जथाभावी उत्खननले उट्ठीबासको त्रास, जनप्रतिनिधिकै मिलेमतोः स्थानीय

जथाभावी उत्खननले उट्ठीबासको त्रास, जनप्रतिनिधिकै मिलेमतोः स्थानीय

सिरहा : सिरहाको धनगढीमाई नगरपालिका ८ महुलियाको ६० घरपरिवार रहेको बस्ती जथाभावी उत्खननका कारण त्रसित छ। बस्तीको वरपर जथाभावी ग्राभेल उत्खन्न भएपछि टोलवासीमा उट्ठीबासको त्रास बढेको हो।

नगरपालिकाबाट अनुमति लिई ठेकेदारले गाउँ वरपर जथाभावी उत्खनन् गर्दैछन्। यसरी उत्खन्न भइरहदाँपनि निगरानी गर्ने सरोकारवाला निकाय मौन छन्। मनोमानी उत्खन्नमा जनप्रतिनिधि, नेता, प्रहरी–प्रशासन सबैको मिलोमतो देखिएको स्थानीयको आरोप छ।

गाउँवासीले उत्खन्न रोक्न खोज्दा ठेकेदारहरूले मान्छे लगाएर उनीहरूलाई धम्काउने गरेका छन्। गाउँवासी एक ठाउँमा रोकपछि ठेकेदारले अर्को ठाउँमा जर्वजस्ती उत्खन्न गर्दै आएका छन्।

‘गाउँको चारैतिर खण्डहर बनाइसक्यो, आवतजावतमा समस्या हुँदैछ,’ स्थानीय विश्वनाथ यादवले भने, ‘विगत ७/८ वर्षमा गाउँका सैयौँ विघा जग्गामा ग्राभेल उत्खन्न भएको छ।’

जथाभावी उत्खनन्ले बनाएको खण्डहर देखाउँदै स्थानीय। फोटोः शम्भु यादव/अन्नपूर्ण


गाउँलाई टापु बनाइसकेपछि कसरी बसोबास गर्ने ? उनले प्रश्न गरे। वडा कार्यालय, प्रहरी–प्रशासनलाई गुनासो सुनाउँदा पनि कुनै सुनुवाई नभएको उनले दुखेसो पोखे।

चारैतिर उत्खन्न गरेर जमिनलाई कामै नलाग्ने बनाइदिएको अर्का स्थानीय अवधेश कुमार यादवको गुनासो छ। ‘वरपर उत्खन्न गरी गहिरो बनाइदियो, आफ्नो जमिनमाथि पर्‍यो,’ उनले भने, ‘त्यसमा न उब्जाउ हुन्छ न त बैँकले ऋणका लागि धितो राख्न मानेको छ।’ गाउँको सबै जग्गा जमिन बेचेर अन्तै बसोबास सर्ने स्थित सिर्जना हुँदै गएको उनको भनाई छ। उत्खन्नले खानेपानी र सिँचाईको समस्या बढाएको उनले सुनाए।

‘आफ्नो डेढ कठ्ठा जग्गामा जर्वजस्ती ठेकेदारहरूले उत्खन्न गरेका छन्’ स्थानीय शर्मिला यादवले भनिन्, ‘जति रोक्दा पनि ठेकेदारले सुनेनन्, पैसाबालाकै बोलवाला छ, गरिबको दुःख कहिले सरकारले हेर्न हो खोई ?’ थातथाले कसरी बच्ने भन्ने चिन्तामा लागेको उनले सुनाइन्। जथाभावी उत्खन्न रोक्न खोज्दा ठेकेदाररुले उल्टै धम्काउने गरेको उनीहरूले सुनाए। गाउँले मिलेर पटक पटक वडामा निवेदन दिएपनि उत्खन्न नरोकिएको उनीहरूले बताए।

वडामा कामत कन्सट्रक्सन, सुरेश निर्माण सेवा, मणि कन्सट्रक्सन, तिरुपति कन्सट्रक्सन र पुकार बालुवा प्रशोधन केन्द्रले खानी सञ्चालन गर्ने अनुमति पाएका छन्। ती ठेकेदार संस्थाले नगरपालिकासँग १० फिट गहिरो नम्बरी जग्गामा ग्राभेल खन्ने सम्झौता गरेका छन्। तर, उत्खन्न गर्नेबेलामा त्यसको दोब्बर, तेब्बर खन्ने गरेका छन्। सार्वजानिक जग्गाबाट पनि ग्राभेल उत्खन्न गरेको छ।

नगरपालिकाले विवरण दिएन : वडाध्यक्ष

वडाको जोगियाटोल, लामाटोल, महुलिया, महुवाटोल, लगडीबालाटोल, महतोटोलका करिब ३०० घरपरिवार जथाभावी उत्खनन्‍बाट प्रभावित भएको वडाध्यक्ष पुष्पलाल तामाङले बताए। उनका अनुसार विजुलीको हाइटेन्सन पोल, आधारभूत विद्यालय इटाटार वरपर पनि उत्खन्न भएको छ।

दिनमै दर्जनौँ टिपर गाउँमा जाँदा धुवाधुलोले हैरान भएको वडाध्यक्ष तामाङले सुनाए। आफ्नो वडामा कुन कुन ठाउँमा खानी सञ्चालन गर्न अनुमति दिएको बारेमा नगरपालिकासँग विवरण माग्दा पनि नपाएको उनले बताए। प्रहरी–प्रशासनलाई पटक पटक जथाभावी खानी बन्द गराइदिन आग्रह गरेको उनको भनाई छ।

अनुगमन गर्दैछौँ : मेयर

जग्गाबाला र ठेकेदार मिलेर अनुमति भन्दा बढी उत्खन्न गर्ने गरेको धनगढीमाई नपाका मेयर हरिनारायण चौधरीको भनाई छ। ‘कति ठाउँमा जग्गाबाला आफैंले बढी खनाएको छ, कति ठाउँमा ठेकेदारले जर्वजस्ती बढी खनेको छ,’ उनले भने, ‘हामी त्यसबारेमा अनुगमन गर्दैछौँ।’

स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरपालिकाबाट खानी तथा खनिज पदार्थ सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७४ बमोजिम खानीको अनुमति दिएको उनले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.