सहयोगमा छाती पुनर्स्थापना केन्द्र बन्ने
भक्तपुर : जापान सरकारको प्राविधिक सहयोगमा भक्तपुरमा छाती पुनर्स्थापना केन्द्र बन्ने भएको छ। स्वासप्रश्वाससम्बन्धी रोगको विशेषज्ञ सेवा दिने गरी उक्त बन्न लागेको हो।
भक्तपुर नगरपालिका वडा नं. ९ च्याम्हासिंहमा बन्ने उक्त केन्द्रको भवनको बिहीबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ। भवनको जग शिलान्यास गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले केन्द्र सञ्चालनमा आएसँगै भक्तपुरका स्वासप्रश्वाससम्बन्धी रोगका बिरामीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे।
उनले केन्द्रमा आधुनिक फिजियोथेरापी विधिमार्फत स्वासप्रश्वासमा विशेषगरी दमको उपचार गरिने जानकारी दिए। केन्द्रको भवन मौलिक एवं परम्परागत शैलीमा भवन बनाइने उनको भनाइ थियो।
प्रमुख प्रजापतिले देशको सन्तुलित विकास गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा व्यक्त गरे।
भक्तपुर नपाकी उपप्रमुख रजनी जोशीले कडा रोग लागेका नगरवासीहरुलाई नपाले १० हजार रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गर्दै आएको बताइन्।
कार्यक्रममा जापान सरकारको लागि नेपालस्थित संस्था सोलिड नेपालका अध्यक्ष डा. खेम कार्कीले भवन निर्माण सम्पन्न भएपछि केन्द्र सञ्चालनको लागि आवश्यक उपकरणहरु जडान गरिने जानकारी दिए।
केन्द्रमा सेवा प्रदान गर्ने चिकित्सक एवम् प्राविधिक जनशक्तिलाई समेत जापान सरकारकै तर्फबाट सम्पूर्ण तालिम दिइने उनको भनाइ थियो।
नगरपालिकाले उपभोक्ता समितिमार्फत उक्त भवन बनाउने छ। त्यसको लागि स्थानीय रत्नप्रसाद प्रजापतिको अध्यक्षतामा भवन निर्माण समिति गठन गरिएको छ।
छाती पुनर्स्थापना केन्द्र भवनको शिलान्यास गर्दै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति। फोटोः अन्नपूर्ण