सम्पूर्ण महिला फुटसलमा कोटिभिटी च्याम्पियन (फोटो)
काठमाडौं : अन्नपूर्ण सम्पूर्ण कर्पोरेट महिला फुटसलको उपाधि कोटिभिटीले जितेको छ। काठमाडौंको भोटेबहाल फुटसल सेन्टरमा शनिबार भएको एकदिने प्रतियोगिताको फाइनलमा कोटिभिटीले क्लाउड फ्याक्ट्रीलाई १–० गोलले हरायो।
२० मिनेटको प्रतियोगितामा कोटिभिटीको जितमा रश्मि महर्जनले निर्णायक गोल गरिन्। प्रतिस्पर्धात्मक खेलमा रश्मिले खेल सकिनु दुई मिनेटअघि गोल गर्दै कोटिभिटीलाई च्याम्पियन बनाएकी थिइन्। उपाधिसँगै कोटिभिटीले ट्रफी र आकर्षक उपहार प्राप्त गर्यो।
प्रतियोगितामा क्लाउडी फ्याक्ट्रीकी रुमिना शाक्यले सर्वाधिक गोलकर्ताको पुरस्कार पाइन्। कोटिभिटीकी श्रेया श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले ट्रफीसहित भोटो नेपालबाट आकर्षक उपहार पाए।
अन्नपूर्ण मिडिया नेटवर्कको साप्ताहिक प्रकाशन ‘सम्पूर्ण’ र युथ लेजेन्टले कर्पोरेट महिला फुटसल प्रतियोगिता आयोजना गरेका हुन्। दोस्रो पटक आयोजित प्रतियोगितामा विभिन्न नौवटा कर्पोरेट हाउसको सहभागिता थियो। सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो।
लिगकम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा समूह ‘ए’बाट क्लाउड फ्याक्ट्री, अन्नपूर्ण मिडिया नेटवर्क र हुवाईले प्रतिस्पर्धा गरेका थिए। समूह ‘बी’बाट जनता बैंक, एनएमबी बैंक र ग्लोबल पिस फाउन्डेसन सहभागी थिए। समूह ‘सी’बाट लिपफ्रोग, कोटिभिटी र एनआईबीएल सहभागी थिए। समूहको शीर्ष टोली र एक उत्कृष्ट उपविजेता टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा गराइएको प्रतियोगिताका प्राविधिक संयोजक मोहन घिमिरेले जानकारी दिए।
कर्पोरेट हाउसमा कार्यरत महिलालाई खेलकुदमा सक्रिय बनाउन फुटसल प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। प्रतियोगिताका सहभागी सबै टोली र खेलाडीलाई प्रमाणपत्र र भोटो नेपालबाट आकर्षक उपहार प्रदान गरिएको थियो। प्रतियोगितालाई अन्नपूर्ण सम्पूर्ण, अपच्र्युुनिटी नेपाल, भोटो नेपाल र मेडिसिटी अस्पतालले सहयोग गरेका थिए।