मुगुका किशोरी आमाहरू भेट्दा...
नेपालको मानव विकास सूचकांकमा न्यून अंक भएको जिल्ला हो मुगु। शिक्षा, स्वास्थ्य, विकास र आयस्रोतका हिसाबले पछाडि परेको जिल्ला हो यो। महिला स्वास्थ्य पनि दयनीय देखिन्छ। गमगढी बजारले सदरमुकामको इज्जत मुस्किलले धानेको थियो। ताल्चा विमानस्थलबाट सीधै ओरालो, गड्याङगुडुङ बाटोमा गाडी गुड्दा पहिलोपटक हिँड्ने जोकोहीको हंसले ठाउँ छोड्छ।
ढुंगा गाह्रोका घर, साँघुरा झ्यालबाट निस्किएका धुवाँका मुस्लोले त्यहाँका जीवनशैली झल्काउँछ। गाउँबाट नुन, चामल लिन बजार आउने महिला हुन् कि भारी बोकेर हिँडिरहेका मानिस हुन्, औसत उमेरभन्दा बढी लाग्थ्यो। केही घर ढुंगाकै गाह्रो भए पनि अग्लाअग्ला बनाइएका थिए। हामी बसेको होटलअघिल्तिर ट्रकबाट सिमेन्ट अनलोड गर्दै गरेका भेटिए केही महिला। गम्था गाउँकी वसन्ती नेपाली (२७ वर्ष) गमगढीमा ज्याला मजदुरी गर्छिन्। सिमेन्टले हातखुट्टा फुटेर चरचरी भएको थियो। गाउँमा उत्पादन हुँदैन। पेट पाल्न उनी छोराछोरी च्यापेर बजार हान्निएकी हुन्। पैसा कमाउन कालापहाड गएका उनका पति पाँच वर्षदेखि सम्पर्कमा छैनन्। उनले काम पाएका बेला भारी बोक्ने र गाडीमा सामान लोड–अनलोड गर्नमै आफूलाई अभ्यस्त बनाउँदै आएकी छन्।
उपतुममा भेट भएकी मनमती रोकायका ६ छोराछोरी छन्। दुब्ली र ख्याउटे शरीरकी रोकायका तीन छोराछोरी सानैमा बिते। दुई छोरी जन्मिएको केही समयमै मरे। एक छोरा भने दुई महिनाको भएपछि निमोनिया भएर बचाउन नसकेको उनले सुनाइन्। जन्मिँदै बच्चा किन मर्छन् नि आमा ? भन्दै प्रश्न तेर्साएँ।
मैले आमा भनेको सुन्नासाथ अँगेनाछेउमा सुल्कपा तान्दै गरेकी उनले मेरो उमेर सोधिन्। आफू बल्ल पैंतीस वर्ष मात्रै भएको बताइन्। ‘हामी तमहरूजस्तो मीठो खान पाउँदैनौं। राम्रो लगाउन पैसा छैन। बारीमा कोदो र सिमी मात्रै हुन्छ। कोदोलाई पाँचपटकसम्म गोड्नुपर्छ। कोदो गोड्दै जीउ सकिन्छ हाम्रो। कोदो खाए पनि ग्यास्ट्रिक हुन्छ, सिमीले पेट पोल्छ। ग्यास्टिकले नै हामीलाई नराम्रो बनाउँछ। मनमतीजस्तै अन्य महिला पनि सुत्केरी अवस्थामा बालबालिका गुमाउन बाध्य छन्। मुगुको रोवा, ढुम, सिप, जिमाजस्ता अधिकांश गाउँमा सन्तान नगुमाएका महिला प्रायः भेटिँदैनन्।
कर्णालीमा स्कुल पढ्दापढ्दै भागेर बिहे गर्ने र सुत्केरी हुने किशोरीहरूको संख्या उच्च छ।
एक सरकारी तथ्यांकअनुसार कर्णालीमा मातृशिशु मृत्यदर अन्य प्रदेशको तुलनामा बढी छ। पछिल्लो पाँच वर्षमा भने मातृशिशु मृत्युदरमा केही कमी भएको छ। ढुम प्रसूति गृहकी अनमी तिला मल्ल भन्छिन्, ‘कामको अत्यधिक चाप, पौष्टिक खानाको अभाव र उचित स्वास्थ्य सेवाको अभावमा प्रायः बच्चा जन्मिदै कुपोषणको सिकार भएका हुन्छन्। ग्रामीण महिलामा परिवार नियोजन र स्वास्थ्य जाँचबारे जानकारी छैन। गर्भावस्थामा आमाको हेरचाह गर्न परिवारका सदस्यले पनि कुरै बुझेका हुन्नन्।’
ब्याक टु लाइफ संस्थाले ढुम, सेरी, रारा, कच्या, कालाई, ह्याङलु गम्था रोवा, जिमा, झाकोट, सिप, जिमासहित आठवटा गाउँमा आधुनिक प्रसूति गृह निर्माण गरेको छ। केही ठाउँमा सञ्चालन हुने क्रममा छन्। प्रसूति गृहमा आवश्यक स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ। यी प्रसूति गृहबाट अहिलेसम्म करिब हजारभन्दा बढी सुरक्षित सुत्केरी भइसकेका छन्।
मातृशिशु मृत्युदर उच्च भएको मुगुमा भएको जिल्ला सरकारी अस्पतालमा आवश्यक सेवा सुविधा प्राप्त छैन। अलि ठूलो रोग लाग्यो भने सुर्खेत, नेपालगन्ज तथा काठमाडौंतिरै जानैपर्छ। जग्गा बेचेरै उपचार गर्न बाध्य छन् मुगाली जनता। उपतुमकै वसन्ती रोकायको बिहे गरेको १५ वर्षसम्म सन्तान भएनन्। सन्तान जन्माउन रोकाय दम्पतीले १८ लाख बढी खर्च गरे तर सन्तान भएनन्। उनका पति कान्छी पत्नी लिएर नेपालगन्जमा बस्छन्। उपतुममै सामान्य खाजा पसल थापेर जीवन चलाएकी छन् वसन्तीले। उनी भन्छिन्, ‘माया गर्ने पति कान्छी बिहे गरेपछि पराइ बन्ने रैछन्।’
स्वास्थ्यजस्तै शिक्षा क्षेत्रमा पनि धेरै पछि छ, मुगु। बीचमै पढाइ छाड्नेको संख्या बढी छ। युवायुवती किशोरावस्थामै बिहे गर्छन्। रोजगारका गतिलो अवसर छैन। युवा सिजनमा यार्सागुम्बा टिप्न जाने, कालापहाड गएर दुईचार रुपैयाँ कमाएर फर्कने, जडिबुटी बेच्नका लागि मधेस झर्ने, खच्चर पालेर भारी बोक्नेलगायतका काम गर्ने गर्छन्।
गमगढीदेखि करिब तीन घन्टा कच्ची बाटोको यात्रापछि पुगिन्छ छायानाथ गाविसको झाकोट गाउँमा। झाकोटमा जिमा आधुनिक सुविधासहितको प्रसूति गृह सञ्चालन हुँदै छ। यही भवनको ग्राउन्डमा भेटिएका हुन् अनुपमा बुढा, नानी बुढा र जयलक्ष्मी बुढाहरू। त्यहाँ धेरै महिला भेला भएका थिए। गाउँमै सुत्केरी हुन पाउने भएपछि उनीहरू खुसी देखिन्थे। यसअघि पञ्चमती बुढा सुत्केरी हुन नसकेर ज्यान गुमाउन बाध्य भएकी थिइन्। उनका पति बुद्धि बुढाले दिवंगत भएकी पत्नी सम्झँदै आँसु झारे। ‘गाउँमा उचित स्वास्थ्य सेवा भइदिएको भए मेरो परिवार उजाडिने थिएन। तालिम प्राप्त सुढेनीहरू पनि यो गाउँमा छैनन्’, उनले सुक्सुकाउँदै भने। यस्तै रूपाहारा बुढाले दुई सन्तान गुमाउनुपर्यो।
यस्तै सोरु गाविस सिपकी ५५ वर्षीया धौली कामीले ११ सन्तान जन्माइन्। नौजना अकालमै मरे दुईजना छोरा मात्र जीवित छन् अहिले। केही समयअघि सीप गाउँमा सुत्केरी हँुदा गोठमै बस्नुपर्ने बाध्यता थियो। धौली पनि महिनावारी हुँदा सात दिन र सुत्केरी हुँदा ३० दिन गोठमै बस्ने गर्थिन्। सीप गाउँकै धनसरा विष्टका पनि १० सन्तानमध्ये ६ सन्तान अकालमै मरे।
केही महिलाले आफ्नै सीमित ज्ञानमा सुत्केरी हुन लागेको महिलाको सहयोग गर्दै आएका छन्। गाउँका मान्छेलाई कुरा बुझाउन नै निकै गाह्रो पर्छ। स्थानीय स्वयंसेवीका नानीमाया बुढाले जानकारी दिइन्। उनका अनुसार, झाकोटमा केही महिलामा आङ खस्ने समस्या पनि छ। कोही पनि उपचार गराउन जान चाहँदैनन्। खेतबारीको काममा महिला अत्यधिक खटिनुपर्ने।
सुत्केरी अवस्थामा स्याहारसँगै पौष्टिक आहार नपाउनुले पनि महिलामा अनेक समस्या देखिने गर्छ। ग्रामीण महिला प्रायः चुरोट, बिँडी र सुल्पा सेवन गर्ने गर्छन्। यसले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पार्ने बताउँछिन् अनमी तिला मल्ल। पहिले–पहिले धेरै बच्चा दादुरा र निमोनिया रोग लागेर मर्ने गर्थे। दादुराको खोप सर्वसुलभ थिएन। पछिल्लो समय भने केही गाउँमा खोपको सुविधा पुगेको छ।
जयलक्ष्मी बुढा २५ वर्षकी भइन्। स्कुलमा पढ्दापढ्दैका साथीहरू बिहे गरेर गए। त्यसपछि उनलाई स्कुल जान लाज लाग्यो। उनले पनि आफैं बिहे गरिन्। छोरा चाहिन्छ भन्दै घरकाले कर गरे। उनले तेस्रो सन्तान छोरा जन्माइन्। जयलक्ष्मी समग्र मुगाली युवतीको प्रतिनिधित्व गर्छिन्। जो केही न केही बहानामा चाँडै बिहे गर्छन् र सानो उमेरमै गर्भवती भई बच्चा र आमाको स्वास्थ्य असुरक्षित बनाउँछन्। उनलाई बच्चा जन्माउन मन छैन। तर पति स्थायी परिवार नियोजन गर्न मान्दैनन्। प्रशस्त काममा खटिनुपर्नाले पनि उनलाई स्थायी बन्ध्याकरण गर्ने हिम्मत छैन। उनी भन्छिन्, ‘पति बन्ध्याकरण गर्न मान्दैनन्। सधैं सुई लगाउँदा पनि कमजोर भइन्छ।’
स्वयंसेवीका नानीमैयाका अनुसार, यहाँ स्कुल पढ्दापढ्दै भागेर बिहे गर्ने र सुत्केरी हुने किशोरीहरूको संख्या उच्च छ। जयलक्ष्मीका पतिजस्तै अधिकांश पुरुष परिवार नियोजनका साधन प्रयोग गर्न चाहँदैनन्। किनकि स्थायी नियोजन गरेपछि कमजोर भइन्छ र यौनशक्ति घट्छ भन्ने गलत विश्वास छ।