काभ्रेको भाङ्गेटारमा दुईजना मृत अवस्थामा भेटिए
शिखर चिमौरीया
काभ्रे : काभ्रेको रोशी गाउँपालिका–१०, वाल्टिङस्थित भाङ्गेटारमा दुईजनाको शव जलेको अवस्थामा फेला परेको छ ।
काभ्रेको विकट भनिने डाँडापारी महाभारत गाउँपालिका टुनिबासका दुई व्यक्तिको शव शुक्रबार बिहान रोशी गाउँपालिका भाङ्गेटारमा फेल परेको स्थानीय सरोज सापकोटाले जानकारी दिए ।
५० वर्षीय सन्चर सिंह लामा र ४० वर्षीय नरबहादुर लामाको शव भेटिएको बताइएको छ । घटनास्थलमा एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको छ । जेठ १ गते दिउसो खानेपानी मर्मतका लागि रोशी गाउँपालिका–१०, वाल्टिङस्थित भाङ्गेटार आएका उनीहरुको आज ३ गते शव फेला परेको छ । रोशी गाउँपालिकाका–१० का वडाध्यक्ष दुधराज तामाङका अनुसार घटनाको प्रकृति हेर्दा चट्याङ लागेर मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् ।
शरीरमा कतै चोटपटक नलागेको तर शरीर जलेको अवस्थामा शव भेटिएका कारण चट्याङ लागेर मृत्यु भएको हुनसक्ने तामाङ बताउँछन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार घटनास्थलमा इलाक प्रहरी कार्यालय मंगलटार र जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट घटनास्थलमा प्रहरी पुगेको छ ।