काउन्सिलमा कलैकला

काउन्सिलमा कलैकला

काठमाडौं : ओहो कति धेरै छेपारा ? कति छिटोछिटो रङ फेरेका हुन् ? पल्लो कुर्सीमा बसेकी एक युवती एकाएक चिच्याइन्। सबैको ध्यान भुइँभरि कुदिरहेका छेपारातिर गयो। छेपाराहरू लस्करै देखिन्थे भुइँमा। कुनै रातो रङका थिए त कुनै कालो, खैरो, कुनै हरियो। गुलाबी रङको छेपारो त माथि झुन्ड्याइएको कुर्सीमा नै पुगिसकेको थियो। माथिपट्टि एउटा कुर्सी झुन्ड्याइएको छ। त्यहाँ पुग्न छेपाराहरू तँछाडमछाड गरिरहेका छन्।

यो सुन्दा तपाईंले कुनै जंगलमा छेपाराहरू दौडिरहेका भन्ने बुझ्नुभयो होला। दिनभर रूखमा घाम तापेर समय बिताउने छेपाराको याद आयो होला। तर यहाँ वर्णन गरिएका छेपारा रूखमा बस्दैनन्। सुविधासम्पन्न कुर्सीमा बस्न एकआपसमा हानथाप गर्दै छन्।

नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनमा राखिएको आर्टको एउटा दृश्य हो यो। नेपाली राजनीतिमा अहिले चलिरहेको छेपारे संस्कृतिलाई यो आर्टले व्यंग्य गरेको छ। पदमा पुग्न नेताहरू छेपाराले जस्तै रङ बदल्दै हिँड्ने यथार्थलाई दृश्यमार्फत देखाउने प्रयास गरेका हुन्, नवलपरासीका महेश बस्ताकोटीले।

नवौं राष्ट्रिय ललितकला प्रदर्शनी २०७६ मा चार सय ६७ जना कलाकारका पाँच सय २९ वटा कलाकृति प्रदर्शनीमा राखिएका छन्। विभिन्न प्रकारका रंगीविरगी आर्टले काउन्सिलका भित्ता झकिझकाउ छन्। गेटबाट भित्र छिर्नासाथ कुनै काठबाट बनेका स्वरूप, कुनै ढुंगा खोपेर बनाइएका मूर्ति, कुनै मेटल प्रयोग गरिएका चित्र। पोट्रेट, क्यानभास अनगिन्ती देख्न सकिन्छ। लोककला, हस्तकला, चित्रकला, मूर्तिकलाका अनेक आयाम समावेश गरिएको छ। आर्ट काउन्सिलको भवन कलाकृतिले भरिभराउ छ। कलाकारिताका पारखीहरू तलमाथि ओहोरदोहोर गरिरहेका छन्। कोही काठका अजिब मूर्तिसँग सेल्फी खिच्दै छन् त कोही आर्टिस्टसँग छलफलमा व्यस्त देखिन्छन्। सबैलाई हतारो छ। यहाँ कलाकारिताको महाउत्सव सुरु भएको छ।

बौद्ध धर्ममा प्रयोग हुने बुद्धका अनेक किंवदन्तीसहितका चित्र पनि यहाँ देख्न सकिन्छ। कलाकारले विभिन्न धर्मका चलनचल्तीलाई पनि कलामा उतारेका छन्। हिन्दू धर्मका देवीदेवता, गणेशका आकृति पनि आर्ट सिरिजमा उनिएको छ।

भित्तामा चित्र झुन्ड्याइएको छ भने भुइँको खाली ठाउँमा इन्स्टलेसन आर्ट प्रदर्शन गरिएको छ। अहिलेको पुस्ता हरेक चिजमा नयाँ प्रयोग गरेर सिर्जना गर्न चाहन्छ। पछिल्लो समयका युवा आर्टहरू इन्स्टलेसन आर्टमा पनि उत्तिकै सक्रिय भएको देखिन्छ। यस्ता आर्टले निश्चित विचार र थिम बोकेका हुन्छन्। यस्तै रवीन्द्रकुमार  श्रेष्ठले पनि भिजुअल मल्टिमिडिया प्रयोग गरेर काठमाडांैको वास्तविक चित्रण गरेका छन्।

सिमसिम पानी परिरहेको घरको छतमा एक बालिका खेलिरहेको मनमोहक दृश्यसँगै भिडियो सुरु हुन्छ। काठमाडौंको भीडभाड र हल्लाखल्लाले प्रकृतिसँग खेल्दै बच्चा हुर्कन पाउने वातावरण छैन। गाडीको भीडभाडले गर्दा कलाकारले सुनसान काठमाडौंको फोटो खिच्न सकिरहेका छैनन्।

चित्रमा एक युवतीको बलात्कार भएको दृश्य छ। जंगलको सिनमा नग्न देखिएकी युवतीको शरीरबाट रगत बगिरहेको छ। आफ्नो शरीरलाई दुई हातले छोप्दै उनी भन्छिन्, ‘स्टप, आई एम नट बर्न टु बी रेप्ड।’

वार एन्ड पिस लेखिएको नमुना बनाएका छन् प्रकाश पुनमगरले। उनले शान्तिका प्रतीक मानिने परेवालाई पनि कसरी द्वन्द्वले असर पारेको थियो भन्ने प्रस्ट्याउन खोजेका छन्। सेता, काला केही परेवा तारमा चरिरहेको देखिन्छ। ती परेवा कृत्रिम नभएर वास्तविकझंै देखिन्छन्। कुनै परेवाको आँखामा चोट लागेको छ त कुनैको टाउकोमा गोली लागेको खत छ। परेवाहरू मुर्झाएका छन्।

भक्तपुरका रमेश दुवालले समसामयिक घटनामा निकै दर्दनाक चित्र बनाएका छन्। चित्रमा एक युवतीको बलात्कार भएको दृश्य छ। जंगलको सिनमा नग्न देखिएकी युवतीको शरीरबाट रगत बगिरहेको छ। आफ्नो शरीरलाई दुई हातले छोप्दै उनी भन्छिन्, ‘स्टप, आई एम नट बर्न टु बी रेप्ड।’ उफ कति डरलाग्दो चित्र, दर्शक कानेखुसी गर्छन् र चित्रको नजिक गएर अडिन्छन्। उनै दुवालले रेप शीर्षककै अर्को चित्र पनि बनाएका छन् जहाँ बलात्कृत युवतीको शरीर यसै फालिएको छ।

प्रदर्शनीमा मिथिला आर्टका अनेक आयाम पनि समेटिएका छन्। मधेसी समुदायमा मानाइने चाडपर्वमा बनाइने स्थानीय चित्रको स्वरूपदेखि संस्कृतिलाई देखाउने चित्र पनि प्रदर्शनीमा अटाएको छ। धागो प्रयोग गरेर बनाइएका ढक्कीहरू, बाँसले बनाइएका कलात्मक भाँडा, राजवंशी समुदायको जातीय गरगहना, ढाकाका कपडाको स्वरूपलगायत प्रदर्शनीमा देखाइएको छ।

ललितपुरका विभूषण ताम्राकारले सम्पदा संरक्षणका लागि बोतल आर्ट शीर्षकको नमुना प्रस्तुत गरेका छन्; जहाँ बोतलभित्र मन्दिरको प्रतिविम्ब, पुराना लत्ताकपडा र सामग्री राखिएको छ। आर्ट काउन्सिलको छतमा अजीव प्रकारका कलाकृति देख्न सकिन्छ। एकातिर नेवारी समुदायको विशेष परिकार योमरीको वर्षा भएको देखिन्छ भने अर्कातिर सुकेका पात प्रयोग गरी विशेष स्थान बनाइएको छ। अलि पर कुनामा पहेँला रङका कुर्सी एकआपसमा लडिरहेझैं देखिन्छन्। ती कुर्सी रातो कुर्सी भेट्न एकमाथि अर्को खप्टिएझैं लाग्छ।

रातो मछिन्द्रनाथको जात्रा र योमरीको वर्षा शीर्षकमा गजबको कलाकृति बनाएका छन् सुदर्शनराज शाक्यले; जहाँ रथ तानिरहेका भक्तजनलाई स्थानीयवासीले योमरीको वर्षा गराएका छन्। सेतो रङका योमरी यत्रतत्र छरिएका छन्।

धनगढीकी निर्मलाकुमारी मल्लले माई रिफ्लेक्सन शीर्षकमा सुन्दर चित्र बनाएकी छन्; जहाँ च्यातिएको चोलीको छेउमा आमाछोरीको फोटो सजाइएको छ। चित्रभित्रै आकाशे रङको बाकसमा एउटा कविता लेखिएको छ। एउटी आमाले छोरीसँग गरेका मनका कुरा कवितामा समेटिएको छ। लेखिएको छ—

मेरो प्रतिनिधि विम्ब हौ तिमी।

अंकुरित हुँदै अगाडि बढ्नु छ।

नियाल्छु अब्बल, हठी प्रवृत्तिहरू तिमीमा

खोजिरहेछु मेरो बालापन तिमीमा।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.