उद्योगमा विदेशी लगानी गर्न पाँच करोड अनिवार्य
काठमाडौं : उद्योगमा विदेशी लगानी गर्न पाँच करोडभन्दा बढी चाहिने भएको छ। सरकारले पाँच करोडभन्दा कमका उद्योगमा विदेशी लगानी अस्वीकृत गर्ने निर्णय गरेको छ। यसअघि उद्योगमा विदेशी लगानीको सीमा ५० लाख थियो। त्यसलाई बढाएर उद्योगको सीमा पाँच करोड पुर्याइएको हो।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघिको पाँच लाखाको सीमालाई बढाएर पाँच करोडको पुर्याएको हो। सरकारको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पाँच करोड भन्दा कमका उद्योग नेपालीकै लगानीमा सम्भव भएकाले विदेशी लगानीमा पाँच करोडको सीमा निर्धारण गरिएको बताए।
सरकारले विदेशी लगानी गर्न धेरै नीतिमा खुकुलो बनाएको छ। औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन लगायत दर्जनौं नीतिगत सुधार ल्याइएको छ।
उद्योग विभागका निर्देशक प्रशान्त बोहराले उद्योगमा विदेशी सीमा नतोकिएका झण्डै १२ वटा विदेशी उद्योग प्रक्रियामा छन्। ‘प्रक्रियामा रहेकामध्ये धेरैजसो कम लगानीका छन्’, उनले भने,‘ती उद्योग अस्वीकृत हुन्छन्।’