जाजरकोटमा घुम्ति शिविर : ३ हजार बढीले लिए नागरिकता
जाजरकोट : जाजरकोटका दुर्गम गाउँमा सञ्चालित घुम्ति शिविरमा तीन हजार बढीले घरदैलोमै नेपाली नागरिकताको प्रमाण पत्र लिने अवसर पाएका छन्। आफ्नै घर नजिकै नागरिकता लिन पाउँदा स्थानीय दंग परेका छन्।
जिल्ला प्रशासन कार्यालय जाजरकोटले तीन हजार दुई सय चारजना स्थानीयलाई घरदैलोमै नेपाली नागरिताको प्रमाण-पत्र वितरण गरेको छ। दुर्गमका चारवटा गाउँपालिकासँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले संचालन गरेको एकीकृत घुम्ती शिविरबाट स्थानीयले लाभ लिएका छन्।
कुशे, बारेकोट, शिवालय र जुनीचाँदे गरेर जिल्लाका चार गाउँपालिकामा एकीकृत घुम्ती शिविर संचालन गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। एकीकृत घुम्ती शिवीरबाट तीन हजार तीन सय ५५ जना नागरिकले फोटो सहितको मतदाता नामावली बनाएको प्रजिअ बस्नेतले जानकारी दिए।
शिविरबाट नेपाली नागरिकताको प्रमाण-पत्र लिनेमा महिलाको संख्या धेरै छ। एक हजार नौ सय ५० जना महिला र एक हजार दुई सय ५४ जना पुरुषले नेपाली नागरिकताको प्रमाण पत्र लिएका हुन्। फोटोसहितको मतदाता नामावली भर्ने एक हजार सात सय २१ जना महिला र एक हजार ६ सय ३४ जना पुरुष रहेको प्रजिअ बस्नेतले जानकारी दिए।