सुरु भयो साकेला : सबैको मुखमा ‘सै ढोले सै’
धरान : किराती समुदायको महान पर्व उभौली (साकेला) शनिबारदेखि सुरु भएको छ। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा किराती बस्तीमा साकेला नृत्य सुरु भएको छ। किरात बाहुल बस्ती अब एक महिनासम्म ढोल र झ्याम्टाले गुञ्जयमान हुनेछ।
उभौलीको अवसरमा किरात राई यायोक्खा सुनसरीले जिल्लाभर साकेला नाच सुरु गरेको छ। बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमाको अवसर पारेर शनिबार किरात राई यायोक्खा सुनसरीले धरानको विजयपुरस्थित बुद्धिकर्ण रायको दरबारक्षेत्रमा पुजा आराधना गरी साकेला नाचको सुरुवात गरेको छ।
एक महिनासम्म प्रदेश १ का पहाडी जिल्ला खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ र तराईका सुनसरी, मोरङ र झापा जिल्लासमेत धुमधामका साथ साकेला नाच सुरु भएको छ।
किरात राई यायोक्खाका केन्द्रीय सचिव अर्जुन जम्नेली राईका अनुसार साकेला नाच एक महिनासम्म चल्ने छ। साकेला नाचमा सबै किराती समुदायको उपस्थित अनिवार्य हुन्छ। उपस्थित सबै गोलाकार भएर पितृको संझना गर्दै साकेला नाच्ने परम्परा रहेको छ।
किरात राई यायोक्खा केन्द्रीय समितिको निर्देशनमा मातहतका जिल्ला कार्य समिति तथा गाउँ इकाई समितीमार्फत् साकेला थानमा पूजा गरी राईहरुले साकेला नाच्न सुरु गरेको किरात राई यायोख्या सुनसरीका सचिव राजेन्द्र राईले बताए।
किरात राईहरु यतिबेला भेटघाट, जीवनशैली, पौराणिक कथा र सामाजिक सम्बन्धका बारेमा सिलीमार्फत् एक महिना ढोलझाम्टाको तालमा किरात बाहुल्य भू–भागमा साकेला नाचले गुन्जयमान हुने किरात राई आयोख्याका प्रचारप्रसार संयोजक उपेन्द्र चाम्लिङले बताए।
वैशाख पूर्णिमा र मंसिरे पूर्णिमा गरी वर्षमा दुई पटक मनाइने यो पर्वलाई किराती समुदायले विशेष पर्वका रुपमा रुपमा मनाउदै आएका छन्। विभिन्न प्रकारका साकेला सिली गाउँदै हातमा चौरीको चम्मर, झयाम्टा र काँधमा ढोल बोकेर साकेला नाचिन्छ।
पूर्वी पहाडी जिल्लामा लोकप्रिय रहेको साकेला पछिल्लो समय तराईका धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोड, काकडभिट्टामा पनि लोकप्रिय बन्दै गएको छ।
किरात धर्म अनुसार बालीनाली लगाउँने समय सुरु भएको प्राकृतिक संकेत पाएपछि आफूले लगाएको बाली राम्ररी सप्रियोस, भलबाढी, पहिरो नआओस, प्राकृतिक बिपत्ति ननिम्तिओस भनि भूमीको पुजा गर्दै साकेला उभौली मनाईने गरिएको अध्यक्ष राइको भनाइ छ।