सालिकसँग सेल्फी
चितवन : तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित जिप दुर्घटनामा परेको स्थल दासढुंगा। नारायणगढ–मुग्लिङ सडक खण्डको त्रिशूलीको किनारको यो ठाउँमा दुई नेताको पूर्ण कदको सालिक छ। दैनिक हजारौं सवारीसाधन गुड्ने दासढुंगामा ३६४ दिन सालिक एक्लोजस्तै देखिन्छ। जेठ ३ गते भने यहाँ निकै चहलपहल हुन्छ, प्रिय नेताप्रति श्रद्धासुमन व्यक्त गर्नेहरूको।
सालिकमा माल्यार्पण गर्ने, श्रद्धाञ्जलि व्यक्त गर्ने, अभिवादन गर्ने चलन त पुरानै हो। अचेल भने सालिकसँग सेल्फी खिच्नेको भीड लाग्छ यहाँ। शुक्रबार नेकपाका कार्यकर्ता सालिकलाई पृष्ठभूमिमा राखेर तस्बिर कैद गर्न व्यस्त थिए। एक कार्यकर्ताले भने, ‘जीवित छँदा भेट्न पाएनौं। सालिकसँग सेल्फी लिएर नेताहरूप्रति सम्मान गर्नै परो नि !’
कार्यक्रम स्थलमा पुग्ने जोकोहीले सालिकअगाडि पुगेर सेल्फी खिचे। कार्यकर्ताले सेल्फी खिच्दा नेताहरू मुसुक्क हाँसेर पोज दिन्थे। कोही झन्डा बोक्थे भने कोही मुड्की पारेर लालसलाम गर्थे। सालिकसँग सेल्फी लिने क्रम दिनभर चलिरह्यो।
सेल्फी खिच्नेमा संसद्को कानुन, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेल, राष्ट्रियसभा राष्ट्रिय हित सरोकार समिति सभापति पार्वती रावल, प्रदेश ३ का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा लगायत थिए।
हरेक वर्षको जेठ ३ मा यहाँ विशेष कार्यक्रम हुन्छ। नेकपाका नेताकार्यकर्ता कुर्लिन्छन्, मदन–आश्रितको सपना साकार पार्छौं भन्दै। शुक्रबार पनि नेताहरुले मदन भण्डारीको योगदानका विषयमा चर्का भाषण गरे। उनीहरूले भण्डारीको वैचारिक सिद्धान्त अघि बढाउनुपर्ने सुझाव दिए। नेताद्वयको हत्यामा छानबिन गर्न माग गरे। नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारीले भण्डारी दूरदर्शी नेता भएको स्मरण गरे। ‘मदन भण्डारी पार्टीको रणनीति र कार्यनीति बनाएर देशकै मार्गचित्र बनाउने दूरदर्शी राजनेता हुनुहुन्थ्यो’, उनले भने, ‘विश्वमै तरंग ल्याउने जबजका प्रतिपादकमाथि षड्यन्त्र भयो।’
प्रदेश सांसद विजय सुवेदीले भण्डारीले सोचेअनुसारको पार्टीले गति नलिएको बताए। उनले भने, ‘भण्डारीले परिकल्पना गरेको पद्धतिमा हामी थोरै पनि हिँड्न सकेका छैनौं।’ नेकपाका नेता प्रेम रिमालले भने सेल्फी खिचेर देखावटी भाव देखाएको भन्दै विरोध गरे। उनले भने, ‘वर्षमा एक दिन ठूला कुरा गर्ने तर वर्षभर जनतालाई झुक्याउने प्रवृत्तिले विचारको अपमान भएको छ।’
दुर्घटनास्थलमा फलामको बार लगाइएको छ। पर्यटकीय स्थल निर्माण गरिने भनिए पनि ठोस रूपमा काम भएको छैन। दासढुंगाको करिब १२ बिघा क्षेत्रफल समेटेर सडक, उद्यान र अन्तर्राष्ट्रिय राजनीतिक अध्ययन केन्द्र निर्माण गर्न लागिएको मदन भण्डारी फाउन्डेसन चितवनका सदस्य नवराज ढकालले बताए। ‘मदन भण्डारीको इतिहास जीवित राख्न एकीकृत विकासको योजना तयार गरेका छौं’, ढकालले भने, ‘वर्षमा एक दिन मात्र होइन, सधंै सबैको आकर्षणको थलो बनाउने हाम्रो योजना छ।’
२०५० साल जेठ ३ गते पोखराबाट चितवन जाने क्रममा गाडी दुर्घटनामा पर्दा नेताद्वयको निधन भएको थियो। २६ वर्ष बितिसक्दा पनि घटना अझै रहस्यमै छ। घटनाबारे सरकार, सदन र सडकमा बहस भए पनि अझैसम्म सत्यतथ्य बाहिर आउन सकेको छैन। दुर्घटनाका एकमात्र साक्षी जिपचालक अमर लामाको हत्या भएपछि दुर्घटना झन् रहस्यमय बन्न पुगेको छ।