११७ वर्षे बाटुली आमामा धेरैको ध्यान
काठमाडौं : नुवाकोट ८ नुवाकोट थानसिङ छापमा एउटा घर छ। जहाँ पुग्दा तपाईंलाई छुट्याउन गाह्रो पर्छ— यो घर हो कि मन्दिर ? दैनिकजसो नयाँनयाँ भक्तजन जसरी मानिस आउँछन्। आशीर्वाद लिन्छन्। र जान्छन्।
यी सबैकी कारण हुन्— ११७ वर्षीया वृद्धा बाटुली लामिछाने। अन्नपूर्ण पोस्ट् दैनिकमा बैशाख ३० गते ११७ वर्षकी बाटुलीआमाबारे प्रथम पृष्ठमा समाचार प्रकाशित गरेपछि धेरैको ध्यान उनीप्रति तानिएको छ।
केही दिनअघि पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनको सम्मान गरे। नुवाकोटमा भएको पोस्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनीका लागि गएका प्रचण्डले प्रदर्शनीकी प्रमुख अतिथिसमेत रहेकी बाटुलीआमालाई सम्मान गरेका हुन्।
विस १९५९ साल चैत १० गते उनको जन्म भएको तथ्यका आधारमा गत २०७० सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाटुलीलाई नागरिकता समेत दिइसकेको छ।
जापानकी ११६ वर्षीय केन टनाकाको विश्वकै जेठी महिलाका रुपमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा सूचिकृत छिन्। यस आधारमा नेपालकी बाटुली केनभन्दा पनि जेठी र विश्वकै जेठी महिला हुन् भन्न सकिन्छ।
तर, उनलाई विश्वकै जेठी महिलाका रुपमा चिनाउन आवश्यक पहल भएको देखिँदैन। सिन्धुपाल्चोकको गिरानचौरमा जन्मिएकी बाटुलीका श्रीमान छविलाल लामिछाने दिवंगत भइसकेका छन्। बाटुलीका छोरा बुहारीसँगै चा जना नातिनी, पाँच जना पनाती, पाँच जना पनातिनी र एक जना जनाती छन् ।
अन्नपूर्ण पोस्ट्को समाचारपछि धेरै मिडियाको पनि त्यहाँ ध्यान तानिएको छ। बाटुलीका छोरा नेत्रप्रसाद र बुहारी ईश्वरीले युट्यूबको एक भिडियोमा आमाबारे कुरा गरेका छन्। उमेरका कारण प्रष्ट बोल्न नसक्ने बाटुलीले उनीहरूलाई सुनाएका कयौँ कुराहरू उनीहरूले स्मरण गरेका छन्।
मिडियामा आमाबारे छापिएपछि सहयोग पनि पाएको छोराबुहारी सुनाउँछन्। 'पत्रकारले गर्दा सहयोग पायौँ। डाक्टर पनि यहीँ आए। धेरैलाई जानकारी भयो', बुहारीले भिडियोमा भनेकी छन्।
साहित्यकार/लेखक डा. तारानाथ शर्माले अन्नपूर्ण पोस्टका लागि लेखेको लेखमा बाटुलीआमाका विषयमा पढ्न पाउँदा गौरवान्वित भएको लेखेका छन्। 'हाम्रा पुस्तक र पत्रपत्रिकामा सय वर्ष नाघेका शताब्दी पुरुषहरू राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा सत्यमोहन जोशीजस्ता विशिष्ट व्यक्तिहरूका विषयमा लेख तथा समाचार पढ्न पाउँदा गौरवान्वित हुँदै आएका छौं। तर हाम्रा नारीका विषयमा भने उति चासो राखिएको नदेख्ता हामी औधि चिन्तित थियौं', आदरणीय हजुरआमा साष्टांग दण्डवत् ! शीर्षकको लेखमा उल्लेख गरेका छन्, 'अन्नपूर्णले बाटुली लामिछानेको आकर्षक र प्रेरणाप्रद तस्बिर प्रकाशित गरेर हाम्रो हृदय द्रवीभूत तुल्याएको छ।'