सदरमुकामका मासु पसलमा अनुगमन
भोजपुर : भोजपुर सदरमुकाममै दूषित मासुजन्य खाद्य पदार्थको बिक्री वितरण गरिएको भेटिएको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको अगुवाइमा गरिएको अनुगमनका क्रममा बजार आसपासका मासु पसल र होटलमा गुणस्तरहिन अखाद्य मासुजन्य पदार्थ बिक्री हुँदै आएको भेटिएको हो।
बजार आसपासका १६ वटा मासुपसलमा गरिएको अनुगमनमा उक्त अखाद्य मासुजन्य पदार्थ बिक्री हुँदै आएको भेटिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।अनुगमनका क्रममा ती मासु पसलमा अव्यवस्थित रुपमा नछोपी, पूर्ण सफाई नगरी, रेफ्रिजेरेटर प्रयोग नगरी मासुजन्य पदार्थ बिक्री वितरण गरिएको भेटिएको प्रजिअ खतिवडाले बताए।
अनुगमनपछि ती मासु पसलमा छोपेर सफा राख्न र सफाइमा ध्यान दिन सचेत गराइएको थियो। त्यस्तै मिठाइ पसलमा बनाइएका परिकारमा अखाद्य रङको मात्रा बढी पाइएको थियो।
अनुगमनको क्रममा तेल, चाउचाउ, कुरकुरेलगायतका ५ वटा खाद्य सामग्रीको नमुना ल्याव परीक्षणका लागि लगिएको अनुगम टोलीले जनाएको छ।जिल्ला प्रशासन, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य संघको प्रत्यक्ष सहभागितामा बजारका मिठाई, किराना, मासु पसल लगायत होटल र पाउरोटी उद्योग गरि करिब ३ दर्जन बढी पसलमा अनुगमन गरिएको थियो।