नेकपाको सैद्धान्तिक विवादमा गुटगत छाया

नेकपाको सैद्धान्तिक विवादमा गुटगत छाया

काठमाडौं : जनताको बहुदलीय जनवादका विचारक मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति सभा। तत्कालीन एमाले पार्टी कार्यालय बल्खुमा शुक्रबार आयोजित स्मृति सभालाई नेकपाले पार्टी एकता दिवसका रूपमा समेत स्मरण गर्‍यो।

विश्वमा कम्युनिस्ट आन्दोलन धर्मराएका बेला तत्कालीन एमालेका महासचिव भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरेका थिए। कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रीकरण गर्न र कम्युनिस्टलाई उदार प्रजातन्त्रभित्र ल्याउने सूत्र थियो जबज।

भण्डारीद्वारा प्रतिपादित विचारलाई मागदर्शक सिद्धान्त मान्दै आएको तत्कालीन एमालेले एक वर्षअघि जबजमा परिमार्जन गर्‍यो। तत्कालीन एमालेको जबज र तत्कालीन माओवादीको २१ औं शताब्दीको जनवादबीच ‘फ्युजन’ गरेर जन्म्यो, ‘जनताको जनवाद।’

पार्टी एकताको एक वर्षपछि नेकपाभित्र फेरि विवाद देखापरेको छ, सैद्धान्तिक विचारको। जबजलाई जस्ताको तस्तै स्वीकार गरेर अघि बढ्ने कि जनताको जनवादलाई जबजको परिस्कृत एवं विकसित रूप मान्ने भन्नेमा नेताहरूका फरकफरक अभिव्यक्ति आउन थालेका छन्। पार्टी अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले भण्डारीको विचारलाई मन्त्र र शास्त्रका रूपमा नलिने, बरु परिमार्जन गर्दै जाने उद्घोष गरेका छन्।

अर्का नेता ईश्वर पोखरेलले जबज विचारलाई छोड्न नमिल्ने भन्दै आमकार्यकर्ताबीच जाने भनेर फरक मत सार्वजनिक गरेका छन्। यी दुई फरक धारले पार्टीभित्र सैद्धान्तिक विवादका नाममा गुटगत राजनीति मौलाउन लागेको संकेत देखिएको छ।

‘विगतमा एकता विरोधी देखिने र लाभको पदमा पुग्ने आकांक्षाका कारण कसैले पनि नेतृत्वविरुद्ध बोल्ने आँट गरेका थिएनन,’ नेकपाका एक नेताले अन्नपूर्णसँग भने, ‘सैद्धान्तिक रूपमा देखिएको विवादले गुटहरु जन्माउने र नेतादेखि कार्यकर्तासम्म विभाजित हुने अवस्था सिर्जना हुँदैछ।’

२०५० जेठ ३ गते दासढुंगामा रहस्यमय जिप दुर्घटनामा निधन भएका भण्डारी र संगठन विभाग प्रमुख आश्रितको स्मरण सभामा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले राजनीतिक मागर्दशन सिद्धान्त परिमार्जन भएको रूपमा बुझ्न कार्यकर्तालाई निर्देशन दिए। ‘हिजो मदन भण्डारीले जेजे भन्नुभयो, त्यही त्यहीअनुसार काम चल्छ भनेर नसोच्नुहोला,’ ओलीले भने, ‘जबजलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दै आएका छौं। हाम्रो बाटो त्यही हो।’

तत्कालीन एमालेले ०५४ देखि जबजलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको थियो। पूर्वी युरोपलगायत विश्वमा कम्युनिस्टविरुद्ध प्रतिक्रान्तिको लहर र समाजवादी देश ढल्दै गएको अवस्था थियो। माक्र्सवादको भविष्य छैन, पुँजीवाद र साम्राज्यवादले मात्र समाज परिवर्तन हुन सक्छ भन्ने मान्यता चल्दै थियो। रुस र चिनियाँ कम्युनिस्ट पार्टीको मोडेलमा नेपालका कम्युनिस्ट रुमल्लिएका बेला वामपन्थी आन्दोलनको लोकतन्त्रीकरण गर्न मदन भण्डारीले जबज विचार ल्याएका थिए। जबजलाई आधारशिला मानेको तत्कालीन एमालेले ०५१ मा जनताको मतबाट पहिलो कम्युनिस्ट सरकार बनायो।

१० वर्षे सशस्त्र युद्ध गरेको तत्कालीन माओवादीले पनि ‘जबजकै शैली’ मा शान्तिपूर्ण राजनीति अंगाल्यो र जनताको मतबाट सरकारको नेतृत्व पनि गर्‍यो। पार्टी एकतापछि माओवादीले जबजलाई जस्ताको तस्तै स्वीकार गर्न आनाकानी गर्‍यो। २१ औं शताब्दीको जनवादलाई छाडेर जनताको जनवादलाई तत्कालीन कार्यनीति मान्न माओवादी तयार भयो। नेकपा अध्यक्ष दाहालले जनताको जनवादलाई विकसित मार्गदर्शन मान्नुपर्ने तर्क गरे। भण्डारीले माक्र्सवादको विश्वव्यापी प्रयोगलाई ‘बनिबनाउ सूत्र मात्र बनाइराखेको भए’ नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ सिद्धान्तको आविष्कार हुनै नसक्ने दाहालको दाबी छ। ‘भण्डारीले जे जे भन्नुभयो, त्यसमै रमाउने कि ? उहाँले प्रतिवादन गरेका सिद्धान्त र रणनीति परिस्कृत गर्दै जाने ? ’ दाहालले भने, ‘कल्पना, आग्रह वा चाहनाले मात्र हुँदैन। सचेततापूर्वक ठोस परिस्थितिको विश्लेषण गरेर समाजवादतर्फको यात्रामा जानुपर्छ।’

अर्का नेता पोखरेलले भने केही दिनअघि युवा संघद्वारा आयोजित कार्यक्रममा पार्टीमा वैचारिक प्रस्टता नभएको भन्दै जबजलाई छोड्न नहुने धारणा सार्वजनिक गरेका थिए। नेकपाभित्र सैद्धान्तिक बहसलाई आगामी महाधिवेशनसम्म लैजाने सहमति छ। त्यही सहमतिका आधारमा नेताहरू महाधिवेशन केन्द्रित सैद्धान्तिक बहसमा जुट्न थालेका हुन्।

गत वर्ष भण्डारी र आश्रितको सालिकमा माल्यार्पण गरी नेकपा र माओवादीबीच पार्टी एकताको घोषणा गरिएको थियो। यस वर्ष एकता दिवसमा औपचारिक कार्यक्रम नगरेको नेकपाका नेताले स्मृति सभामै एकता दिवसको सम्झना गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.