दुर्लभ सुन र सेतो गिद्धले चल्ला कोरल्यो
जाजरकोट : विश्वमै दुर्लभ मानिएका सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेका छन्। सुन गिद्धले नलगाड नगरपालिका-५, पोखराको महादेवस्थान जंगलको सल्ली रूखमा लगाएको गुँडमा चल्ला कोरलेका हुन्। विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको सेतो गिद्धले पनि बारेकोट गाउँपालिका-९ काप्तीको जंगलमा गुँड लगाएर चल्ला कोरलेको हो। विश्वमै संकटापन्ना अवस्थामा पुगेका दुर्लभ गिद्धले चल्ला कोरल्नु पंक्षी संरक्षणकर्मीका लागि यो सुखद खबर हो।
सेतो गिद्धले गत वर्ष पनि चल्ला कोरलेको पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य एवं पशु प्राविधिक गोविन्दबहादुर सिंहले बताए। सेतो गिद्धले समुद्री सतहबाट एक हजार ५ सय मिटर उचाइमा रहेको जंगलमा चल्ला कोरलेको हो। गत फागुन पहिलो साता अण्डा पारेको सुन गिद्धले वैशाखमा चल्ला कोरलेको उनले बताए। सुन गिद्धको बासस्थान रहेको महादेवस्थान गोठथात जंगलमा विगत पाँच वर्षदेखि अध्ययनका लागि महिनामा तीन पटक अध्ययन टोली जाने गरेका छन्।
उनका अनुसार जाजरकोटको महादेवस्थानबाहेक अन्यत्र सुन गिद्ध पाइएको छैन। महादेवस्थानमा एक जोडी मात्र सुन गिद्ध रहेको उनी बताउँछन्। गत वर्ष गुँड लगाएको भएपनि जोडी छुट्टिएकाले अण्डा नपारेको स्थानीयको भनाइ छ।
दुई र तीन वर्षअघि सुन गिद्धले सोही जंगलमा अण्डा काढे पनि चल्ला भने कोरल्न सकेको थिएन। स्थानीयका अनुसार सुन गिद्धले वर्षको एक पटक मात्र बच्चा कोरल्छ। जथाभावी वन फडानी, आगोलागी वन अतिक्रमणलगायतका कारण यसको बासस्थान नास भई संकटमा परेको छ।
जाजरकोटमा सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धको बासस्थान रहेको चराविद् बद्री बरालले बताए। एक अध्ययनका अनुसार जाजरकोटमा हिमाली गिद्ध ७५, हाडफोर गिद्ध ६, सुन गिद्ध २ र सेतो गिद्ध ४ वटा फेला परेका छन् ।
पछिल्लो समय पशु उपचारमा प्रयोग गरिएको डाइक्लोफेनेक औषधिका कारण गिद्ध लोप हुने अवस्थामा पुगेका छन्। यस जिल्लामा यो औषधि अन्य जिल्लाको तुलनामा कम प्रयोग हुने भएकाले यहाँ गिद्धको वासस्थानको दृष्टिकोणले उपयुक्त देखिएको चराविद् बरालको भनाई छ।