प्रतियोगितामा यो कस्तो बेथिति ?
कलिला बालबालिकाका लागि ‘ट्रिपल जम्प’ स्पर्धा जोखिमपूर्ण रहेको खेलविज्ञ बताउँछन्। खेलकुदविज्ञ दिवाकरलाल अमात्यका अनुसार यो कलिला बालबालिकामाथि अपराध गरेसरह हो। कलिला बालबालिकालाई लक्ष्य गरी आयोजना गरिएको ‘उपराष्ट्रपति कप चिल्ड्रेन गेम्स’ मा राखिएको ‘ट्रिपल जम्प’ स्पर्धाको जोखिमका सम्बन्धमा अन्नपूर्ण सम्पूर्णका लागि रोशन राउतले 'प्रतियोगितामा यो कस्तो बेथिति?' शीर्षकको लेख तयार पारेका छन् ।
यही जेठ १३ र १४ गते काठमाडौँमा केन्द्रीय स्तरको ‘उपराष्ट्रपति कप चिल्ड्रेन गेम्स’ आयोजना हुँदै छ। विद्यालयस्तरदेखि नै स–साना बालबालिकालाई खेलकुदतर्फ आकर्षित गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिँदै आएको छ। यो प्रतियोगितामा छदेखि आठ कक्षासम्म अध्ययरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउँछन्। प्रतियोगितामा १४ वर्षसम्मका विद्यार्थी सहभागी हुन्छन्।
तर, प्रतियोगितामा समावेश गरिएको एथलेटिक्सका केही स्पर्धाको विषयलाई लिएर भने खेलकर्मी नै आश्चर्यमा परेका छन्। त्यसमध्ये पनि एथ्लेटिक्समा समावेश गरिएको ‘ट्रिपल जम्प’ स्पर्धा यतिबेला चर्चाको विषय बनेको छ। कलिला बालबालिकालाई लक्ष्य गरी आयोजना गरिएको प्रतियोगितामा कस्तो स्पर्धा समावेश गर्ने भन्ने कुराको सामान्य हेक्कासमेत राखिएको देखिँदैन।
कलिला बालबालिकाका लागि ‘ट्रिपल जम्प’ स्पर्धा जोखिमपूर्ण रहेको खेलविज्ञ बताउँछन्। ‘खेल छनोट गर्ने व्यक्तिहरूको अल्पज्ञानका कारणले एथ्लेटिक्समा ट्रिपल जम्प इभेन्ट पनि राखिएको छ,’ खेलकुदविज्ञ दिवाकरलाल अमात्य भन्छन्, ‘यो कलिला बालबालिकामाथि अपराध गरेसरह हो।’ अमात्यका अनुसार बालबालिकाका लागि यो निकै जोखिमपूर्ण स्पर्धा हो। ‘यो इभेन्टलाई हप–स्टेप–जम्प पनि भनिन्छ,’ उनी भन्छन्, ‘खेलाडीले हप (पहिलो जम्प गरेर अर्को स्टेपका लागि ल्यान्ड) गर्दा खुट्टाले आफ्नो शरीरको तौलभन्दा चारपाँच गुणा बढी भार थेग्नुपर्ने हुन्छ। त्यस्तो स्थितिमा हड्डीको राम्ररी विकाससमेत भइनसकेका बालबालिकाको नलीखुट्टा भाँचिने प्रबल सम्भावना हुन्छ।’
खेल विज्ञहरूको भनाइलाई आधार मान्ने हो भने १४ वर्षभन्दा मुनिका बालबालिकाका लागि आयोजना गरिने प्रतियोगितामा हाइजम्प पनि त्यति उपयुक्त मानिँदैन। अझ खेल पूर्वाधारको चरम अभाव रहेको विद्यालयस्तरीय प्रतियोगितामा त हाइजम्प स्पर्धा पनि निकै जोखिमपूर्ण मानिन्छ। उपराष्ट्रपति कप चिल्ड्रेन गेम्स र राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगितामा तल्लो तहका विद्यालयदेखि नै खेलाडी छनोट भएर आउँछन्।
दूरदराजका गाउँका विद्यालय त निकै परको कुरा हो, शहरमै रहेका विद्यालयमा समेत खेल सामग्रीको अभाव देखिन्छ। यस्तो स्थितिमा हाइजम्पको छनोट खेल बालुवाको थुप्रो वा कडा जमिनमै गराउनुपर्ने बाध्यता आइपर्छ। यसरी खेल पूर्वाधारको अभावमा हाइजम्प गराउँदा कम उमेरका खेलाडी घाइते हुने सम्भावना बढ्छ। आफ्ना विद्यार्थीको स्वास्थ्यप्रति सचेत देखिएका विद्यालयले यस पटक उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सका लागि हाइजम्पमा आफ्ना खेलाडी नै पठाएनन्।
नेपाली एथलेटिक्समा चर्चित नाम हो, केशरी चौधरी। थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरिसकेकी केशरी खेलकुदमा लागेर आर्थिक रूपमा जीवन धान्न नसक्ने भएपछि यतिबेला वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा पसिना बगाउँदै छिन्। बर्दिया जिल्लाबाट विभिन्न चरणको छनोट प्रतियोगिता खेल्दै उनी राष्ट्रियस्तरसम्म पुगेकी थिइन्। कुनै समय खेल पूर्वाधारको अभावमा बालुवामा हाइजम्पको अभ्यास गर्दा ढाडमा गम्भीर चोट लागेर उनलाई उपचारका लागि भारतसम्म पुर्याउनुपरेको तीतो अनुभव नेपाली खेलकुदले यसअघि नै बेहोरिसकेको छ।
तर, यस्ता घटनाबाट शिक्षा लिनुको साटो हाम्रा खेल पदाधिकारी भने अझै पनि स–साना बालबालिकाका लागि आयोजना गरिने प्रतियोगितामा समेत ‘ट्रिपल जम्प’ र ‘हाइजम्प’ जस्ता स्पर्धा समावेश गर्न पछि पर्दैनन्। ‘कुन प्रतियोगितामा कस्ता इभेन्ट समावेश गर्ने भन्ने कुराको निर्णय सम्बन्धित खेलका विज्ञले लिनुपर्छ,’ एक पूर्व खेलअधिकारी भन्छन्, ‘यसका लागि प्राविधिक ज्ञान आवश्यक पर्छ। तर, हाम्रो देशमा यस्तो निर्णय दक्ष प्राविधिकभन्दा पनि प्रशासनिक कर्मचारीले लिने गरेकाले यस्तो समस्या आइपर्छ।’
अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघ र एसिएन एथ्लेटिक्स संघको नियमअनुसार १८ वर्षभन्दा कम उमेरका खेलाडीलाई तीन हजार मिटरभन्दा लामो दूरीको दौडमा भाग लिन दिइँदैन। म्याराथन र हाफ म्याराथन त निकै परको कुरा हो। १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई लामो दूरीको दौडमा सहभागी गराउँदा त्यसले उनीहरूको शारीरिक विकासमा समेत नकारात्मक असर पार्ने भएकाले यसमा रोक लगाइएको हो। तर, हाम्रो देशमा यस्ता कुरामा कुनै ध्यान दिइएको पाइँदैन। १८ वर्षभन्दा कम उमेरका खेलाडी लामो दूरीको दौडमा दौडिएका पर्याप्त उदाहरण पाउन सकिन्छ।
त्यसै गरी, १४ वर्षसम्मका बालबालिकालाई लक्ष्य गरी आयोजना गरिएको उपराष्ट्रपति कपमा कराँते र तेक्वान्दोजस्ता कन्ट्याक्ट गेमलाई पनि समावेश गरिएको पाइन्छ। कराँतेमा काँता र कुमुते गरी दुई स्पर्धा हुन्छन्। काँतामा खेलाडीले आपसमा भिडन्त गर्नुपर्दैन। तर, कुमुतेमा भने खेलाडीले आपसमा भिडन्त नै गर्नुपर्ने हुन्छ। तेक्वान्दोमा पनि करिब–करिब यस्तै हुन्छ।
बालबालिकाका लागि आयोजना गरिने प्रतियोगितामा काताको स्पर्धा समावेश गरिनु ठीक हो। तर, कुमुते स्पर्धा पनि समावेश गरेर एकअर्कामाथि प्रहार गर्न लगाउनु कति उपयुक्त हो भन्ने विषयमा कुनै हेक्का राखेको पाइँदैन। विदेशमा कन्ट्याक्ट गेममा बालबालिकालाई समावेश गर्दा त्यसबाट पर्ने नकारात्मक असरको विषयमा थुप्रै अध्ययन–अनुसन्धान भएको पाइन्छ। तर, हाम्रो देशमा यससम्बन्धी सामान्य अध्ययन पनि गरिएको पाइँदैन। यद्यपि, कराँतेका प्रशिक्षक कुशल श्रेष्ठ उपराष्ट्रपति चिल्ड्रेन गेम्समा कुमुतेमा खेलाडीले विपक्षीलाई नछोए पनि (पाँच सेन्टिमिटर टाढाबाटै) अंक दिने प्रावधान राखिएको बताउँछन्।
केही समयअघि काठमाडौँमा फुटबल खेल्ने क्रममा एक खेलाडीको निधन भयो। उनको मुटुमा समस्या देखिएको थियो। हाम्रो देशमा कुनै पनि प्रतियोगितामा खेलाडीलाई खेलाउनुअघि स्वास्थ्य परीक्षण गर्ने परम्परा छैन। खेलाडीले निरन्तर ९० मिनेट मैदानमा दौडनुपर्ने फुटबलजस्तो खेलमा मैदानमा ओर्लने खेलाडीको मुटुको अवस्था कस्तो छ वा खेलाडी खेल्नका लागि पूर्ण रूपमा स्वस्थ छ कि छैन भन्ने विषयमा वास्ता गरिँदैन। खेलअघि स्वास्थ्य परीक्षण गर्ने कुरा त हाम्रा लागि एकादेशको कथा हो।
फुटबलको अन्तर्राष्ट्रिय नियमअनुसार एउटै टोली वा खेलाडीले खेल्ने दुई वटा प्रतियोगिताको बीचमा कम्तिमा ४८ घण्टाको फरक हुनुपर्छ। एउटा खेलाडीले ९० मिनेटको खेलका क्रममा औसतमा १२ किलोमिटरसम्म दौडनुपर्ने हुन्छ। यस्तोमा खेलाडीलाई धेरै धपेडी नहोस्, खेलाडीले कुनै चोटपटक बेहोर्नु नपरोस् र स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर यस्तो नियम लागू गरिएको हो।
तर, हालै सम्पन्न एक प्रतिष्ठित फुटबल प्रतियोगितामा सेमिफाइनल खेलाइएको भोलिपल्टै फाइनल खेलाइयो। उक्त प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ पदाधिकारीहरू नै उपस्थित भएर पुरस्कार पनि वितरण गरे। यो त सामान्य घटना हो। पछिल्लो समय नेपालमा विभिन्न नाममा ठूला धनराशि पुरस्कारसहित गोल्डकप फुटबल प्रतियोगिताको बाढी नै आएको छ। यस्तोमा एउटा खेलाडीले अघिल्लो दिन एक ठाउँमा प्रतियोगिता खेलेर रातारात भोलिपल्टै अर्को प्रतियोगिता खेल्न अर्को शहर पुगेका प्रशस्त उदाहरण छन्। यसतर्फ सम्बन्धित निकाय र खेल पदाधिकारीको ध्यान गएको पाइँदैन।
विश्व खेलकुदमा बक्सिङलाई निकै जोखिमपूर्ण खेल मानिन्छ। बक्सिङ खेलका क्रममा टाउकोमा प्रतिद्वन्द्वीको मुक्का लागेर धेरैले ज्यान गुमाइसकेका छन्। नेपालमै पनि यस्तो घटना भइसकेको छ। बक्सिङ खेलमा सम्भावित जोखिमलाई कसरी कम गर्ने भन्ने विषयमा थुप्रै अध्ययन, अनुसन्धान र छलफल भएका छन्। बक्सिङ खेलमै प्रतिबन्ध लगाइनुपर्छ भनेर बहस चलाउनेहरूको पनि कमी छैन।
खेलका क्रममा जोखिम बढी भएकाले नै बक्सिङ प्रतियोगिता न्युरो अस्पताल भएको स्थानमा खेलाइन्छ। तर, हाम्रो देशमा न्युरो अस्पताल त टाढाको कुरा, स्तरीय अस्पतालसम्म नभएको स्थानमा बक्सिङ प्रतियोगिता आयोजना गर्ने गरेको पाइन्छ। यी त सामान्य विषय मात्र हुन्। खेलकुद प्रतियोगिता आयोजना गर्दा हाम्रो देशमा थुप्रै कमी–कमजोरी देखिने गरेका छन्।
नेपाली खेलकुदले स्पोट्र्स साइन्स (खेलकुद विज्ञान)को क्षेत्रमा आफूलाई अगाडि बढाउन नसक्नु नै यसको प्रमुख कारण हो। स्पोट्र्स साइन्सको अभाव, दक्ष खेल प्राविधिकको कमी, आधुनिक खेल प्रविधिको अभावजस्ता कारणले नै नेपाली खेलकुद यी र यस्ता थुप्रै बेथितिबाट पीडित बन्न पुगेको सहज अनुमान गर्न सकिन्छ। यस्ता विषयमा विश्व खेलकुदले निकै ठूलो फड्को मारिसकेको वर्तमान परिवेशमा नेपाली खेल क्षेत्रले पनि क्रमशः आफूलाई परिमार्जित गर्दै लैजानु आवश्यक देखिन्छ।