होमस्टेमा लिम्बू संस्कार

होमस्टेमा लिम्बू संस्कार

ताप्लेजुङ : साँघुमा वैशाख अन्तिम साता सेनाका भलिबल खेलाडीलाई परम्परागत पोसाक लगाएका स्थानीय महिलाले स्वागत गरे। शिरबन्दी, कण्ठ र मेख्लीमा सजिएका उनीहरूले लिम्बू जातिको संस्कारअनुसार पाहुनालाई स्वागत गरेका हुन्। यो शैली खेलाडीलाई नौलो लाग्यो। ‘यहाँ पाहुनालाई स्वागत गर्ने तरिका भिन्न रहेछ’, प्रशिक्षक लोक बूढाले भने, ‘यस्तो राम्रो संस्कार अन्य ठाउँमा देखेका थिएनौं।’

दसैं, तिहारमा सिँगारिएजस्तै देखिने घर। चिटिक्क परेको आँगन। वरिपरि ढकमक्क फुलेका फूलले झनै घरको शोभा बढाएको छ। लिम्बू जातिको बसोबास रहेको यो गाउँ मैवाखोला गाउँपालिका–३ मा पर्छ। गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले (टीएमजे)को काखमा अवस्थित छ। साँघुमा पर्यटकीय चहलपहल बढेपछि २२ परिवार मिलेर एक वर्षअघि कोलडाँडा रमिते ढुंगा सामुदायिक होमस्टे स्थापना गरेका हुन्। टीएमजे क्षेत्र दृश्यावलोकन गर्दै यहाँ पुग्न सकिन्छ।

हिमाली गाउँको प्राकृतिक सुन्तरता र संस्कारको प्रवद्र्धन गर्न होमस्टे सुरु गरिएको अध्यक्ष शिवकुमारी चोङबाङ लिम्बूले बताइन्। ‘हाम्रो पहिचान धान नाच, च्याब्रुङ नाच परम्परागत खाना याङ्वेन, तोङबा र नजिकैको गुराँसे वन होमस्टेको विषेशता हो’, उनले भनिन्।

होमस्टेबाट तत्कालीन एमाले नेता मदन भण्डारीको जन्मगाउँ आधा घण्टाको पैदल दूरीमा पर्छ। गाउँपालिका केन्द्र भएपछि साँघुमा चहलपहल बढेको छ। वैशाख अन्तिम साता पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। खेलाडी, रेफ्री, प्रशिक्षक र खेल हेर्न पुगेकाहरू होमस्टेको अग्र्यानिक स्वादमा रमाए। ‘होमस्टेमा पाँच दिन बितेको पत्तै भएन’, त्रिभुवन आर्मी क्लबका खेलाडी हरि अधिकारीले भने, ‘स्वच्छ वातावरणसँगै स्थानीय उत्पादनको स्वाद लिन पाउँदा घरमै बसेजस्तो महसुस भयो।’

धान नाच नौलो लागेको अर्का खेलाडी डीबी भट्टले बताए। ‘हामी पश्चिमेलीका लागि धान नाच, च्याबु्रङ नाच नयाँ हो’, उनले भने, ‘नयाँ संस्कार सिक्न पाउँदा खुसी लाग्यो।’ हात समाएर नाच्नुपर्ने हुँदा लाज लागेको भट्टले सुनाए।

होमस्टे सञ्चालनसँगै सरसफाइ र सजावटले गाउँकै रूप फेरिएको स्थानीय चिरञ्जीवी चोङबाङले बताए। गाउँमा उत्पादन भएका सागसब्जी किनबेच हुन थालेको छ। हरेक घरमा सुधारिएको चुह्लो राखिएकाले धूवाँबाट स्थानीय मुक्त भएका छन्। खेतीपातीमा मात्र आश्रित स्थानीयलाई थप आम्दानीको बाटो खोलेको वडाध्यक्ष दिवस चोङबाङको भनाइ छ।

होमस्टे सञ्चालनमा हिमाली संरक्षण मञ्चले सहयोग गरेको थियो। विश्व वन्यजन्तु कोषको सहयोगमा ग्रामीण परा–पर्यटन प्रर्वद्धन गर्न सहयोग गरिएको मञ्चका प्राविधिक तथा फिल्ड कोअर्डिनेटर सन्दिप सुवेदीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.