यूएनडीपीकी आवासीय प्रतिनिधिले बुझाइन् ओहोदाको प्रमाणपत्र
काठमाडौं : संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)का तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयसाने मेदागंगोडा लबेले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी छिन्।
ओहोदाको प्रमाणपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले उनलाई बधाई दिनुका साथै दीगो विकास लक्ष्य प्राप्तिमा नेपाल र यूएनडीपीबीचको साझेदारी थप प्रगाढ हुने बताए। 'हामी विश्वव्यापी लक्ष्य सन् २०३० अगावै प्राप्त गर्न पहल गरिरहेका छौं,' परराष्ट्रमन्त्रीले भने।
आवासीय प्रतिनिधि लबेले पनि दीगो विकास लक्ष्य प्राप्तिका लागि सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने प्रतिबद्धता जनाइन्। 'नेपालमा मजबुत संरचना तयार गर्ने, रोजगारी सिर्जना, प्रजातान्त्रिक शासन प्रणालीका लागि सरकारसँग निरन्तर साझेदारी गर्नेछौं,' उनले भनिन् ।
उनले पर्यटन नेपालको अर्थतन्त्रलाई अघि बढाउने प्रमुख आधार भएको भन्दै आगामी दिनमा यूएनडीपीका गतिविधि यस क्षेत्रमा केन्द्रीत हुने बताइन्।