बुद्ध जयन्तीका दिन ललितपुरमा मासु बन्द
ललितपुर : ललितपुरका मासु व्यवसायीहरुले २५६३ औं बुद्ध जयन्तीका दिन मासु विक्रिमा बन्देज लगाएका छन्। अहिंसा, दया, माया र करुणाका प्रतिक मानिने गौतम बुद्धको जन्मजयन्तीको दिन कुनै पनि पशुको हत्या नगर्ने निर्णय मासु व्यवसायीहरुले गरेका हुन्।
राष्ट्रिय खड्गी समाज ललितपुरका अध्यक्ष अरोज कुमार खड्गीले सबैले मिलेर बुद्धजयन्तीका दिन कुनै पशुको बध नगर्ने निर्णय गरेका बताए। शुक्रबार एउटा कार्यक्रमको आयोजना गर्दै मासु व्यवसायीहरुले शनिवार काटमार नगर्ने बचन दिएका हुन्।
पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले खड्गी समाजको यो निर्णयले असाध्यै खुशी लागेको बताइन्। पशुले जन्मदेखि मुत्युसम्म सहज तरीकाले बाँच्न पाउनुपर्ने आवाज उठाउँदै आएकी छन्। मानिसले अवोध प्राणीहरुप्रति दयाभाव राख्नुपर्ने भनाई उनको छ।