अँध्यारो युगको प्रतिविम्ब

अँध्यारो युगको प्रतिविम्ब

काठमाडौं : उफ् कस्तो डरलाग्दो चित्र। एउटी महिलालाई कुखुराको भालेले चिथोरिरहेको छ। प्वाँख नभएको शक्तिशाली देखिने भाले निकै उग्र तवरले महिलामाथि जाइलागेको छ। आफूलाई टाउकोमा ठुग्न लागेको भाले देखेर महिला निकै डराएकी छन्। भालेलाई रोक्न खोज्दै उनी टाउको मास्तिर हात लैजान्छिन्। भालेको अगाडि महिला निरीह छिन्। भाले महिलालाई बलात्कार गर्न उद्यत् छ। नजिकैे रक्सी पिएको एक युवक भालेको ज्यादती हेरिरहेको छ। यस्तो लाग्छ उसलाई महिलाको चित्कार मन पर्छ। ऊ भालेले महिलामाथि गरेको व्यवहारमा रमाइरहेको छ। ताल परे आफेैं पनि भालेको ठाउँ ओगट्ने प्रयासमा छ।

यो कुनै फिल्मको भिडियो होइन। नेपाल आर्ट काउन्सिलमा प्रदर्शनमा राखिएको एक चित्र हो। म्याग्दीका कलाकार पकबहादुर थापाले यो चित्र कोरेका हुन्। ‘द रेप ‘डार्क सोसाइटी एन्ड मी’ शीर्षकको चित्र निकै भयावह देखिन्छ। महिला हिंसा कानुन विरोधी हो भन्ने थाहा पाउँदापाउँदै हाम्रो समाज चुप प्रायः बस्छ। यसका विरुद्धमा प्रभावकारी कानुन नबनाउने र महिला हिंसालाई प्र श्रय दिनेप्रति पकबहादुरको चित्त दुखाइ छ। त्यही समाजको उत्पादन भएकाले आफू पनि केही न केही महिला हिंसाको जिम्मेवार हुँ भन्ने लाग्छ उनलाई। उनी भन्छन्, ‘गाउँमा कुनै महिलामाथि यातना भइरहेको देख्छौं तर हाम्रो समस्या होइन भन्दै पन्छिन खोज्छौं। यो भनेको महिलालाई जे जे गरे पनि मलाई मतलव छैन भनेर पीडकलाई उक्साएको त हो।’

उनले चित्रमा कुखुराको भाले प्रयोग गरेर हाम्रो समाजमा भएको पुरुषसत्ताको मनपरी देखाउन खोजेको बताए। उनले नेपथ्य शीर्षकमा महिलाहिंसाको विषयलाई आर्टको सिरिज नै बनाएका छन्। भालेले महिलालाई बलात्कार गरेको कस्तो अप्राकृतिक दृश्य हो ? उनी भन्छन्, ‘हो यस्तैे हुन्छ बालिका बलात्कारको दृश्य पनि। हाम्रो अगाडि जुन कुरा सम्भव हुन्न नि नेपथ्यमा त्यही भइरहेको हुन्छ। बाबुले छोरी, काकाले भतिजी, हजुरबुवाले नातिनी बलात्कार गरेको घटना त सुन्नु भएकै होला। सुन्दा जति अप्राकृतिक लागे पनि पर्दा पछाडि भइरहेकै छ।’ भालेको सिम्बोलमार्फत नेपथ्यमा घट्ने घटनालाई देखाउने प्रयास गरेको उनले बताए।

उनका अनुसार फरक अर्थमा भाले समयको सूचक पनि हो। नेतृत्वको प्रतीक पनि हो। समूहमा बस्दा पनि उसले लिड गरिरहेको देख्छांै हामी। उन्मुक्त भालेले थुप्रै पोथीलाई सताइरहेको हुन्छ। यसले समाजको पितृसत्ताको प्रतिनिधित्व गर्छ जहाँ महिला आफन्तबाटै बारम्बार पीडित भइरहेका हुन्छन्।

पर्दापछाडिको दृश्यलाई आर्टका माध्यमबाट देखाउन खप्पिस पकबहादुर ललितकला क्याम्पसमा प्राध्यापन गर्छन्। पूरा समय चित्रकारितामै बिताएका छन्। उनको कलायात्राको बाटो भने सजिलो थिएन। म्याग्दीको दरङ्जामा जन्मेका थापा सानैदेखि अन्तर्मुखी स्वभावका थिए। धौलागिरि र माछापुच्छ्रे हिमाल घुम्न जाने पर्यटक उनको गाउँको बाटो भएर जान्छन्। उनी स्कुल पढ्दा नै गाउँमा पर्यटक देखिन्थे। टेन्टमा बसेका विदेशी पर्यटकले हिमाल छेउको दृश्य स्केच गरिरहेका देख्थे उनी। विदेशीले एकैछिनमा सुन्दर स्केच बनाएको देख्दा पकबहादुलाई पनि चित्र कोर्न मन लाग्थ्यो। फुर्सद हुनासाथ चित्र बनाउन थाल्थे। यो बानीले उनलाई चित्रकलातिर डोर्‍यायो।

ललितकला क्याम्पसमा फाइन आर्टमा मास्टर्स गरे। २०७२ सालदेखि त्यही कलेजमा उपप्राध्यापकको भूमिकामा पढाउँदै आएका छन्। मन लागेको विषयमा स्वतन्त्र अभिव्यक्ति दिन पाइने हुँदा पनि उनलाई चित्रकारिता पेसा आफैंमा रचनात्मक लाग्छ। एक्रेलिक कलर बढी चलाउने थापाका चित्रमा राजनीतिक व्यंग्य पाइन्छ। उनका हरेक चित्र कुनै थिममा आधारित भएर कोरिएका हुन्छन्। नेपथ्य सिरिजमा उनले अनेकौं चित्र बनाएका छन्। चित्रका साइज र विषयवस्तु हेरेर उनका चित्र १० हजारदेखि दुई लाखसम्म पर्ने उनले जानकारी दिए। निरन्तरको लगाबले काम गरे चित्रकलाबाट आम्दानी पनि गर्न सकिने अनुभव गरेका छन्। हाइलाइट

भाले महिलालाई बलात्कार गर्न उद्यत् छ। नजिकैे रक्सी पिएको एक युवक भालेको ज्यादती हेरिरहेको छ। यस्तो लाग्छ उसलाई महिलाको चित्कार मन पर्छ। ऊ भालेले महिलामाथि गरेको व्यवहारमा रमाइरहेको छ। ताल परे आफेैं पनि भालेको ठाउँ ओगट्ने प्रयासमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.