दसगजा अतिक्रमण गरेर निर्माण गरेको एसएसबी पोष्ट सशस्त्रले हटायो
परासी : पश्चिम नवलपरासीको सीमा क्षेत्रमा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दसगजा क्षेत्र अतिक्रमण गरेर निर्माण गरेको अस्थायी पोष्ट सशस्त्र प्रहरीले हटाएको छ।
सुस्ता गाउँपालिका–५ बलिनगर सीमामा पर्ने दसगजा क्षेत्रको बीच भागमा एसएसबीले अस्थायी पोष्ट निर्माण गरेको समाचार मंगलबार अन्नपूर्ण अनलाईनमा प्रकाशित भएको थियो। समाचार प्रकाशित लगत्तै पोष्ट हटाउनका लागि सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर नं. २६ ले भारतीय एसएसबीसँग संवाद अघि बढाएको थियो।
लामो समयदेखि अस्थायी पोष्ट निर्माण गरेर एसएसबीहरु नेपाली भूभागमा हतियारसहित चेकजाँच गर्दै आएका थिए। सीमा क्षेत्रका भारतीय एसएसबीका कमाण्डरसँगको संवाद र छलफलपछि शुक्रबार उक्त पोष्ट हटाइएको शसस्त्र प्रहरी उपरीक्षक गहार्धन राईले बताए। एसएसबीले दसगजाको बीचभागमा पर्ने गरी कच्ची टहरो बनाएर पोष्ट निर्माण गरेका थिए। उनीहरु पोष्ट अगाडिको नेपाली भूभागमा बसेर हतियारसहित चेकजाँच गर्ने गरेका थिए।
दसगजा मिचेर कुनै पनि देशले संरचना निर्माण गर्नु अन्तराष्ट्रि नियम विपरित रहेको बताएपछि भारतीय पक्षले पोष्ट हटाएको सशस्त्र प्रहरी उपरीक्षक राईले बताए। यसअघि पनि एसएसबीले जिल्लाका विभिन्न सीमा क्षेत्रमा पोष्ट निर्माण गर्दै आएकोमा सशस्त्रले स्थानीय स्तरको छलफलबाट हटाउँदै आएको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पोष्टभन्दा एसएसबीका पोष्ट धेरै छन्।
भारतको उत्तरप्रदेशसँग सीमाना जोडिएको जिल्लाको सीमा क्षेत्र २८ कि.मि. छ। सीमा क्षेत्रमा एसएसबीको २५ देखि ३० स्थानमा अस्थायी पोष्ट छन्। शसस्त्र प्रहरीको भने ३ वटा बिओपी (बर्डर आउट पोष्ट) मात्र रहेका छन्। जनशक्ति अभावले नियमित गस्तीमा समस्या आउँदा एसएसबीले दसगजा अतिक्रमण गर्दै आएको सशस्त्र प्रहरीले जनाएको छ ।